काठमाडौं : शीर्ष नेतृत्वबीच मत मिल्न नसक्दा आज पनि सत्तारुढ दल नेकपाकाे सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
एक व्यक्ति एक पद लागू गर्ने कि नगर्ने भन्ने विषयमा शीर्ष नेताहरुबीच मत बाझिएपछि जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गर्न बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हाे ।
मंगलबार बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएकाे थियाे । सो बैठकमा छलफल भएको र आज निष्कर्षमा पुगिने बताइएको थियो ।
७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागिएको विषयमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद रहँदै आएको छ ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जिम्मेवारी बाँडफाँटको मापदण्डका विषयमा गम्भीर छलफल भएको र छिट्टै टुंगो लाग्ने प्रतिक्रिया दिए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तता देखाउँदै बैठक बिहीबार बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ ।
बिहीबार बस्ने बैठकले जिल्ला इन्चार्ज, सहइन्चार्ज र त्यसपछि अरु विभाग तथा सांगठनिक एकताका बाँकी विषयबारे छलफल गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
नेकपामा अध्यक्ष ओली, सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल दोहोरो जिम्मेवारीको पक्षमा छन् । वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक पद एक व्यक्तिको अडानमा देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल र रामबहादुर थापा भने कुनै पक्षमा खुलेका छैनन् ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६ १९:५७