काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त उच्च अदालतका मुख्य न्यायाधीशद्वय कुमारप्रसाद पोखरेल र रमेश पोखरेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा मुख्य न्यायाधीश पोखरेलद्वयले शपथग्रहण गरेका हुन् । प्रधानन्यायाधीश जबराले न्यायाधीश कुमारप्रसाद पोखरेल उच्च अदालत दिपायल र न्यायाधीश पोखरेललाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशका लागि पदस्थापना गर्ने निर्णय गरेका थिए ।
न्याय परिषद्को यही जेठ १४ गते बसेको बैठकले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत न्यायाधीश कुमारप्रसाद पोखरेल र उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत मुख्य न्यायाधीशमा नियुक्तिका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको थियो ।
समारोहमा सर्वोच्च अदालतका न्यायाधीशहरू, न्याय परिषद्का सदस्यहरू, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारलगायतको उपस्थित थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६ १२:४२