Wednesday September 19, 2018 | |

रुपन्देहीमा महिला तथा बालबालिका हराउने क्रम बढ्दो, एक बर्षमै २ सय ७२ हराए

featured-news

प्रतिक पौडेल, रुपन्देही । गएको एक बर्षमा रुपन्देहीमा २ सय ७२ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत आव २०७४/७५ मा रुपन्देहीबाट २७२ जना हराएकामध्ये २६३ जना फेला परेको र १९ जना अझै पनि हराइरहेका छन् ।


प्रहरीका अनुसार चालु आव सुरु भएको एक महिनामा ५१ महिला तथा बालबालिका हराएका थिए । हराउनेमा १६ देखि ४० वर्ष उमेर समूहका महिला रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।


विगत तीन वर्षको अवधिमा रुपन्देहीबाट ६२१ जना महिला तथा बालबालिका हराएका छन् जसमध्ये ४४६ फेला परेका छन् भने १७५ अझै बेपत्ता छन् ।


बेरोजगारी, अशिक्षा र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण हराउने क्रम बढेको हो । भारतको विभिन्न कम्पनीमा रोजगारीमा लगाइदिने बहानामा यहाँका गाउँ गाउँबाट युवा–युवतीलाई भारत लैजाने गरेको समेत पाइएको छ । खुला सीमा नाका रहेकाले दलालले ललाइफकाइ र रोजगारीमा लगाइदिने बहानामा महिला तथा बालबालबालिकालाई भारत लैजाने गरेको पाइन्छ ।


गत साउन महिनामा मात्र रोजगारीको प्रलोभनमा परी भारततर्फ हिँडेका ८६ जना महिला तथा बालिकालाई भारतीय सीमावर्ती नाका बेलहियाबाट उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


कतिपय महिला तथा बालबालिका घरमा झगडा गर्ने, रिसाएर हिँड्ने र हराउने भएपछि अभिभावकले खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिने गरेका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement