काठमाडौं । सत्तारुढ दलका एक जना सांसदले छाउगोठ भत्काएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेकपा सांसद गजेन्द्रबहादुर महतले छाउगोठ भत्काइएकोमा सांसदले आपत्ति जनाएका हुन् ।
सांसद महतले काम नपाएको बुहारीले … पुछर कन्याएर बसेझैं गृह मन्त्रालयले प्रशासन लगाएर छाउगोठ भत्काएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।
‘हाम्रो गाउँघरतिर उखान छ, काम नपाए बुहारी… पुछर कन्याऊ, गृहमन्त्रालय यस्तै छ । छाउगोठका नाममा हाम्रा घर भत्काइएको छ । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा हाम्रो घर भत्काउन पाइन्छ ? होटलमा ८ जना मान्छेकाे मृत्यु भएको छ, अब हाेटल नै भत्काइदिने ?’, उनले भने ।
उनले छाउगोठ भत्काएकोमा आपत्ति जनाउँदै गाडीबाट मान्छेको मृत्यु भए बस भत्काउँदै आगो लगाउँदै हिँड्ने ? भन्दै आक्रोश व्यक्त गरे । ‘हजारौं मान्छेकाे गाडीमा मृत्यु भएको छ । बस भत्काउँदै हिँड्ने, आगो लगाउँदै हिँड्ने ? त्यो पनि तरिका हुन्छ ? चाहिँदो काम गर्नुपर्यो ।
उनले भने, ‘बाटोको अवस्था के छ, स्कुलको अवस्था के छ ? ठेकेदार कहाँ भागेको छ ? त्यो हेर्नुपर्दैन ? हिजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काइयो । आज छाउगोठको नाममा भत्काइँदैछ । के हेरेर बसेको छ गृह मन्त्रालय ? काम पाएको छैन ?’
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६ ०६:२६