काठमाडाैं । प्रतिनिधिसभाका सांसद भीमसेन दास प्रधानले संसद, स्कुल तथा भीडभाड हुने सबै ठाउँ बन्द गर्न माग गरेका छन् । बिहीबार बसेकाे प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रधानले यस्तो बताएका हुन् ।
प्रधानले कोरोना भाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेकाले संसद र स्कुलहरू बन्द गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘संसद चलाइराख्नुको तुक छैन । स्कुल बन्द गर्नुपर्छ । कोरोना भाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन ।’
उनले विश्व स्वास्थ्य संगठनले पनि जोखिममा रहेको बताइरहँदा नेपाल सरकारले कुनै तयारी नगरेको आरोप लगाए ।
यसैगरी कांग्रेसकै अर्का सांसद भरत साहले पनि संसद स्थगित गर्न माग गरे । ‘कोरोना भाइरसको जोखिम छ, यस्तो परिस्थितिमा संसद् धेरै दिन नचलाउँ’, साहले भने । सरकारले यातायातमा सिन्डिकेट हटे पनि हेटौंडा र कावासोतीमा अझै पनि ढाँट राखेर शुल्क उठाउने गरेकोप्रति पनि साहले आपत्ति जनाए ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६ ०५:५५