Friday November 16, 2018 | |

यमपञ्चकको पाचौँ दिन, आज भाइटिका

featured-news

काठमाडौं । यमपञ्चक अन्तर्गत तिहारको पाँचौँ अर्थात् अन्तिम दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाई मनाइँदैछ ।


सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठाई, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई दक्षिणा दिने गर्दछन् ।


दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिने शास्त्रीय विधान रहेको छ । आज भाइटीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।


आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले धर्मदिदी बहिनी बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने शास्त्रीय मान्यता समेत छ ।


भाइटिकासम्बन्धी किंवदन्ती र जनविश्वास


एकपटक एक चेलीले आफ्नो दाजुलाई टिका लाउँदै गर्दा यमराजको दूत उनको दाजूलाई लिन आएछन् । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यु निश्चय छ । ती चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भनिन् र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गरिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशी भएका यमदूतले प्रसन्न भएर चेलीलाई वरदान माग भन्दा उनले मेरा दाजुलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजुभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।


यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ती रहेको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement