काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघकी उपमहासचिव डा. नतालिया कनेमलले आज बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेकी छिन्।
उपमहासचिव डा. कनेम राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशकसमेत हुन् । डा. कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा ३ कात्तिकमा नेपाल आइपुगेकी हुन्।
सन् २०१७ मा यूएनएफपीएको कार्यकारी निर्देशक पदमा नियुक्त भएकी डा. कनेम पहिलोपटक नेपाल भ्रमणमा आएकी हुन्। उनकाे साथमा एशिया र प्रशान्तका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन र युएनएफपीएका चिफ अफ स्टाफ पियो स्मिथ पनि छन्।
सो भेटमा यहाँस्थित युएनएफपीएका देशीय निर्देशक लुम्ना बाक्वी पनि थिए। यस वर्ष युएनएफपीएको ५० औं वार्षिकोत्सव तथा जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी)को २५औं वार्षिकोत्सव मनाइँदैछ।
सन् १९९४ इजिप्टको कायरोमा सम्पन्न आइसीपीडीको कार्ययोजना कार्यान्वयनमा नेपालले गरेको प्रतिबद्धताअनुसार हालसम्म गरेको उपलब्धिसँग साक्षात्कार हुन डा. कनेमसहितको टोली उच्चस्तरीय भ्रमणमा नेपाल आएको हो। रासस
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६ ०८:३९