चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् ।
आज यहाँ पत्रकारहरुसँग उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताए । प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गराएका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।
सिंगै संसद्ले उनलाई स्वीकार गरिसकेको भन्दै उनले भने, उहाँकाे पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।
दाहालको गृहजिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए ।
प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराखेकाे भन्दै दाहालले प्रश्न गरे, यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन ।
प्रहरी प्रमुख को आउने भन्ने कुरा सरकारले नै भन्ने उनले बताए । दाहाल नवलपरासीमा हुने २ कार्यक्रममा सहभागी हुन हवाईमार्ग हुँदै यहाँ आएका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६ ०९:०२