काठमाडौं : निर्मला हत्यापछि पनि धेरै घटना हुनुमा सरकारी उदासीनता जिम्मेवार रहेको वक्ताहरूले ठहर गरेका छन् ।
शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को आयोजनामा ‘बढ्दो महिला हिंसा र यसको निकास’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले शक्ति र कानुनको दुरुपयोग नगर्न चेतावनीसमेत दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सिपी गजुरेलले समाज एकलौटी भएर नलड्दासम्म कानुनले मात्रै महिला हिंसा रोक्न नसक्ने बताए । गजुरेलले वर्तमान सरकारले निर्मला पन्तका हत्याराहरूकै संरक्षण गरेकाले अपराधीहरू बचिरहेको आरोप लगाए । उनले भने, ‘यदि सरकारले संरक्षण गरेको छैन भने अहिलेसम्म किन कारबाही हुन्न ?’
देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालका अध्यक्षसमेत रहेका गजुरेलले देशको आमूल परिवर्तनका खातिर लडेको तत्कालीन क्रान्तिकारी नेतृत्वको आत्मसमर्पण तथा आन्दोलनप्रतिको गद्दारीको परिणाम आजको महिला हिंसा पनि रहेको उनको ठहर छ, उनले अगाडि भने, ‘प्रचण्डले जहाँ पनि आत्मसमर्पणको संस्कार बसाए, क्रान्तिमा अत्मसमर्पण, पछिल्लोपटक ओलीसँग आत्मसमर्पण, अहिले अमेरिकासँग आत्मसमर्पण यिनको हरूवा चालले प्रतिक्रान्तिले घर गरेको छ । जसले गर्दा जनयुद्धमा उत्साहित महिलाहरूलाई फेरि चुलोचौको र महलभित्रै कैद हुने अवस्था आएको छ ।’
गजुरेलले अहिले जे जस्तो भए पनि देशमा एकदिन क्रान्तिकारी झण्डा पुनः एकपटक जोडदारसँग उठ्ने र त्यसको नेतृत्व होचा निमुुखा, उत्पीडित महिलाहरूले गर्ने र मुक्तिकामी आन्दोलनले सबैको न्याय गर्ने धारणा राखे ।
समाजवादी पार्टी नेपालकी उपाध्यक्ष हिसिला यमीले महिलाको जन्मदेखि नै पीडा र वेदनाबाट सुरु हुने भएकाले महिलाप्रति समाजले न्यायका लागि नयाँ किसिमको धारणाको विकास गर्न जरुरी भएको बताइन् । सहभागिता तथा समावेशीसहितको समृद्धि र विकासको विकल्प नभएको र त्यसमा अपनत्वको कमीले समाजमा हिंसाले ठाउँ पाउने गरेको उनको ठहर छ ।
वर्तमान समयमा अकल्पनीयरुपमा हिंसा बढेको बताउँदै उनले भनिन्, ‘आज मेयरबाट उपमेयरहरू पीडित भएका छन्, यसलाई राजनीतिक हिंसा भन्न सकिन्छ । उत्पीडित समुदायबाट पनि महिला नै उत्पीडित हुनुले समाज कहाँ जाँदै छ भन्ने कुरा प्रष्ट भएको छ ।’ यमीले यसको समाधान हातहातमा शिक्षा र रोजगार भएको बताइन् ।
आयोजक अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका कानुनले सो कार्यक्रममा कार्यपत्र पेस गरिन् । उनले वर्तमान नयाँ कानुनले पनि विगतमा जस्तै महिलालाई प्रशस्त अधिकार दिए पनि त्यो कार्यान्वयनको कमीको कारण महिला हिंसा या समस्या घट्नुको साटो बढेर गएको बताइन् ।
विगतमा महिला क्षमता र अन्य हिसाबले राज्य सञ्चालन या राज्यका अंगहरूमा सहभागिताका लागि अरक्षित कोटाको विषय उठ्ने हुनाले महिलाको क्षमतामै प्रश्न उठ्नु गलत भएको उनको ठहर छ । जसका लागि महिलाले जनयुद्धमा पनि प्रमाणित गरिसकेको र अब पनि आफूलाई प्रतिस्पर्धी बनाउन ध्यान दिनुपर्ने बताइन् ।
