Thursday October 19, 2017 | |

एनआरएनए अमेरिकाको महासचिवका अब्बल उम्मेदवार सूर्य लम्साल

featured-news

–किरण मरहठ्ठा
न्यूयोर्क । ‘द उडस आर लभ्ली डार्क एण्ड डिप, बट आइ हेव प्रोमिस टु किप, एण्ड माइल्स टु गो विफोर आइ स्लीप.....।’ अमेरिकन कवि रोबर्ट फ्रस्टको कविताको यो अंश उनको जीवनको प्रेरणा हो त्यसैले त त्रिभुवन विश्वविद्यालयको इन्जिीनियरिङको डिग्री, आफ्नै कन्सल्टेन्सी अनी भ्याइनभ्याइ काम र लोभलाग्दो आर्थिक प्रगति तर यी कुनैले पनि उनलाई रोक्न सकेन । हानिए विदेश । लिनु थियो अन्तर्राष्ट्रिय डिग्री र नियाल्नु थियो संसारको प्रगति, त्यो पनि ज्यादै निकटबाट । जापान, जर्मनी र अमेरिकाका विश्वविद्यालयहरुबाट अफर आयो तर उनले रोजे अमेरिका । १९९६ जुलाइमा फ्लोरिडा इन्स्टिच्यूट अफ टेक्नोलोजीको मास्टर्स अफ इन्जिीनियरिङको विद्यार्थी बने सूर्य लम्साल । ‘मैले चुनौती र सिक्ने अवसर धेरै देखेर अमेरिका रोजेँ,’ लम्साल सम्झन्छन । कर्मनै पुजा हो भन्ने लम्साल सानैदेखि पढाइमा अब्बल थिए । अमेरिकामा अध्ययनको सफलता पश्चात उनले सन् १९९८ देखि विभिन्न प्रतिष्ठित इन्जिीनियरिङ कम्पनीहरुमा काम गरे । त्यसक्रममा संसारकै अब्वल मानिने म्यानहयाटनका स्काइक्रेपर (गगनचुम्बी भवनहरु) निमार्णमा लामो अनुभव बटुलेका छन् । उनले सन् २००२ को कोरिया विश्वकपको रंगशालाको उत्कृष्ट डिजाइन गरेबापत अवार्ड समेत पाएका थिए । त्यस्तो दुलर्भ अवसर पाउने उनी एकमात्र नेपाली थिए ।

 

लम्साल विगत ११ बर्षदेखि संसारकै सबैभन्दा ठूलो प्रशारण ७६५ के.भी. ट्रान्समिसन लाइन भएको न्यूयोर्क पावर अथरिटीमा बरिष्ठ इन्जिीनियरका रुपमा कार्यरत छन् जुन अमेरिकी सरकारको विधुत प्राधिकरण हो । उनको कम्पनीले ६ हजार मेगावाट विद्युत उत्पादन गर्दछ । पानीको बाडफाँड र विद्युत उत्पादनमा संसारकै नमुना मानिने अमेरिका क्यानाडाबिचको नायगारा फल्स हाइड्रोपावरको नियमित अनुगमन, बाँध सुरक्षा, पावरहाउस तथा ट्रान्समिसन लाइनमा गर्नुपर्ने इन्जिनियरिङको कामनै उनको दैनिकी हो । ‘नेपाल र भारतबिचको जलश्रोतको विवाद समाधानमा क्यानाडा अमेरिकाको यो सम्झौता उदाहरण बन्न सक्छ’ लम्साल भन्छन् । नेपालको भौतिक पूर्वाधार निर्माणलाई ज्यादै नजिकबाट नियाली रहेका उनी भन्छन्, ‘हाम्रो विकासको मोडेल के हो भन्नेबारेमा अझ स्पस्ट हुन सकेनौँ ।’ राजनीतिक र प्रशासनीक झमेलाका कारण नेपालमा अपेक्षित भौतिक पूर्वाधार निर्माण हुन नसकेको लम्सालको निष्कर्ष छ । कतिपय कानुनहरु पनि बाधक छन् । उर्जा र भौतिक पूर्वाधार निर्माण २ दशकको अनुभव बोकेका लम्सालको विचारमा नेपालको विकासको सबैभन्दा उपयुक्त श्रोत जलविधुत हो । लम्साल सहितको गैरआवासीय नेपालीको समुहले ५ बर्षअघि १८० मेगावाटको आधिँखोला हाइड्रोपावर शुरु गर्न एक्जिम बैकंमार्फत लगानी स्वीकृत गराई नेपाल सरकारसँग निर्माण अनुमति मागेको थियो तर विभिन्न प्रशासनीक तथा राजनीतिक र कानुनी झमेलाका कारण त्यो परियोजना त्यतिकै तुहियो । उनी नेपालमा अमेरिकी लगानी बढ्न नसक्नुमा दोहोरो कर प्रणालीलाई कारक ठान्दछन् । यो प्रणाली अनुसार नेपालमा व्यवसाय गरेका अमेरिकी लगानीकर्ताले नेपाल र अमेरिका दुवैदेशमा कर तिर्नु पर्दछ ।

