काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि नेकपामा वैचारिक स्खलन आएको बताएका छन्।
पाँचौ सहाना प्रधान स्मृति दिवसको सन्दर्भमा नेकपा मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आदर्श र विचार दिनदिनै स्खलित हुने प्रक्रिया कम्युनिस्टमा देखिन थालेको बताएका हुन् ।
सभामा प्रचण्डले भने, सत्ता प्राप्तिअघि गरेको संघर्षका आधारमा हामीलाई जनताले माया र भरोसा गरे । तर हामीले तदनुरूप व्यवहार गर्न सकेनौं ।
सभामा बाेल्दै प्रचण्डले कम्युनिस्ट र कांग्रेस छुट्याउन गाह्रो पर्ने अवस्था आएको पनि बताए । ‘नाम त कम्युनिस्ट पार्टी नै छ । तर के हामी साँच्चै कम्युनिस्ट जस्तै छौँ त अहिले ? , प्रचण्डले भने, भन्न त हामीले समाजवादको यात्रा सुरु गर्ने भनेका छौँ । के हामी समाजवादको यात्राको निम्ति लडेका योद्धा जस्तै छौँ त ? या विस्तारै कांग्रेस वा हिजोका निरंकुशतावादी जस्तै पद वा प्रतिष्ठामा रमाउने भएका छौँ ?’
कम्युनिस्ट अभियानका लागि सम्पूर्ण तागत लगाउने र संकल्पगत एकता पैदा गर्ने र त्यो विशाल फौज तयार गर्दे अगाडि जानु जरुरी भएको उनले बताए । यस्तो नभएमा नेकपा पनि पूर्वी युरोपको कम्युनिस्टहरुको भन्दा फरक हुन्छ भन्ने सोच्नु गलत हुने चेतावनी पनि प्रचण्डले दिए ।
करौडौं जनताले विश्वास गरेर यो स्थानमा ल्याएको बताउँदै उनले यो एकता राष्ट्रिय स्वाधीनताका लागि गरेको बताए । गुट बनाउनका लागि एकता नगरिएको उनले स्पष्ट पारे ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६ १६:१८