युद्धकालमा माओवादीको जाँड रक्सी, जुवा, तास जस्ता विकृतिप्रतिको आक्रमणले स्थानीय महिला मुक्ति र सुधारको स्वास फेर्ने माओवादीलाई ‘भगवान’को संज्ञा दिने गरेको व्यक्तिगत अनुभव सुनाउँदै कानुनले भनिन्, ‘हाम्रा क्रान्ति नायकहरू तिनै जाँड–रक्सीका घैँटा अनि जुवा तासका खालमा पसेर महिला हिंसा गर्ने अपराधी संरक्षण गरेको देख्दा कहाली लाग्छ ।’
उनले पुरुषको शासकीय मानसिकताविरुद्ध लड्ने क्षमता विकास गर्ने तथा आत्मरक्षका लागि स्कुलबाटै बालबालिकालाई प्रतिरोध तालिमको व्यवस्था गर्नु पर्ने धारणासमेत राखिन् ।
प्रा.डा. जगदीशचन्द्र भण्डारीले सामाजिक धार्मिक आर्थिक क्षेत्रमा अत्यधिक पीडित भएकाले क्रान्तिकारी आन्दोलनमार्फत सगोलमा महिला मुक्तिको उपाय खोज्नुपर्ने धारणा राखे । उनले मिहिला हिंसा निकै खतरनाक विषय भएको बताउँदै भने, ‘माइग्रेन (उपचार नहुने टाउको दुखाइ) लाई डाक्टरले सन्चो नहुने भएकाले त्यसलाई साथी बनाएर हिँड्नुपर्छ भनेर सल्लाह दिन्छन्, महिलाले पनि हिंसालाई साथी बनाउनु पर्छ भनेजस्तो अवस्थामा यो निकै चुनौतीको विषय बनेको छ ।’
महिलालाई भोग गर्ने साधन र उपयोगिताको बस्तुको रुपमा पुँजीवादी व्यवस्थामा झनै विकराल समस्या भएको उनको ठहर छ ।
नेपाल प्रगतिशील कानुन व्यवसायी एसोसिएसनका कार्यवाहक अध्यक्ष अधिवक्ता देवकुमार मोक्तानले नेपालमा अनगन्ती महिला हिंसाका घटना हुने र प्रहरीमा जति तथ्यांक आउँछ त्यो अदालतमा आइनपुग्ने बताए । नेपालमा कानुनको कमी ठूला तथा पहुचवाला अपराधी उम्किने र अपराध नियन्त्रणको नियम तल्लो वर्गलाई मात्र हुने गरेको बताए ।
नेपालको न्यायपालिका महँगो, पहुँच टाढा भएकाले १२ प्रतिशत धनीहरूको पक्षमा मात्र रहने र ८८ प्रतिशत जनता न्यायबाट टाढा हुनुपर्ने विवशता कटु यथार्थ भएको बताए ।
नेकपा (माओवादी केन्द्र) निकट महिला संघ क्रान्तिकारीकी अध्यक्ष धनकुमारी मगरले पीडितले उजुरी गरे पनि अन्त्यहीन संघर्ष गर्ने वातावरण नभएकाले पनि अपराधीको मनोबल बढ्दै गएको बताइन् । पहुँचवालाहरूले गर्दा पुलिसले जाहेरी पनि लिन नमान्ने गरेको उनले बताइन् । महिला अधिकारकर्मी र महिला नेतृहरू किनाराका साक्षी हुनुपर्ने अवस्था पनि दुःखदायी भएको बताइन् ।
आयोजक संगठनकी पूर्वअध्यक्ष लक्ष्मी मुडभरीले नेपाली महिलाहरूले मुक्ति र स्वतन्त्रताका लागि लडेर सुन्दर नेपाली समुदायको परिकल्पना असफल भएको र एक किसिमको निराशा छाउनु स्वभाविक भए पनि चुप बस्नु उचित नहुने बताइन् ।
दोलखाकी २० वर्षीया जेनी खड्का काभ्रेका आफ्नै श्रीमान् विष्णु भुजेलको एसिड छर्काइको ज्यादतीमा परेको र उनकी आमा कमला खड्काले आफ्नी छोरीलाई न्याय र औषधोपचारको जिम्मा लिइदिन राज्यसँग आग्रह गरिन् ।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६ ०१:२५