काठमाडाैं । सरकारले कोरोना भाइरसकाे संक्रमणबाट बच्न र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री तथा किटहरु ल्याउन निजी क्षेत्रसँग समन्वय गर्ने निर्णय गरेको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोनासम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले विदेशबाट उपकरण ल्याउन सक्ने निजी क्षेत्रलाई आह्वान गर्ने निर्णय गरेको हो ।
मेडिकल सामग्री र किटहरु चीन र भारत दुवै मुलुकबाट ल्याउन परराष्ट्र मन्त्रालयले परामर्श गरिरहेको उच्चस्तरीय समितिको मंगलबारको बैठकपछि मन्त्री युवराज खतिवडाले जानकारी दिए ।
त्यसबाहेक निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाई सुविधा उपलब्ध गराउने निर्णय भएको समेत मन्त्री खतिवडाले जानकारी दिए ।
यसैगरी सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनैपनि संघसंस्थाले कोष खडा गर्न नपाउने बताएको छ ।
त्यसैगरी कोरोना संक्रमणको लक्षण देखिएमा धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान, वीर अस्पतालमा तत्कालै यन्त्र उपकरण जडान गर्ने र प्रदेश स्तरमै ल्याबहरु स्थापना नहुँदासम्म छिटो यातायातको व्यवस्था गरेर टेकुस्थित ल्याबमा स्वाब परीक्षणका लागि ल्याउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै भारततर्फको सीमामा रोकिएका नेपाली नागरिकहरुलाई अन्तिम पटकका लागि आज एक दिन छाडने निर्णय गरेको छ । त्ययसका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल छिर्न दिने व्यवस्था गरेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६ ११:५२