काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाकाे बचाउ गरेका छन् ।
सेक्युरिटी प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाल एजेन्टसँग ७० कराेड कमिसनकाे डिल गरेकाे अडियो भनिए पनि उक्त विषय प्रमाणित भइनसकेको प्रधानमन्त्री ओलीले बताएका हुन् ।
बिहीबार काठमाडौंमा नेकपा वाग्मती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले अडियोबारे बुझ्ने काम भइरहेको बताए ।
प्रधामन्त्री ओलीले भने, अनधिकृत मान्छेले ल्याएको टेप उचालियो । यसमा कुनै प्रमाण छैन । आफू र बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई पनि उनले पत्रु को संज्ञा दिए ।
‘उक्त अडियो पूर्ण रुपमा प्रमाण हो कि हैन भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ । बाँस्कोटाले घुस मागेको विषय अहिले नै प्रमाणित भइसकेको छैन,’ ओलीले भने, ‘प्रमाणित भयो भने उहाँले दोषअनुसारको सजाय भोग्नुहुन्छ ।’
बास्कोटाले उक्त अडियो आफ्नो नभएको भन्ने जवाफ दिएको पनि ओलीले सुनाए । ‘उहाँले होइन भनिरहनुभएको छ। स्विस दूतावासले फ्रड हो भन्यो । आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भएजसरी प्रचार गर्नु आवश्यक छैन,’ ओलीले भने ‘आरोप सत्य हो होइन हेर्नु पर्यो। अनाडी मान्छेले रेकर्ड गरेको छ। त्यसमा डिल नै भएको छैन,’ उनले थपे ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६ ११:३३