काठमाडौं । प्रधानमन्त्री लगायत सरकारका मन्त्रीहरुले एमसिसी संसदबाट पारित गर्नुपर्ने बताइरहेका बेला नेकपा नेता भीम रावलले भने सो इन्डो प्यासेफिककै अंग भएकाले पारित गरिए देशहित विपरीत हुने बताएका छन् ।
आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै रावलले रावलले इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट र त्यसपछिका शृंखलाहरु अध्ययन गरेर बोल्न एमसिसी समर्थकहरुलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि संसदको अधिवेशन र पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै एमसिसी पारित गर्न ढिला गर्न नहुने धारणा राखेका थिए भने सरकारका मन्त्रीहरु गोकुल बाँस्कोटा र योगेश भट्टराईले एमसिसीमा स्याल हुइयाँ नगर्न चेतावनी दिएका थिए ।
अझ सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले त एक कदम अघि सरेर अमेरिकाले चाहे सुलेमानी बनाइदिने भन्दै एमसिसीबारे अनावश्यक विरोध नगर्न चेतावनी दिएका थिए ।
लामो समयदेखि एमसिसी इन्डो प्यासिफिक स्ट्राटेजीभित्रकै अभियान रहेको बताइरहेका नेता रावलले आइतबारको बैठकमा चीन, रुस र कोरियाका विरुद्ध संघर्ष गर्न ल्याइएको अभियान भएको बताएका छन् ।
रावलले भने, एमसिसी इन्डो प्यासेफिक रणनीतिको अंग होइन भन्नेहरुले अमेरिकाले जारी गरेको इन्डो प्यासिफिक स्ट्राटेजी रिपोर्ट ४ नोभेम्बर २०१९, त्यसअघिको २०१७ र त्यसपछिका अन्य सिरिजहरु अध्ययन गर्नुपर्यो ।
एमसिसीलाई कतिपयले प्रतिष्ठाको विषय बनाएको भन्दै उनले यसमा असन्तुष्टि जनाए । ‘केही मानिसहरुले एमसिसीको विषयलाई प्रतिष्ठाको विषय बनाउने, राष्ट्रिय हित र स्वार्थभन्दा आफ्ना निजी धारणाहरुलाई राख्ने गरेको मैले पाएको छु,’ रावलले भने, ‘निःसन्देह त्योबाट मुक्त भएर राष्ट्रिय दृष्टिकोणका साथ अगाडि बढ्नुपर्छ । यसलाई व्यक्तिगत प्रतिष्ठाको बिषय बनाउनु हुँदैन ।’
केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि नेता रावललाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले यसबारे मौन बसिदिन आग्रह गरेका थिए । गृहजिल्ला अछाम रहेका रावललाई सोही विषयमा सहमत गराउन अध्यक्ष दाहालले तारन्तर टेलिफोन गरी काठमाडौँ बोलाएका थिए ।
अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा रावललाई मनाउने प्रयास गरेको बुझिएको छ । संसदीय समितिहरुले समेत एमसिसीबारे अध्ययन र छलफल गर्नुपर्ने नेता रावलले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६ ०९:०२