काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिविरुद्धको प्रचारबाजी गरेर गणतन्त्र विरुद्ध नै साजिस थालिएको बताएका छन् ।
विनियोजन विधेयकमाथिको प्रश्नोत्तरमा भाग लिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति निवासको प्रयोजनका लागि किनिएको सामग्रीको विरोध प्रकारान्तरले गणतन्त्रकै विरोध भएको टिप्पणी गरे । उनले यस्तो कुरामा हौसिन नहुने पनि बताए ।
‘यो एउटा गणतन्त्रविरुद्धको साजिस हो । गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठिक होइन भन्ने कुरालाई स्थापित गर्न खोजिएको हो,’ उनले भने, ‘के गर्नुपर्थ्याे त राष्ट्रपतिले ? चुप लागेर बसेको छ । त्यो भन्दा बढी के गर्नु पर्थ्याे ? त्यसैले गणतन्त्र र लोकतन्त्रसँग लक्षित हो । यस्तो कुरामा हामी हौसिन हुँदैन ।’
कार्पेट किनेका, कुर्सी किनेको राष्ट्रपतिलाई थाहा हुन्छ ? कहाँनेर कार्पेट हालियो भन्ने प्रधानमन्त्रीको विषय हो ? राष्ट्रपतिले कार्पेट किन्दैन , उनले भने, ती काम गर्नको लागि त्यहाँ कर्मचारी नियुक्त गरिएको छ ।
‘राष्ट्रपतिले यो सामग्री नकिन, किन भन्ने कुरा आउँदैन । चौरी चिटिक्क पार भन्ने कुरा आउँदैन , उनले भने ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७ ०८:०२