काठमाडौँ । आज हामी मनमा लागेको कुरा बोल्न पाइरहेका छौँ । सोचेको कुरा भन्न पाइरहेका छौँ । लोकतन्त्रको नाममा आज हामीले जसरी खुल्ला आकाशमा आफूलाई विचरण गर्न पाइरहेका छौँ । सामाजिक सञ्जालमा मन लागेको लेख्न हामीलाई छुट छ । गच्छेअनुसारको धारणा बनाउन त्यसलाई बेपरबाह राख्न पनि हामीलाई कसैको डर त्रास मान्नु पर्दैन ।
त्यति मात्रै कहाँ हो र टेलिभिजनका स्क्रिनमा उभिएर मन नलागेको व्यक्ति, संस्था उपर सत्तोसराप गर्न, रेडियोबाट कुर्लिन र सोचेको कुरालाई सोच पुराणको रुपमा छाप्न बेलगाम छौँ । यी सबै गर्न आज हामीले कसैको अनुमति लिइरहनु पर्दैन । कोही कसैले हामीलाई लगाम लगाउँदैन । हामीलाई थाहा छ, यो स्वतन्त्रताको खुल्ला आकाश कहीँ कतैबाट उपहारमा हामीलाई प्राप्त भएको होइन । यसका लागि अग्रजहरूको खुन पसिना बगेको छ ।
यही स्वतन्त्रताका लागि कसैले आफ्नो लगभग सिंगो जीवन संघर्ष गरेका छन् भने कसैले जीवन नै अर्पण गरेका छन् । त्यो पञ्चायती कालारात्रि जहाँ आलोचनासहितका किताबहरू प्रकाशित गरेबापत जेल जीवन बिताउनु पथ्र्यो । स्वतन्त्रताको माग गरे बापत दुःखको महासागर भोग्नु पथ्र्यो । ती सबै संघर्षका महासागर पार गरेर हामीलाई संसारको सबैभन्दा प्रिय उपहार स्वतन्त्रता उपलब्ध गराउने अग्रजहरू कति यो धर्तीबाट बिदा भइसके भने कोही अहिले पनि हामीबीचमा छन् ।
हो, त्यस्तै अरु कसैको या भनौँ नेपाली समाजको स्वतन्त्रताका लागि आफ्नो सिंगो जीवन संघर्षमा बिताउने पात्रमध्येका एक हुन् हाम्रा वर्तमान प्रधानमन्त्री केपी ओली । करिब डेढ दशक कालकोठरीमा बिताएर नेपाली जनतालाई प्रजातन्त्ररुपी स्वतन्त्रताको अमूल्य उपहार दिने योद्धा हुन् हाम्रा प्रधानमन्त्री ओली ।
उनको त्याग, तपस्या र संघर्षबाट निर्मित सगरमाथा जस्तो व्यक्तित्व दिनप्रतिदिन किन क्षयीकरण भइरहेको छ ? दोस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि निरन्तर क्षयीकरण भइरहेको व्यक्तित्वको पछाडि के आलोचकहरूले गरेको आलोचना मात्रै कारक हो र ? भन्ने गरिएको छ– लामो समयदेखि खाईपाई आएकाहरूले वर्तमान सरकारको विरोध गरिरहेका छन् । उनीहरूको दाबी छ सरकारले युगान्तकारी सफलताका कथाहरू सच गर्दै छ । तर राज्यकोषको दोहन गरिरहेकाहरूलाई त्यसबाट वञ्चित गरियो त्यसकारण विरोधका स्वरहरू चर्कोरुपमा ओर्लिरहेका छन् ।
के यति कारणले मात्रै वर्तमान सरकारको आलोचना र प्रधानमन्त्रीको व्यक्तित्को क्षयीकरण भएको होला र ? सरकारका माथिका आलोचनाका थुप्रै कारण र पहलुहरू होलान् । ती सबै कारण र पहलुमाथिको बहस र विश्लेषण सरोकारवालारुले गरिरहेका होलान् र गनुपर्छ पनि । तर हामीले भने यहाँ तिनैमध्येको एउटा कारणबारे बहस गर्न खोजिरहेका छौँ ।
दोस्रोपटक प्रधानमन्त्री बन्दै गर्दा राष्ट्रले गरेको अपेक्षा पूरा गर्ने योजनाका सारथीका रुपमा प्रधानमन्त्री ओलीले डा. युवराज खतिवडालाई लिएका थिए । आफूले शपथ नलिँदै प्रधानमन्त्रीले सरकार कसरी चलाउने सबै तयारी गर्न भनी डा खतिवडालाई भनिसकेका थिए । अर्थमन्त्रीका रुपमा केपी ओलीकै हाराहारी त्यो पार्टीमा त्याग तपस्या र संर्घष गरिरहेका नेताहरूबीच रस्साकस्सी चलिरहेका बेला डा. खतिवडा भने ओली सरकारको भावी योजनाबारे तयारी गर्दै थिए ।
ओलीसँगै स्वतन्त्रताको लडाइँमा मृत्युसँग पौँठेजोरी खेल्दै, उनीसँगै काँधमा काँध मिलाएर लोकतन्त्र र प्रजातन्त्रका लागि संघर्ष गरेका अन्य नेताहरूलाई के थाहा, ओलीसँगै खुन पसिना बगाएर रोपेको बिरुवाले दुई तिहाईको बहुमतका रुपमा फल दिँदा खाने बेलामा डा. खतिवडा आइपुग्छन् भन्ने कुरा !
