काठमाडाैं । मतदाता नामावली संकलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ ।
मतदाता नामावली संकलन कार्य ७७ जिल्ला निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र तोकिएका ३८ इलाका प्रशासन कार्यालयबाट निरन्तर भइरहे पनि अद्यावधिक गर्ने कार्य प्रभावकारी हुन नसकेपछि आयोगले सोमबार दलहरूसँग छलफल गरेको हो ।
आयोगले यही फागुन ७ गतेदेखि असार मसान्तसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक विशेष कार्यक्रम सञ्चालन गरेको छ ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्रुटिरहित मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य चुस्त–दुरुस्तरूपमा सम्पन्न गर्न-गराउन राजनीतिक दलहरुका तर्फबाट सक्रिय र प्रभावकारी भूमिका निर्वाहको अपेक्षा गरे ।
आ–आफ्नो मातहतका जिल्लास्तर, स्थानीय तह, वडास्तरीय समिति तथा भ्रातृ संघसंगठनलाई कार्यक्रममा सक्रिय सहभागिता, समन्वय र सहयोगका आग्रह गर्दै उनले भने, निर्वाचन कार्यक्रमको प्रारम्भ मतदाता नामावली संकलनबाट हुन्छ भने केन्द्रविन्दु राजनीतिक दल रहन्छन् ।
सो अवसरमा राजनीतिक दलका प्रतिनिधिले विशेष कार्यक्रम सञ्चालन गरेकामा आयोगलाई धन्यवाद व्यक्त गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष निर्वाचनका लागि मतदाता नामावली अभिलेख अद्यावधिक गर्ने कार्यमा सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६ ०४:३५