Monday November 20, 2017 | |

काठमाडौँमा वाम गठबन्धनको चुनावी अभियान शुरु

featured-news

२८ कात्तिक, काठमाडौँ । चुनावलगत्तै पार्टी एकताको उद्घोषसहित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले आजदेखि काठमाडौँमा संयुक्त चुनावी अभियान शुरु गरेको छ । दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा आगामी मंसिर २१ मा हुने निर्वाचनमा काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय कार्यक्रम गरी अभियान शुरु भएको हो । दुवै दलले १० वटै क्षेत्रमा संयुक्त परिचालन कमिटी गठन र प्रचार कार्यालय खोलिसकेका छन् । जिल्लास्तरीय चुनावी सम्पर्क कार्यालय जमलमा खोलिएको छ । गठबन्धनले गत साता काठमाडौँमा साझा चुनावी घोषणापत्र सार्वजनिक गरी देशभर संयुक्त प्रचार अभियान जारी राखेका छन् । यी दुई ठूला वाम दलले गत असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका थिए । कार्यक्रममा नेताहरुले ‘राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको झण्डालाई वामपन्थीले फहराउँदै आएकाले’ सामाजिक आर्थिक रुपान्तरणको कार्यभार आफूहरुकै भएको उद्घोष गरे । एमालेका नेता एवं काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपालले वाम शक्ति एकताबद्ध हुनु समयको माग र देशको आवश्यकता भएको बताउँदै नेपाली काँग्रेसभित्रका लोकतन्त्रवादीले पनि वामपन्थीको तालमेल र एकतालाई सहज रुपमा लिनुपर्ने बताए ।

 

माओवादी केन्द्रका सचिवालय सदस्य एवं काठमाडौँ १० माप्रतिनिधिसभा सदस्य उम्मेदवार हितमान शाक्यले समाजवाद स्थापनाको लक्ष्यसहित वाम शक्ति मिलेर चुनावी मैदानमा आएको अवस्थामा जनस्तरमा उत्साह थपिएको बताए । एमाले काठमाडौँ निर्वाचन परिचालन कमिटीका संयोजक एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ जिल्लामा स्थानीय निर्वाचनमा पनि वामपन्थीको पकड स्थापित भएकाले आफूहरुको विजय निश्चित भएको बताए । माओवादी केन्द्रले हिमाल शर्माको नेतृत्वमा जिल्ला परिचालन कमिटी गठन गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसलगायत दलबाट रमेशकुमार खड्का, बालकृष्ण महर्जन, रविरत्न तुलाधार, अनन्तकुमार घिमिरेलगायत करिब ५० जना एमालेमा प्रवेश गरेका छन ।

 

जिल्लामा प्रतिनिधिसभाका १० क्षेत्रमध्ये एमालेका सात र माओवादी केन्द्रका तीन उम्मेदवार छन् । उम्मेदवारमा काठमाडौँमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा अनिल शर्मा, २ मा नेता नेपाल, ३ मा कृष्ण राई, ४ मा डा राजन भट्टराई, ५ मा एमाले महासचिव ईश्वर पोखरेल, ६ मा झक्कु सुवेदी, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठ र १० मा नेता शाक्य छन । यसैगरी प्रदेशसभा सदस्यका २० उम्मेदवारमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सानुकुमार श्रेष्ठ, रामेश्वर फुयाँल, केशव स्थापित, डा अजयक्रान्ति शाक्य, नारायण सिलवाल, रमा आले मगर, विष्णुकुमारी भुसाल, निर्मल कुइँकेल, योगेन्द्र संग्रौला, केशव पोखरेल, दिलीप महर्जन, गणेश दुलाल, मणिराम फुयाँल, वसन्त मानन्धर, दीपक निरौला, प्रकाश श्रेष्ठ, रुद्र बराइली, राजेश शाक्य र कुसुमकुमार कार्की रहेका छन ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement