काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिदमा कुनै पनि अनियमिता नभएको दाबी गरेका छन् । यदि कसैले भ्रष्टाचार गरेकाे प्रमाणित भएमा आफूले कारबाही गर्ने प्रतिबद्धता उनले जनाए ।
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो आपतको घडीमा भ्रष्टाचार नहुने, भ्रष्टाचार हुन नदिने प्रष्ट पारेका हुन् ।
अनियमितता भयो, भ्रष्टाचार भयो भन्ने र लान्छित गर्ने प्रवृत्ति देखिएका छन्। त्यसो नगर्न म आग्रह गर्छु, प्रधानमन्त्री ओलीले भने, कहिँकतै अनियमतिता, अपारदर्शिता, भ्रष्टाचार भएको रहेछ भने त्यसलाई सहिंदैन। छानबिन हुन्छ। कानूनको कठघरमा उभ्याइन्छ र दोषि पाइएमा कारवाही गरिन्छ।
कोरोना रोकथाम र नियन्त्रणका लागि १० अर्ब रूपैयाँ कहाँ खर्च भएको हो, हिसाब देखउनुपर्छ भन्ने सांसदहरूकाे प्रश्नकाे जवाफमा प्रधानमन्त्रीले भने, त्यो हिसाब सार्वजनिक गर्ने एउटा प्रक्रिया हुन्छ । दिनैपिच्छे लेखा परीक्षण हुँदैन। अहिले हिसाब-किताबमा केन्द्रित भएका छैनौं । अहिले काममा केन्द्रित छौं ।
हरेक खर्चको हिसाब-किताब आफ्नो प्रक्रियाबाट आउने बताउँदै प्रधानमन्त्रीले भने, महालेखा परीक्षकको प्रतिवेदन आउँछ । आन्तरिक लेखा परीक्षणबाट पनि हिसाब आउँछ। अहिले हिसाबको चिन्ता नगरौं। कोभिड-१९ को चिन्ता गरौं ।
यस्तै काेराेना परीक्षणकाे विषय राजनीतिक नभएर प्राविधिक विषय भएकाे पनि ओलीलै जनाए । ‘आरडीटी प्रयोग गर्ने कि नगर्ने प्राविधिक विषय हो । मैले भन्ने होइन’, उनले भने, ‘कुन प्रयोग गर्ने हो, कुन नगर्ने, कुन किट प्रयोग गर्ने, पिसिआर गर्ने कि नगर्ने, कुन मात्रामा गर्ने, त्यो प्राविधिक रुपमा हुन्छ।’
यसैगरी ओलीले विश्व बैंकको तथ्याक हेर्दा कोरोना संक्रमण साउन अन्त्यमा पिक हुँदै जाने र कार्तिकमा समाप्त हुनसक्ने सम्भावना रहेको बताए। तर, यस बीचमा आउने दशैं, तिहारजस्ता चाँडवाडका कारण केही समय फैलन सक्ने पनि बताए।
उनले भने, विश्व बैंकको तथ्यांक विश्लेषण हेर्ने हो भने साउनको अन्त्यतिर पिकमा पुग्ने र कम हुँदै गएर कार्तिकमा समाप्त हुने देखिन्छ। तर, त्यस्तो नहुन पनि सक्छ। कार्तिकमा दशैं तिहार जस्तो चाडबाडहरुमा बाहिरबाट मानिसहरु थप आउँछन्। त्यसबाट संक्रमण फेरि आउन सक्छ। संक्रमण आउनसक्छ समय लम्बिन पनि सक्छ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७ ०६:३७