काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण र प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनका अवसरमा गरिएको तडकभडकको विरोध गरेका छन् ।
मंगलबार बसेकाे प्रतिनिधिसभाकाे शून्य समयमा बाेल्दै सांसद रिजालले सेक्युरिटी प्रेस खरिद प्रकरण, बालुवाटार जग्गा प्रकरण, यति होल्डिङसलाई सरकारी जग्गा भाडामा दिने निर्णय लगायतका विषयमा सरकारले विरोधीलाई मात्रै जेल जान बाध्य पार्ने र आफ्नो पार्टी र निकटकालाई जोगाउने खेलमा लागेको भन्दै कसैलाई काखा र कसैलाई पाखा नगर्न सुझाव दिए ।
यसैगरी रिजालले प्रधानमन्त्री ओलीले आफ्नाे जन्मदिनमा देखाएकाे तडकभडककाे पनि विराेध गरे । उनले भने, ‘पुराना राजाको जन्मदिन देखेकै हो । राजामहाराजाको झल्को दियो । ५ वटा घरका लागि खड्गप्रसाद होइन, नयाँ महाराजा आयो भन्ने लाग्यो होला । घर अगाडि उभिएर, सोच्नु भएन ? यति होल्डिङसको केक खाँदा लाज लागेन ? तपाईंको क्रियाकलाप देखेर हिजोका राजालाई पनि इर्ष्या लाग्यो होला ।’
उनी यतिमै राेकिएनन् । अगाडि भने, मदन भण्डारी के भन्दै होलान् ? प्रधानमन्त्री ज्यू, तपाईंको कम्युनिस्ट पार्टी कहाँ छ ? मदन भण्डारीलाई चित्त बुझाउनुहोस् । सर्वांग गनाउँदै हुनुहुन्छ । संसदमा आएर जवाफ दिनुहोस् ।’
पूर्वमन्त्री गोकुल बाँस्कोटाकाे अडियो प्रकरणबारे उनले भने, ‘७० करोड घुस माग्दा लाज लागेन ? भ्रष्टाचार गर्दिनँ, गर्नेको मुख हेर्दिनँ भनेको होइन ? आफ्नो गुटका भए फिर्ता गरे पुग्ने ? योभन्दा लाजमर्दो के होला ?’
उनले स्याटेलाइट, अप्टिलक फाइबर, फोरजीलगायतका विषयमा अनियमितता भएपनि प्रधानमन्त्रीले त्यसमा संलग्न गोकुल बास्कोटाको प्रशंसा गरेको स्मरण गराए।
बालुवाटार जग्गा प्रकरण, वाइडबडी, न्यारोबडीको छानबिन खोइ? प्रश्न गर्दै उनले अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले छिटो छानबिन सकोस् भन्ने मागसमेत गरे ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६ ०८:१६