काठमाडौं: संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न खोज्दा प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुखले उनीहरुलाई समय नदिई प्रधानमन्त्रीलाई बोल्न समय दिए ।
लगतै उनीहरुले रोष्टम घेराउ गरे । उनीहरुले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनुपर्ने लगायत माग गर्दै चर्काे नाराबाजी गरेका थिए । काग्रेस सांसदहरुको नारावाजी पछि पनि प्रधानमन्त्री ओली रोस्टममा ८ मिनेट चुपचाप रमिता हेरेर बसेका थिए ।
संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीको ओलीको हाउभाउ हेर्न लायक बनेको थियो । उनी कहिले घुसे मुन्टो लाउने र कहिले मुस्कुराउने गरिरहेका थिए । सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बैठक स्थगित गरे । बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।
यसैविच संसदमा आफ्ना कुरा राख्न नपाएपछि आजै साँझ पाँच बजे प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा गर्ने पत्रकार सम्मेलनमा गुठी विधेयक र अन्य समसामयिक परिस्थिति बारे बोल्ने बुझिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६ १८:५५