काठमाडौं । नवनियुक्त अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, नेकपाका वरिष्ठ नेता तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
शपथ लिएलगत्तै मन्त्री खतिवडाले पदभार ग्रहण गरेका छन् । खतिवडाले राष्ट्रपति भण्डारीबाट शपथ लिएपछि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।
राष्ट्रिय सभा सदस्य रहेका खतिवडाको कार्यकाल सकिएपछि उनले मंगलबार पदबाट राजीनामा दिएका थिए । तर प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६ १२:३७