काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) काे कुन्दनराज काफ्ले समूहले ३२ वर्षमाथिका व्यक्ति सम्मिलित तदर्थ समिति बनाए आमरण अनसन बस्ने चेतावनी दिएकाे छ । विधान–पक्षधर भनिएकाे साे समूहले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानअनुसार तदर्थ समिति नबनाए पार्टी कार्यालयमै अनसन बस्ने चेतावनी दिएको हो ।
निर्वतमान केन्द्रीय समितिद्वारा जिल्ला अधिवेशन गर्न ७७ वटै जिल्ला समितिलाई दिएको निर्देशन पत्र र नेविसंघको विधानमा ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति संघको सदस्य हुन पाउने छैन’ भनी उल्लेख गरिएको जनाइएको छ।
सम्मेलनमा निर्वतमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले भने, ‘उमेर हद लागू गर्ने गरी २० जिल्लामा अधिवेशन भइसकेको छ । ती जिल्लाको कार्यसमिति के हुन्छ?’ अर्का विद्यार्थी नेता शुशील भट्टले भने, ‘ अहिले फेरि पार्टी नेतृत्वले ३२ वर्षमाथिको नेतृत्व चयन गर्दा अधिवेसन भएका जिल्ला पदाधिकारीलाई उत्तर के दिने ?’
नैनसिंह महरको कार्यसमितिले समयमा १२औं महाधिवेसन गर्न नसकेको भन्दै पार्टीले आठ महिना अघि संघको कार्यसमिति भंग गरेको थियो ।
कार्यक्रममा नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति सचिव योगेन्द्र रावलले नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने कुरा आफूहरुलाइ अमान्य रहेको चेतावनी दिए । तदर्थ समिति गठनका लागि तेस्राे समूहका नेता कृष्णप्रसाद सिटौलाले मौन समर्थन जनाएपछि उनी निकटका विद्यार्थी नेताहरु नै उनीप्रति रुष्ट बनेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६ ०९:३१