Tuesday August 21, 2018 | |

व्यापक सुधार सहित एलएलबीको भर्ना प्रक्रिया सुरु

featured-news

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकायतर्फ स्नातक तह (एलएलबी) प्रथम वर्षको भर्ना प्रक्रिया सुरु भएको छ । विद्यार्थी र डीन कार्यालयको बिचमा उत्पन्न लामो समय देखिको विवाद निरुपण भएपछि भर्ना सुरु भएको हो ।


डीन कार्यालयले यही श्रावण २० गते जारी गरेको सूचना अनुसार प्रवेश परिक्षामा सहभागी परिक्षार्थीहरुको प्रकाशित नतिजाको योग्यताको सूचीमा नाम समावेश भएका विद्यार्थीहरुले प्रथम वर्षमा भर्ना हुन पाउने भएका हुन् ।


डीन कार्यालयका अनुसार यही श्रावण २२ गते देखि भाद्र २५ गते सम्म भर्नाको अवधि तोकिएको र भर्ना शूल्क ८१०० कायम गरिएकोे छ । भर्नामा सामेल हुने विद्यार्थीहरुले नेपाल बैंक लिमिटेडको जुनसुकै शाखामा रहेको नेपाल ल क्याम्पसको बैंक खाता नम्बर २१७००१००१९२४७२०००००१ मा शूल्क जम्मा गरेको भौचरसँगै अन्य कुनै विषयमा स्नातक उतिर्ण गरेको मार्कसीट ,सर्टीफिकेट र नागरिकताको फोटोकपी पेश गर्नुपर्नेछ । प्रवेश परीक्षामा सामेल नभएका तर एलएलबी मा भर्ना हुन चाहने विद्यार्थीहरुको हकमा भने उनीहरुलाई लगाइने शूल्क र प्रक्रियाबारे केही दिनमा निर्णय हुने क्याम्पस प्रमुख डी. एन. पराजुलीले आजको न्यूजलाई जानकारी दिए ।


क्याम्पसको यो निर्णयसँगै यस वर्ष एलएलबीमा भर्ना हुने विद्यार्थीले भर्नाको समयमा लामो लाइन लाग्नुपर्ने बाध्यता हट्ने भएको छ । विद्यार्थीले नेपाल बैंकको जुनसकै शाखामा भौचर भर्न सक्ने र भरेको भौचर र आवेदन फर्म बुझाएको केही मिनेटमै परिचय पत्र, पुस्तकालय कार्ड र व्याच प्राप्त गर्ने व्यवस्था मिलाइएको क्याम्पस प्रमुख पराजुलीले जानकारी दिए । उनका अनुसार आगामी असोज १ गते बिहान ६ बजेबाट सञ्चालन हुने कक्षामा सहभागी हुने विद्यार्थीले अनिवार्य रुपमा कालो कोट र व्याच लगाउनु पर्ने र अन्यथा कक्षामा सहभागी हुन नपाइने व्यवस्था गर्न लागिएको छ ।


कानुन विषयको अध्ययन अध्यापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ सुधार थालिएको र थप सुधारका कामहरु समेत अगाडि बढाइने क्याम्पस प्रमुख पराजुलीले जानकारी दिए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News