काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले गुठीको विषयलाई लिएर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका गुठी संरक्षक अभियन्तामाथि भएको सरकारी दमन लाई सरकारको नांगो नाचको संज्ञा दिएका छन्।
काठमाडौं ६ बाट प्रतिनिधिसभा सांसदसमेत रहेका प्रधानले मच्छिन्द्रनाथको भोटो देखाउने पवित्र दिन गुठी बचाउ अभियानका अभियन्तामाथि सरकारले ताकीताकी आक्रमण गरेर प्रदर्शनकारीलाई घाइते बनाएको भन्दै सरकारी शैलीको विरोध गरेका हुन् ।
‘मच्छिन्द्रनाथको भोटो देखाउने पवित्र दिन गुठी बचाउ अभियानका अभियन्तामाथि सरकारले आक्रमण गरेर प्रदर्शनकारीलाई घाइते बनाएको छ, दमन गरेको छ, नाङ्गो नाच देखाएको छ,’ प्रधानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उनले वर्तमान सरकारले काठमाडौंको स्थानीय परम्परा, संस्कृति बनिसकेको गुठीको सम्पत्तिलाई जग्गा व्यवस्थापनको नाममा प्राधिकरण जन्माएर सयौं वर्षदेखि चल्दै आएको गुठीको जग्गा हडप्न खोजेको समेत भनेका छन् ।
‘हाम्रो स्थानीय परम्परा, संस्कृति बनिसकेको गुठीको सम्पत्तिलाई जग्गा व्यवस्थापनको नाममा प्राधिकरण जन्माएर सयौं वर्षदेखि चल्दै आएको गुठीको जग्गा सरकारले हडप्न खोजेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं उपत्यका मन्दिरै मन्दिर र जात्रैजात्राको ऐतिहासिक नगरी रहेको भन्दै प्रधानले सरकारले ऐतिहासिक नगरीको ऐतिहासिक र सास्कृतिक धरोहर भत्काएर कुरूप बनाउन प्रयत्नशील रहेको समेत आरोप लगाएका छन ।
उनले संविधान विपरीत, जनचाहना विपरीतको गुठी सम्बन्धी विधेयकलाई तत्काल फिर्ता लिन, शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपमा घाइते भएका सबैको सम्पूर्ण उपचार व्यहोर्न र जनताको सम्पत्तिमा भएको क्षतिको क्षतिपूर्ति तत्काल उपलब्ध गराउन समेत सरकारसँग माग गरेका छन् ।
आइतबार माइतीघर मण्डलामा भएको गुठी जोगाउ अभियन्ताहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६ १२:३६