काठमाडौं । प्रतिनिधिसभाकाे सभामुखमा नेकपाका संसद् अग्नि सापकाेटा निर्वाचित भएका छन् । आइतबार बसेकाे सभाकाे बैठकबाट सापकाेटा सभामुखमा निर्विराेध निर्वाचित भएका हुन् ।
सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको थियाे । सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध भएका हुन् ।
बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले सापकाेटालाई सभामुखमा निर्वाचित गरियाेस् भनी प्रस्ताव पेस गरेका थिए । सांसद अग्निप्रसाद सापकोटाको नाम सभामुखमा प्रस्ताव गर्दै उनले भने, ‘हाम्रो चयन उपयुक्त रहेछ भन्ने निष्कर्ष आइसकेको छ । यो संसदका कसैले पनि उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नुभएको छैन ।’
सापकोटा लामो समयदेखि संसदीय प्रक्रियामा सहभागी रहेको र राजनीतिमा आउनुअघि कुशल शिक्षक रहेकाले सभामुखका लागि उनी उपयुक्त रहेको नेम्वाङले बताए । ‘लामो समयदेखि यो क्षेत्रमा क्रियाशील हुनुहुन्छ, आफ्नो यो भन्दा अगाडिको जीवनकालमा राम्रो मेहनती शिक्षकको रुपमा क्रियाशील रहनुभएको हो , उनले भने, यी सबै पृष्ठभूमिलाई ध्यान दिएर माननीय अग्निप्रसाद सापकोटाबाट प्रतिनिधिसभाले निर्वाह गर्नुपर्ने भूमिका बहन हुन्छ भने आशा लिएको छु ।’
यसगरी पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले सापकोटाको उम्मेदवारीमा समर्थन गरेका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम ७ को व्यवस्थाअनुसार १ मनोनयन परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषणा गरियाे ।
कांंग्रेस कमन्डलु लिएर उपसभामुख माग्न संसदमा जाँदैन : मीनेन्द्र रिजाल
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् मीनेन्द्र रिजालले उपसभामुख पाउने आशामा सभामुखमा नेपाली कांग्रेसले उम्मेदवारी नदिएकाे भन्ने हल्लामा सत्यता नभएकाे बताएका छन् ।
सभामुख निर्वाचनका लागि आइतबार बोलाइएको संसद बैठकलाई सम्बोधन गर्दै बाहिर यसको अपब्याख्या भएको भन्दै उनले भने, कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गर्न उम्मेदवारी दिएन भनियो । तर उपसभामुखका लागि हामीसँग मत पनि छैन, कमण्डलु लिएर आएका पनि छैनौं ।’
सांसद रिजालले उपसभामुख कताबाट छान्दा सत्तालाई सजिलो पर्छ भनेर सभामुख र उपसभामुख फरक दलको हुने व्यवस्था संविधानमा नराखिएको बताए ।
यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । सो दिनको बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराएका थिए ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६ १०:००