काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ र मुक्तिनाथको आशीर्वाद लिएर सच्चिन आग्रह गरेका छन् ।
सोमबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मोदी आध्यात्मिक व्यक्तित्व भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिँड्ने शक्ति लिन आग्रह गरेका हुन् ।
‘यो बेलामा पशुपतिनाथसँग, मुक्तिनाथसँग तपाइको आध्यात्मिक प्रकृतिको व्यक्तित्वको आधारमा तपाईले आराधना गर्नुहोस् । तपाईले शक्ति लिनुहोस् । तपाईले आशिर्वाद लिनुहोस् र यस्तो तपोभूमि, यस्तो पवित्र भूमिको १ इन्च भूमि पनि हामीले लिनु हुँदैन । हिजोको जुन अतिक्रमणकारी, कब्जा गर्ने प्रवृति रह्यो त्यसलाई सच्याएर सत्यको पक्षमा उभिन्छौँ र नेपाल भारत सम्बन्धको सम्बन्ध सुधार गराउँछौँ । इतिहासको निरन्तरतामा देखिएको प्रवृतिमाथि विजय प्राप्त गछौँ भनेर सोच्नु भएको भने तपाईँ बधाई र धन्यवादको पात्र हुनुहुने छ , उनले भने, नेपाल भारतको सम्बन्धलाई अझ उचाइमा पुर्याउन सहयोग हुने छ । तपाईजस्तो आध्यात्मिक व्यक्तिलाई आग्रह गर्न चाहान्छौँ ।’
राजनीतिक दल र नेपाली जनता संकटको कूटनीतिक रुपमा समाधान गर्न लागिरहेको बेला भारतीय अधिकारीले नेपाललाई आरोप लगाउनु खेदजनक भएको उनले बताए । श्रेष्ठले भने, ‘नेपाललाई आफ्नो भूमि जोगाउन र फिर्ता लिन कसैको आड चाहिँदैन, यो इतिहासले प्रमाणित गरिकेको छ ।’
श्रेष्ठले नेपाल-भारतबीचको सम्बन्ध विश्वमै अनुपम बनाउन चाहेको बताए । भारतद्वारा अतिक्रमण गरिएको नेपाली भूमि फिर्ता गर्नुपर्ने माग गर्दै उनले २ देशबीच मित्रताको विकल्प नरहेको बताए।
‘नेपाल भारतका बीचमा केही समस्या देखापरेको छ। कालापानी मात्र होइन, विभिन्न स्थानमा स्तम्भ उखलिएको छ। सुस्ताबासी धेरै वर्षदेखि पीडामा छन्। ऐतिहासिक दस्तावेज र प्रमाण हेरेर हाम्रो भूमि फिर्ता गरिदिए पुग्छ , उनले भने, हामीसँग भएका असमान सन्धिहरु प्रतिस्थापन गर्नुपर्ने आवश्यकता छ। १९५० को सन्धि प्रतिस्थापन गरौं भनेर हामी भनिरहेका छौ। यो आजको आवश्यकता पनि हो। आन्तरिक हस्तक्षेप नहोस् भन्ने हामी चाहान्छौं ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७ ०७:०४