 

लम्सालको व्यक्तित्वको अर्कोपाटो भनेको समाजसेवा हो । उनी गैर आवसीय नेपाली संघको कार्यकारिणी सदस्य हुन् भने आसन्न निर्वाचनमा महासचिवको उम्मेदवार पनि । उनी एनआरएनए अमेरिकाको विज्ञान प्रविधि तथा अर्थनीति सम्बन्धी समिति (स्टेप)को संयोजक समेत रहेका छन् । यो समितिमा रहेर लम्सालले ‘इन्भेस्टमेन्ट एण्ड इनोभेसन’को क्षेत्रमा विभिन्न काम गरे । स्टेपले दोहोरो कर प्रणाली हटाउन र नेपालमा एनआरएनको सामूहिक लगानी वढाउन महत्वपूर्ण पहल गरेको थियो । उनी गैर आवासीय नेपालीले सामुहिक लगानीमै जोड दिनुपर्नेमा प्रष्ट छन् । ‘ठूला परियोजना निर्माणमा हाम्रो एकल पुँजी पर्याप्त हँुदैन तसर्थ हामीले सामूहिक लगानीमा जोड दिनुपर्छ ।’ ओभररिज इन्भेस्टमेन्ट गु्रप अमेरिकाका सदस्य सचिव समेत रहेका लम्साल भन्छन् ।

 

सादा जीवन उच्च विचारलाई आदर्श मान्ने लम्साल अमेरिकन सोसाइटी अफ सिभिल तथा स्ट्रक्चरल इन्जिनियर्सको सदस्य हुन् । यो संस्थाले नयाँ प्रविधि र आविष्कारको विषयमा तालिम सञ्चालन गर्ने गर्दछ । त्यस्तै उनी अमेरिकन सोसाइटी अफ नेपाली इन्जिीनियर्सको पनि कार्यकारी सदस्य हुन् । लम्साल सहितको सेन्सस समितिले पहिलो पटक अमेरिकामा रहेका नेपालीको आधिकारिक तथ्यांक सार्वजनिक गरेको थियो । एनआरएनए अमेरिकामा एक शालिन बौद्धिक व्यक्तित्वको छवी बनाएका लम्साल एकता र समृद्धिका लागि आफूले महासचिवमा उम्मेदवारी दिएको वताउछन् । विश्वमै सवैभन्दा धेरै सदस्य रहेको एनआरएनए अमेरिका अब नेतृत्वका हिसावले पनि संसारकै शक्तिशाली बन्न सक्ने उनको दाबी छ । लम्सालले आफ्नो चार बुँदे एजेन्डा अघिसारेका छन् । जसमा नयाँ पुस्तालाई एनआरएनमा ल्याउन विशेष योजना बनाउने, आइडी कार्ड प्रभावकारी ढंगले लागु गर्ने, राज्य च्याप्टरहरुलाई स्वायत्त र अन्य नेपाली संघसंस्थाहरुसंगको सहकार्यलाई जोड दिने तथा अमेरिकाको मुलधारमा नेपालीलाई समाहित गर्न पहल गर्ने रहेका छन् । ‘परिणाममुखी सचिवालय र शक्तिशाली एनआरएनए निर्माणमा खटिने छु ।’ लम्सालले भने ।

 

चितवनको शिवनगर मावीबाट २०४१ सालमा एसएलसी उत्तीरर्ण लम्साल हाल न्यूयोर्क यूनीभर्सिटिमा उर्जाप्रणाली व्यवस्थापनमा लेक्चरको रुपमा पनि कार्यरत छन । एउटा सपना बोकेर विदेशिएको ठिटोले आफ्ना नीजि चाहनाहरू धेरै पुरा गर्याे, अब केहि समय पश्चात नेपाल फर्किएर भौतिक पूर्वाधार निर्माणमा सक्रिय योगदान दिने उनको चाहना छ त्यसैले उनले सहरी भौतिक पूर्वाधारमा न्यूयोर्क यूनीभर्सिटिमा पिएचडी गरिरहेका छन् ।

 

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement