काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुँदा नेपाल ट्रस्टको जग्गा भाडामा लगाउने निर्णय नगरेको बताएका छन् ।
ट्रस्टको जग्गा लिज प्रकरणमा नाम मुछिएपछि उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषदबाट यससम्बन्धी कुनै निर्णय नभएको दाबी गरेका हुन् । उनले आफू संलग्न नभएको निर्णयमा नाम जोडेर गरिने प्रचारप्रति आपत्ति जनाएका छन् ।
देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको ७० करोड को अडियो, नेपाल ट्रस्ट अन्तर्गतकै गोकर्ण फरेस्ट रिसोर्टको लिज प्रकरण लगायत गम्भीर अनियमितताका प्रकरणबाट ध्यान मोड्न आफ्नो नाम अनाश्यक रुपमा ल्याएको बताएका छन् ।
‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन’ देउवाले भनेका छन्, ‘मेरो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने वा गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ।’
उनले ०६४ मा नेपाल ट्रस्ट ऐन जारी हुँदा ट्रस्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रूपमा परिभाषित गरेको स्मरण गराउँदै बोर्डले गर्ने निर्णयमा प्रधानमन्त्रीका रूपमा आफूलाई गाँस्नु राजनीतिक र कानुनी दृष्टिले गलत रहेको जिकिर गरेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६ ११:४०