जीवनभर जनतालाई हाम्रो विचारले विजय पाउँदा देशलाई यस्तो बनाउँछु, जनताको जीवनलाई यसरी अगाडि बढाउँछु भनी जनताको घरघरमा गएर त्यो पार्टीका लागि संघर्ष गरिरहेकाहरूले पार्टीले सबैभन्दा बढी मत लिएर सत्ता सञ्चालनको बागडोर समाल्न लाग्दै गर्दा त्यसको हिस्सेदार बन्न खोज्नु स्वभाविक पनि थियो ।
तर केपी ओलीको रोजाइमा संघर्षका दिनहरूमा त्यो पार्टी फलाउन संघर्षको मैदानमा आफूसँगै कफन बाँधेर संघर्ष गरिरहेको योद्धा होइन, तथाकथित विद्वानको छवि बनाएका डा. खतिवाडा परे । सायद प्रधानमन्त्रीले सोचे होलान्, यो दुई तिहाईको नौवा पार लगाउन ती संघर्षका दिनका योद्धाहरू होइन, डा खतिवडा नै चाहिन्छन् ।
पार्टीभित्र बेलगाम बादशाह बन्दै गएका ओलीका सामुन्ने मात्रै उनको दुःखको दिनका सारथी निरीह भएनन्, जीवनभर राष्ट्र बैंकको जागिर खाँदै सधैँ अवसरको चास्नीमा रमाइरहेका डा. खतिवडाका सामुन्ने समेत निरीह भए । आफ्नैै सहयोद्धाहरूलाई निरीहताको अवस्थामा पु¥याए तिनै ओलीले । वास्तवमा ओलीले पनि कुनै रहरले त्यो कदम उठाएका थिएनन् । बरु डा. खतिवडाको स्वघोषित विद्धताले आफ्नो सरकार सफल हुने अपेक्षासहित जुवा खेलेका थिए ओलीले । ओलीको त्यो कदमको कतिले अरु विकल्प नभएकाले चित्त बुझाए, कतिले फरक गुटमा भएका कारण आफूलाई विश्वास नगरेको भन्दै चित्त बुझाए ।
शक्तिशाली ओलीका अगाडि उनको निर्णय खुरुखुरु शिरोपर गर्नुबाहेक उनको सहयोद्धासँग धेरे छनौट नै थिएन । पार्टीभित्र जतिसुकै असन्तुष्टि र चित्त दुखाइ रहे पनि आमसर्वसाधारण र स्वतन्त्र मानिसले भने ओलीको छनौटलाई शंकाको सुविधा दिएका थिए । उनीहरुका विचारमा राज्य चलाउन अर्थतन्त्र बुझेकै मानिसलाई ओलीले रोजेका छन् ।
अब साँच्चिकै देशले काचुली फेर्छ । राज्यका कुनै पनि योजना बदल्न र आफूले सोचेका योजना लागू गर्न आफूसँग दुई तिहाईको समर्थन थियो । जनताको समर्थन थियो र विगतमा जस्तो अस्थिरताको पनि कहीँकतै त्रास थिएन । त्यस्तो अवस्थामा जनताका आकांक्षा पूरा हुने व्यापक अपेक्षा गरिएको थियो ।
वास्तवमा सरकारलाई एउटा मानव शरीर मान्ने हो भने प्रधानमन्त्री टाउको पक्कै हुन् । तर मुटु चाहिँ अर्थमन्त्री हुन् । कुनै पनि सरकारको सफलता असफलता त्यो देशको अर्थमन्त्रीसँग सम्बन्धित हुन्छ । अर्थमन्त्रीले नै हो सरकारको नीति योजना बनाउनेदेखि भावी कार्यदिशा तय गर्ने । तर प्रधानमन्त्रीले गरेको विश्वासलाई उनले पहिलो वर्ष नै पानी फ्याँकिदिए ।
उनको बजेट त्यसअघि सरकारतर्फबाट प्रस्तुत गरिएको नीति योजना सबै कुनै असाधारण आकांक्षा सहितको सरकारले ल्याएको जस्तो थिएनन् । त्यहाँ देशलाई तीव्र गतिमा अघि बढाउने न कुनै योजना थिए न चुनौतीपूर्ण कार्ययोजना नै थिए । डा खतिवडाको बजेट औसत थियो । अझ आलोचकहरुले त उनको बजेट र योजना अघिल्ला कम्युनस्टि सरकारका बेला अर्थमन्त्रीको भूमिकामा रहेका विष्णु पौडेल र वर्षमान पुनको जत्तिको पनि थिएन । उनीहरू दुवैजना अर्थशास्त्रको विद्यार्थी थिएनन् तर अर्थ मन्त्रालय औसत रुपमा सञ्चालन गरेकै थिए ।
