Saturday July 21, 2018 | |

आर्थिक वर्ष ०७५/०७६ को मौद्रिक नीति सार्वजनिक

featured-news

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बुधबार नीति सार्वजनिक गरेका हुन् ।


मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड दर) घटाएको छ । यसअघि पाँच प्रतिशत रहेको स्प्रेड दरलाई ४.५ प्रतिशतमा झारिएको हो ।


यस्तै, वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण उक्त महिनाको जुनसुकै समयमा वा एकमुष्ठ आयात गरी बिक्री वितरण गर्न सक्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा गरिएको छ ।


नीति सार्वजनिक भएपछि अब वाणिज्य बैंकहरुले पनि धितोपत्र व्यवसायी (सेयर ब्रोकर)का रुपमा काम गर्न पाउने भएका छन् । त्यसका लागि छुट्टै सहायक कम्पनी स्थापना गर्नुपर्ने नीति नेपाल राष्ट्र बैंकले ल्याएको छ । वाणिज्य बैंकहरुले लामो समयदेखि आफूहरुलाई पनि ब्रोकरको लाइसेन्स दिन माग गर्दै आएका थिए ।


नीति सार्वजनिक गर्ने क्रममा गभर्नर नेपालले अहिले देशको अर्थतन्त्रले लय समातेको भन्दै रोजगारी र उद्यमशील गतिविधिलाई प्रोत्साहित गरिने बताए । तराईमा आएको बाढीले कृषि क्षेत्रमा केही ह्रास आएको भएपनि उद्योग तथा सेवा क्षेत्रको योगदानले गर्दा अर्थतन्त्र बढ्ने उनको भनाइ थियो ।

 

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News