काठमान्डाै : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भरतपुर विमानस्थललाई रात्रिकालीन बनाउने, धावनमार्ग थप गर्ने, ट्रमिनल भवन आधुनिक र व्यावसायिक बनाउने जानकारी दिए । नेपालभरका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले काठमाडौँ उपत्यका नजिकै रहेको यो विमानस्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने उल्लेख गरे ।
विमानस्थलको उत्तरतर्फ रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् क्षेत्रले केही समस्या दिए पनि त्यसलाई केही दिनभित्रै समाधानको बाटोमा लैजाने गरी अगाडि बढेको उनको भनाइ थियो । उनले भने, अबको १० दिनभित्रमा नेपाली सेनाको प्रमुख, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, जिल्लाका सरोकारवालाबीच संयुक्त बैठक बसेर यो समस्या समाधान गर्नेछौँ । नेपाली सेनालाई उचित स्थानमा स्थानान्तरण गरी विमानस्थलको धावनमार्ग विस्तारको काम हुने उनको भनाइ थियो । विमानस्थलमा ठूला जहाज ल्याउनका लागि पहिलो चरणमा विमानस्थल विस्तारलाई जोड दिइने मन्त्री भट्टराईले बताए । भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउँदै उनले विमानस्थलको स्तरोन्नति गरिने बताए । भ्रमण वर्ष सफल पार्न गर्नुपर्ने पूर्वाधार निर्माण, विदेशमा प्रचारप्रसार जस्ता काम भइरहेको उनले जानकारी दिए । अर्काे प्रसङ्गमा मन्त्री भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीले आनाकानी गर्न नहुने बताए । उनले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएकामा जोड दिए ।
आफूले घोषणा गरेको विषयमा विमान कम्पनीले केही टिप्पणी गरेको बताउँदै उनले यसलाई आफूले स्वागत गरेको भन्दै कार्यान्वयनको चरणमा आउनेमा विश्वस्त रहेको बताए । विमान कम्पनीले नै सामाजिक उत्तरदायित्वअन्तर्गत यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उनले धर्म र पापको पनि ख्याल गर्न आग्रह गरे । उनले भने, मान्छे कसैसँग नडराए पनि पाप र धर्मसँग डराउनुपर्छ । सबैसँग छलफल गरेर यो निर्णय कार्यान्वयन हुन्छ । हवाई भाडा दर समायोजन हुने उहाँको भनाइ थियो । उनले भने, भाडादर पुनरावलोकन गर्छौं, इन्धनको कुराले भाडादर महङ्गो छ । विदेशीको झनै महङ्गो छ । यसलाई छिट्टै पुनरावलोकन गरेर भाडादर निकाल्छौँ ।
नेपाल एयरलाइन्सको सुधार गर्ने महत्वपूर्ण एजेण्डाका साथ काम अघि बढिरहेको उनको भनाइ थियो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र भरतपुर विमानस्थल प्रमुख पवनकुमार गौतमले विमानस्थलको अवस्थाका बारेमा जानकारी गराउँदै काम अघि बढाउनुपर्नेमा जोड दिएका थिए । -रासस
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६ १६:४८