मानिसहरूलाई त्यही बेला लागेको थियो, यदि यस्तै योजना र बजेटका लागि थियो भने किन युवराज खतिवडा नै आवश्यक थिए र ? प्रधानमन्त्रीको रोजाइका अर्थमन्त्रीले खासै केही गर्न सकिरहेका छैनन् र सरकारको असफलता र अधोगतिको मुख्य कारकका रुपमा उनको भूमिका सबैभन्दा बढी छ भन्ने ओलीको पार्टीका प्रायः सबै नेता र सबै स्वतन्त्र नागरिकलाई लागिसकेको भए पनि ओलीलाई फेरि पनि डा प्रतिको मोहभंग भएको थिएन । जसका कारण खतिवडाले आफ्नो दोस्रो वर्ष पनि चल्ते चलाते अर्थमन्त्रीका रुपमा आफ्नो कार्यकाल पूरा गरे ।
तर जब उनको संसदको कार्यकाल सकियो तब प्रधानमन्त्री ओलीबाहेक नेकपाका प्रायः सबै नेताहरू खतिवडालाई बिदा गरी नयाँ अर्थमन्त्री चयन गर्ने र सरकारको गिर्दो छविलाई बचाउने योजनामा थिए ।
तर प्रधानमन्त्री ओलीले आफ्ना सबै नेताहरूको विरोधलाई अर्थमन्त्री बिरुद्धको होइन आफू बिरुद्धको विरोधको रुपमा बुझे । खतिवडाका लागि आफ्ना समकालीन र त्यो पार्टी बनाउनेदेखि फुल्ने फलाउनेसम्म उस्तै योगदान र संघर्ष गरेका आफ्नै सहयोद्धालाई अपमान गरे । ओली बरु बैरीहरूसँग मिलेर काम गर्न तयार भए । तर आफ्नै पार्टीका नेताहरूलाई खतिवडाको कुर्सी साट्न तयार भएनन् ।
ओलीको पार्टी आजको दिनमा देशको सबैभन्दा ठूलो पार्टी हो । अनेक प्रतिभा र इतिहास दुवै भएका कैयौं नेता त्यो पार्टीमा छन् । कसैले यसअघि नै आफूलाई सावित गरिसकेका छन् भने कोही त्यस्तो अवसरको पर्खाइमा छन् । तर पंचायतको कालरात्रिमा आफूसँग स्वतन्त्रताको शंखनाद गर्ने सहयोद्धाभन्दा त्योबेला राजाको फोटोमुनि अनुशासित राष्ट्रसेवकको रुपमा राष्ट्र बैंकको जागिर खाने खतिवडा प्रिय लागे ।
राजा ज्ञानेन्द्रले सत्ताबाट गलहत्याउँदा पुनः लोकतन्त्रका लागि जनतासँगै मैदानमा उत्रिने आफ्ना सारथीहरू होइन तिनताका राजा ज्ञानेन्द्रलाई भनसुन गरेर योजना आयोगको उपाध्यक्ष बन्न शाही सरकारको तावेदारी गरिरहेका डा खतिवडा प्रिय लागे । बरु अर्थमन्त्रीको रुपमा मात्रै होइन, भ्रष्टाचारको आरोपमा पदमुक्त गरिएका आफ्ना अनन्य सहयोगी गोकुल बाँस्कोटाको पद समेत उनै डा. खतिवडालाई सुम्पिए । त्यो सबै गरेर प्रधानमन्त्रीले आफ्ना सहयोद्धाहरूलाई खुल्ला चुनौती दिए– मेरो रोजाइ भरोसा तिमीहरूमाथि होइन, उनै खतिवडामाथि छ भनेर ।
यतिबेला विश्वले अकल्पनीय महामारीको सामना गरिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव हाम्रो देशले पनि खेपिरहेको छ । त्यो माहामारीले चौतर्फी रुपमा नेपाललाई घेरेर ल्यायो । संकट र चुनौतीको पारो घट्नुको सटटा निरन्तर बढिरहेको छ । १४ दिनका लागि यसअघि नै देश लकडाउनमा छ भने परिस्थिति काबुमा नआए यो लकडाउनको अवधि लम्बिने पक्कापक्की छ ।
