२७ माघ, काठमाडौँ । नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट करिब दुई अर्ब बराबरको लगानी उठाउन सेयर निष्कासन गरेको छ । आजदेखि संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी सेयरधनी हुनसक्ने सगुन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सगुनले ‘ग’ श्रेणीको आठ लाख ६९ हजार ५६४ कित्ता सेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री गुरु गरेको सगुन नेपाल च्याप्टरका जनसम्पर्क प्रमुख अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार कम्तीमा २९९ डलरमा १३ कित्ता सेयर किनेर सगुनको मालिक बन्न सकिनेछ, त्यसभन्दा माथि भने व्यक्तिको इच्छाअनुसार सेयर खरिद गर्न सकिनेछ ।
बिक्रीका लागि छुट्याइएको सेयर सगुनको वेबसाइट धधध।कबनययल।अयmरष्लखभकत मार्फत सर्वसाधारणले खरिद गर्न सक्नेछन् । नेपाल बाहिर रहेका नेपालीले सो सेयर खरिद गर्न पाउनेछन् तर, कानुन अभावका कारण नेपालमा रहेका नेपालीले भने उक्त सेयर खरिद गर्न नपाउने कम्पनीले जनाएको छ । सगुनका संस्थापक गोविन्द गिरीले अमेरिकाको जब्स एक्ट २०१२ को प्रावधान बमोजिम नेपाली प्रविधि र लगानीले समाजका विभिन्न पक्षमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
अमेरिकन जब्स एक्ट २०१२ अनुसार कुनै पनि ‘मिनी आइपिओ’ ले पाँच करोड डलरसम्म वार्षिक रुपमा पैसा उठाउन पाउँछन् । तर सगुनले यस वर्ष रु दुई अर्ब बराबरको सेयर खोलेको छ, जुन कुल सेयरको जम्मा २१ प्रतिशत हो । सेयरधनी बन्नका लागि कम्तीमा १३ कित्ता किन्नुपर्ने हुन्छ । अहिलेसम्म चार हजार बढी व्यक्तिबाट ३५ लाख डलर बराबरको सेयर खरिद गर्न इच्छा जाहेर गरेका सगुन नेपाल च्याप्टरका संयोजक अखिल सिटौलाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, माघ २६, २०७३ १९:१६