काठमाडाैं । नेपाल नर्सिङ परिषद्की रजिस्ट्रार बिन्दा घिमिरेले आफ्नाे विषयमा आएका समाचारप्रति आपत्ति जनाएकी छिन् ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै रजिस्ट्रार घिमिरेले चरित्र हत्या गर्ने अभिप्रायले नियाेजित रूपमा फैलाइएकाे हल्लालाई अफवाहकाे संज्ञा दिएकी छिन् ।
जिता बराल नामकाे फेसबुक आइडीबाट नर्सिङ लाइसेन्स परीक्षामा पास गराइदिने भन्दै पैसाकाे बार्गेनिङ गरेकाे स्क्रिनसट बाहिर आएकाे थियाे । जिता बराल नर्सिङ परिषद्कै सदस्य हुन् । उनकाे नामकाे आइडीबाट एक विद्यार्थीसँग लाइसेन्स परीक्षामा उत्तीर्ण गराउन घुस मागेकाे समाचार प्रकाशित भएका थिए ।
नेपाल नर्सिङ परिषद्ले सञ्चालन गर्ने नर्सिङ लाइसेन्स परीक्षाको विषयलाई लिएर यस परिषद्का सदस्यले पैसा बार्गेनिङ गरेको समाचार आएका छन् । यो सम्बन्धमा परिषद्ले सम्बन्धित सदस्यसँग सोधपुछ गरेको छ , विज्ञप्तिमा लेखिएकाे छ, उहाँले लिखित रुपमा यो विषयमा परिषद्लाई जानकारी गराउनुभएको छ र आफ्नो ‘फेक’ आइडी बनाएर अपराधिक समूहले सोे कार्य गरेको परिषद्लाई जानकारी गराउनु भएको छ ।
फेक आइडी बनाउने समूहको पहिचान गरेर कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा उजुरीसमेत दिइसकेको बताएको परिषद्ले जनाएकाे छ । यसको वास्तविकताबारे परिषद्ले पनि आवश्यक छानबिन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल नर्सिङ परिषद्ले सञ्चालन गर्ने परीक्षाकाे उत्तरपुस्तिका ‘कोडिङ्ग’ प्रणालीबाट तय गरिने बताउँदै परीक्षा केन्द्रबाट खामबन्दी भएर आएका उत्तरपुस्तिका परीक्षा समितिका सबै सदस्यहरुको रोहबरमा खोल्ने र जाँचका लागि स्क्यानिङमा हालिने बताइएकाे छ । उत्तरपुस्तिका काेही व्यक्तिले जाँच्ने नभई मेसिनले नै जाँचेर रिजल्ट दिने भएकाले कसैलाई पास वा फेल गराउन सक्ने प्रश्न नै नभएकाे परिषद्ले जनाएकाे छ ।
प्रभाव र पहुँचका आधारमा नतिजा प्रभावित नहुने भन्दै यस्ता भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न पनि परिषद्ले सबैलाई अपिल गरेकाे छ ।
राज्यको एउटा नियमनकारी निकायकारुपमा आफ्नो स्वच्छ छवी र प्रतिष्ठा कायम गर्दै आएको यस संस्थामाथि लगाइएको लान्छानाको घोर भत्सर्ना गर्दछौं , विज्ञप्तिमा भनिएकाे छ, परिषद् र परिषदमा आबद्धको नाम लिएर दलाली गर्दै बदनाम गराउने काममा संग्लनलाई छानबिनको दायरामा ल्याएर कडा कानुनी कारबाही गर्न नेपाल नर्सिङ परिषद् राज्यका सम्बन्धित निकायसमक्ष माग समेत गर्दछ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६ १२:५०