काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।
कोरोना भाइरसको महामारीका बेला पार्टी फुटाउन लागेको र संवैधानिक निकायमा कब्जा जमाउन खोजेको र सांसद अपहरणमा समेत संलग्न भएको आरोप लगाउँदै नेता भट्टराईले नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।
‘तपाईं उचाइमा पुगेर त्यहीँ रहनुस्, यस्ता अनावश्यक तनावमा नपर्नुस्’, उनले भने, ‘रोगले जीर्ण भएको शरीरलाई आराम गर्नुस् । प्रधानमन्त्री पदबाट राजीनमा दिनुस् । हामी ६०-६५ वर्षमाथिकाले अब आराम गर्नु नै उचित हुन्छ ।’
यसैगरी उनले आफ्नो बहुमतको सरकार छँदाछँदै अध्यादेश किन ल्याइयो भन्ने प्रश्न उठेको बताउँदै यसले ठुलो अनिष्टको संकेत गरेको बताए । उनले सरकारको छवि राम्रो नभएको बताउदै राजनीति गर्ने सबै खराब भन्ने प्रवृति बढेको बताए ।
यसैगरी भट्टराईले कोरोना भाइरस संक्रमणमा सरकारले लकडाउनबाहेक केही राम्रो गर्न नसकेको पनि बताए । उनले अरुले जस्तै नेपालले पनि लकडाउन गर्नु बाध्यता भएको भन्दै यसलाई उपलब्धि मान्न नसकिने बताए ।
यस्तै भट्टराईले एसईई परीक्षा लिन आवश्यक नै नभएको बताएका छन् । तत्काल उनीहरुको परीक्षा लिन सम्भव पनि नभएको र लिन आवश्यक समेत नभएको उनकाे भनाइ थियाे ।
यसै पनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो । १२ कक्षाको अन्तमा परीक्षा हुन्छ । १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकै छैन । विद्यालयलाई आन्तरिक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ, उनले भने ।
भट्टराईले सांसदहरूले पूरै तलब भत्ता खाने तर जनता भोकै मर्नुपर्ने अवस्था आउनु दु:खद् भएको बताए । ‘हामी लकडाउनका बेलामा घरमै बस्यौं तर पूरै तलब पाउँछौ,’ उनले प्रश्न गरे, ‘तर जनता, श्रमिक चाहिँ भोकै बस्नुपर्ने ? लाज लाग्दैन ?‘यस्तो व्यवस्थालाई पनि कम्युनिस्ट, समाजवादी र लोकतान्त्रिक भन्न मिल्छ ?’
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७ ११:५२