दिनभरी काम गरेर बिहान वेलुका छाक टारेर खानेदेखि सबै पेसा व्यवसायमा रहेकाहरूको ढोका बन्द भएको छ । मानिसहरू आफ्नो मातृभूमि आउन नपाएर सिमानामा बलिन्द्र धारा आँसु झारिरहेका छन् । निम्न वर्गीयको अवस्था दयनीय भइसकेको छ भने मध्यम वर्गीय नेपालीको रोजीरोटी पनि खोसिँदै जाने संकट बढेको छ । यस्तो समस्या हामीले मात्रै होइन संसारका सबै देशहरूले भोगिरहेका छन् ।
संकटको अवस्थामा आफ्ना जनतालाई सम्बोधन गर्न संसारका देशहरूले राहत प्याकेजहरू सार्वजनिक गरिहेका छन् । अमेरिकाले ६ महिनासम्म बेरोजगारहरूलाई बिनाकाम तलब दिने घोषणा ग¥यो । भारतले पनि केन्द्र र प्रदेशका प्रत्येक सरकारले सबै तह र तप्काका जनताका लागि राहत प्याकेज घोषणा गरेको छ ।
माथि उल्लेख गरेका देशकै जस्तो हैसियत हाम्रो छ र त्यही गर्नुपर्छ भनिएको पक्कै पनि होइन । तर यस्तो संकटको घडीमा सरकारले गर्ने÷चाल्ने हर कदम र गर्ने प्रत्येक व्यवहारलाई जनताले बडो आशा गरेर हेरिरहेका हुन्छन् । पहिलो कुरा त जनताले देशको अवस्था बुझेका छन् । त्यही भएर त्यस्तो ठूलो अपेक्षा उनीहरूको छँदा पनि थिएन र छैन पनि ।
तर प्रधानमन्त्री ओलीका भरोसाका केन्द्र विद्वान अर्थमन्त्रीले पनि विश्वका अन्य देशको सिको गर्दै संकटको घडीमा जनताका लागि राहत प्याकेज घोषणा गर्ने शंखघोष गरे । मानिसहरूले बडा चासो र आशाका साथ विद्वान अर्थमन्त्रीको त्यो कदमलाई हेर्न खोजे । आशा गर्ने कारण पनि थियो । किनकि यतिबेला प्रधानमन्त्रीको मुख्य विश्वासपात्रका रुपमा उनै खतिवडा छन् ।
मन्त्रिपरिषदका पछिल्ला परिदृश्यहरू हेरिरहेका एक मन्त्रीको भनाइमा यतिबेला सरकारले लिने हरकदमका बारेमा मन्त्रीहरूले चासो दिन्छन् । त्यसको जवाफ दिन उनै अर्थमन्त्री अघि सर्ने गरेका छन् । स्वास्थ्य सम्बन्धी सामग्रीको खरिददेखि सरकारका सबै योजनाका बारेमा मन्त्रीहरूले मन्त्रिपरिषदमा राखेको जिज्ञासाको जवाफ दिन उनै खतिवडा अघि सरिरहेको अवस्था छ ।
प्रधानमन्त्री बिरामी छन् । त्यस्तो अवस्थामा प्रधानमन्त्रीको प्रतिनिधि र जवाफ बनेर उनै खतिवडा अघि सर्ने गरेका छन् । बाहिर देखिने भूमिकामा जो सुकै रहे पनि भित्री घेरामा प्रधानमन्त्रीको प्रतिनिधित्व यतिबेला उनै अर्थमन्त्रीले गर्ने गरेका छन् । यति शक्तिशाली अर्थमन्त्रीको तर्फबाट घोषणा हुन लागेको राहत प्याकेजलाई जनताले चासोका साथ नहेर्ने कुरै भएन ।
र अर्थमन्त्रीले कोरोना महामारीबाट चौपट हुँदै गरेको जनताको जनजीवनलाई राहत दिने गरी राहत घोषणा गरे । घरबेटीले चैत महिनाको भाडा मिनाह गर्नुपर्ने छ । निजी विद्यालयले एक महिना शुल्क मिनाह गर्नुपर्नेछ । इन्टरनेट कम्पनीहरुले २५ प्रतिशत छुट दिनुपर्ने छ । बैंकको किस्ता २ महिनापछि बुझाउँदा पनि हुन्छ आदिआदि । यो घोषणा एकप्रकारको बचपना त थियो नै, त्यसभन्दा पनि ज्यादा संकटको पहाड छेउमा पुगेका निमुखा जनतामाथिको भद्दा मजाक पनि ।
माथि उल्लेख गरिएका घोषणामा सरकारको आफ्नो दायित्व के हुने ? जनताले यसअघि यस्तै संकटका बेला काम लाग्ला भनी सरकारलाई बुझाएको दोहोरो तेहोरो कर के भयो ? के सरकार आफ्ना जनतालाई साधारण मल्हमपट्टी लगाउन पनि अक्षम छ र ?
