काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
बिहीबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले टेप काण्डबारे प्रधानमन्त्रीले सार्वजनिक रुपमा जवाफ दिनुपर्ने भन्दै प्रवक्ता शर्माले भने ‘भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको उक्त अडियो त सुन्नुभयो होला नि !’
पत्रकार सम्मेलनमा शर्माले ओली र बाँस्कोटा दुवै जनाले अनुसन्धान गर्ने निकायलाई सघाउनुपर्ने बताए । बाँस्कोटाले कर्मचारीप्रति अश्लील शब्द प्रयोग गरेको भन्दै शर्माले भने, ‘बाँस्कोटाले अडियो टेपमा कर्मचारीप्रति प्रयोग गरेको शब्द आपत्तिजनक छ । स्थायी सरकारका रुपमा हेरिने कर्मचारीप्रति प्रयोग गरिएको शब्द अशोभनीय छ ।’
बाँस्कोटाले बोलेका शब्दावली सुन्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउँदै शर्माले, ‘भ्रष्टचारीको मुख हेर्दिनँ भन्नु हुने प्रधानमन्त्रीज्यूले आफ्नै मन्त्रिमण्डलको एउटा मन्त्रीजीको अडियाे यसरी सार्वजनिक भएको अवस्थामा म मुख त हेर्दिनँ भनेको थिएँ, सुन्दिनँ भनेको कहाँ थिएँ र भन्नुभयो भने अलग कुरा हो । मुख हेर्ने/नहेर्ने अर्को प्रश्न । तर सुन्न त सक्नुहुन्छ होला नि, प्रधानमन्त्रीज्यूले ? प्रधानमन्त्रीले सुन्नुपर्छ ।’
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६ ०९:११