भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेश १ (क) को प्रदेशसभा सदस्यका लागि यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल उम्मेदवार देवीप्रसाद ढकाल (डिपी) लाई जिताउन घरदैलो अभियानमा लागेका छन् ।
नेकपाले आजबाट गरेको घरदैलो कार्यक्रममा नेकपाका प्रभावशाली नेता नेपाल आफैँ मतदातामाझ पुगेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले जनताको घरदैलोमा पुगी जनतासामु देशलाई समृद्ध बनाउन नेकपाका उम्मेदवारले खेल्ने भूमिका महत्वपूर्ण हुने भन्दै विकासको प्रतिबद्धता जनाएका छन् ।
उनले शिक्षा, स्वास्थ्य, रोजगारको साथमा समृद्ध भक्तपुर र सुखी भक्तपुरका जनता बनाउन नेकपाको अर्को विकल्प नभएको बताए । स्व. हरिशरण लामिछानेको सपनालाई साकार पार्दै जनताको सारथी बन्ने प्रकारको उम्मेदवारको रुपमा नेकपाले डिपी ढकाललाई ल्याएको उल्लेख गर्दै उनले ढकाल भक्तपुरको विकासको मूलढोका हुने बताए ।
नेता नेपालले उम्मेदवार ढकालमा तीनै तहको सरकारसँग समन्वयनात्मक भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका कारण भक्तपुरको मुहारमा व्यापक मात्रामा परिवर्तन हुने र त्यसका लागि केन्द्र सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने बताए ।
घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले ढकाल भक्तपुरले रोजेको, जनताले खोजेको व्यक्ति भएको उल्लेख गर्दै भक्तपुरको विकास र समृद्धि तथा जनताको चाहना, आवश्यकतालाई पूरा गर्न ढकाल र आफू सहयात्री भई लाग्ने प्रतिवद्धता जनाए ।
घरदैलो कार्यक्रममा स्थानीयबासीले शिक्षा, स्वास्थ्य, रोजगारका साथै भक्तपुरको विकासमा भूमिका खेल्ने नेता चुन्ने बताएका थिए ।
घरदैलो कार्यक्रममा उम्मेदवार डिपी ढकालसँगै नेता, नेपाल, सांसद बस्नेत, प्रदेश सांसद शशिजंग थापा, नेकपाका इन्चार्ज दिलीप प्रजापति, सहइन्चार्ज तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६ ०६:५६