अर्को कुरा माथि गरिएका कुनै पनि घोषणा सबै तीन न तेह्रका छन् । जस्तो घरबेटीलाई आग्रह गर्ने भनिएको छ । सबै घरबेटी धनाढ्य छैनन् । कोही घरबेटी एक फल्याटको भाडा उठाएर जीवन चलाउने र अर्को फ्ल्याटमा बस्ने गर्दछन् । अनि त्यसरी घरभाडा छुट दिनका लागि सरकारका तर्फबाट घरबेटीलाई चाहिँ कुन कुरामा के सहुलियत र सुविधा दिइँदै छ । अझ त्यो त आग्रह मात्रै थियो ।
वार्षिक परीक्षा सकेर प्रायः विद्यालयले एकमुष्ट शुल्क यसअघि नै असुलिसकेका निजी विद्यालयबाट त्यो एक महिनाको शुल्क फिर्ता गराउने उपाय सरकारसँग के छ ? अनि ती विद्यालय आफ्ना शिक्षक कर्मचारीलाई त्यो महिनाको तलब खुवाउनु पर्छ कि पर्दैन ? त्यो विद्यालयमा काम गर्ने शिक्षक कर्मचारी, मजदुर पनि यही देशका नागरिक हुन नि ।
र, इन्टरनेटको कुरा त निम्न वर्गीयलाई छुने कुरै होइन । त्यसमा पनि उनीहरूले त्यो लागू गर्न नसक्ने भनिसकेका छन् । अब बैंकको न ब्याज छुट छ न कुनै अन्य राहत । एक महिना समय बढाउनेसम्मको काम भएको छ । यहीँबाट बुझिन्छ, हाम्रा प्रधानमन्त्रीले विश्वास गरेका अर्थमन्त्रीको बौद्धिक दिवालियापन । यस्तो संकटको बेला जनतामाथि यस्तो भद्दा मज्जाक गर्न पाइन्छ होला र ?
जनतालाई दिनका लागि सरकारसँग केही थिएन भने यस विषयमा प्रवेश नै नगरेको भए हुन्थ्यो । प्रवेश गरिहालियो त कम्तीमा सरकारले दायित्व लिने गरी कम्तीमा केही राहतको घोषणा गरेको भए हुन्थ्यो । तर न कुनै दायित्व लिने न वस्तुनिष्ठ कुनै राहतको घोषणा गर्ने अर्थमन्त्रीलाई जनताको संकटपूर्ण घडीमा भद्दा मज्जाक गर्ने अधिकार कसले दियो ? नेतृत्व या भनाैं बौद्धिकताको जाँच जनताले यस्तै संकटको घडीमा गर्ने हुन् । देशलाई संकटको अवस्था आउँदा जनतालाई कुनै उपाय निकाली राहत त दिन सकिएन सकिएन । उल्टै जनतालाई थप निराश बनाउने अर्थमन्त्रीको बौद्धिकताको भरोसा गरेकै कारण हो प्रधानमन्त्रीको व्यक्तित्व दिनानुदिन क्षयीकरण हुँदै गएको ।
थाहा छैन, प्रधानन्त्रीले डा. खतिवडाको नाममा कहिलेसम्म जुवा खेलिरहन्छन् । थाहा छैन, प्रधानमन्त्री उनको बौद्धिक दिवालियापनमाथि कहिलेसम्म सवार भइरहन्छन् । समयमै यसबारे नसोचे खतिवडा त असफल हुन्छन् हुन्छन् । सँगसँगै उनले प्रधानमन्त्री र उनको पार्टीलाई असफल बनाएर छाड्ने छन् ।
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६ १६:२१