Saturday October 20, 2018 | |

मोदीको भ्रमण र ओली सरकारको राष्ट्रिय आत्मसमर्पणवादी चरित्र

featured-news

-डा. ऋषिराज बराल

भारतीय विस्तारवादको स्वार्थअनुसार संविधान बनाउन दबाब दिँदै भुइँचालोले थिलथिलिएका नेपाली जनतालाई भोकभोकै मार्न भारतीय विस्तारवादले २ वर्षअघि लगाएको नाकाबन्दीलाई चटक्कै बिर्सेर खड्गप्रसाद ओलीको सरकारले भारतमै हिन्दुवता फासिवादी सरकारको नामले बदनाम र घृणाको पात्र  बनेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको  भ्रमणको कार्यक्रमलाई जुन  शैली र स्वरूपमा तर्जुमा गरेको छ, यसप्रति चौतर्फीरूपमा प्रश्न उठेको छ । प्रधानमन्त्री हुनेबित्तिकै मोदीको दर्शनभेट गर्न दिल्ली पुगेका ओलीको मोदीसितको एक घन्टे गोप्य भेटघाटबारे अनेक प्रश्न उठिरहेको सन्दर्भमा मोदीप्रति अचम्म किसिमले देखाउन खोजिएको मालिक भक्तिले राष्ट्रिय स्वाधीनताप्रति चिन्तित नेपाली जनतालाई गम्भीर बनाउनु स्वाभाविक छ ।

अहिले पत्रपत्रिका तथा सामाजिक सञ्जालहरूमा मोदीको नेपाल भ्रमण र ओलीको मालिकभक्तिलाई लिएर थरीथरीका टिप्पणीहरूका साथै चिन्ता र आक्रोस व्यक्त भएको पाइन्छ । सामान्य नागरिकदेखि लिएर राजनीतिक सचेतकहरू सबैले खबरदारीमा औँला ठड्याएका छन् । सामाजिक सञ्जालहरूमा “क्रिमिनल्स आर नट वेलकम इन नेपाल”भनेर लेखिएको पाइन्छ ।   जनकपुरदेखि मुक्तिनाथसम्म  अर्थात् चिनियाँ सीमा  भारतीय सेना मार्च पास गराउन थालिएको छ र समग्र  सुरक्षा तजबिजी उसैको हातमा सुम्पने काम भएको छ । हातहतियारसहितको भारतीय सेनाको कमान्डो फोर्सले काठमाडौँमा क्याम्प खडा गरिसकेको छ । 

१५ दिन अगाडिदेखि भारतीय खुपिया एजेन्सीका सदस्यहरू जनकपुर, काठमाडौँ र पोखरामा तैनाथ छन् र  एकएक बहाना बनाएर पूर्व राजदूतहरूले समग्र राजनीतिको रेकी गरिरहेका छन् । समाचार माध्यमहरूले जनकपुरमा गृहमन्त्रीलाई ब्रिफिङ गर्ने पात्र नै संदिग्ध्न भनेर समाचार प्रकाशित गरेका छन् । जनकपुरको भौतिक संरचनागत स्थिति र विकासको हालत के छ भन्ने कुरा सबैलाई थाहा छ ।  आर्थिकरूपमा जर्जर मुलुक मोदीको स्वागतका लागि १ करोड २६ लाखको स्वागतमन्च बनाउन बाध्य छ । पञ्चायतीकालमा राजाको स्वागतभन्दा बढी तामझाम मोदीको स्वागतका लागि भइरहेको छ र   अझ मोदीको अभिनन्दनका लागि तयार पारिएको ‘अभिनन्दन पत्र” पढ्दा हरेक स्वाभिमानी नेपालीलाई आत्मग्लानी र लज्जाबोध हुन्छ । टाउको निहुराउनुपर्ने स्थिति उत्पन्न भएको छ । पोस्टरमा उल्लेखित भाषाले झन् लाजमर्दो स्थिति उत्पन्न गराउँछ । दालालीको पनि हद हुन्छ ।

२ नम्बर प्रदेश त्यसमा पनि जनकपुर भारतको कुनै प्रान्त झैँ बनाउन लागिएको छ । आफ्नै मुलुकको कुनै प्रान्तमा जाँदा सदैव जनताबाट तिरष्कृत हुने मोदीका लागि २ नम्बर प्रदेशका मोदी भक्तहरूद्वारा प्रदर्शित भक्तिगाथाले राष्ट्रिय स्वाधीनता र स्वाभिमानले भरिएका छातीहरूलाई मर्माहत बनाउनु स्वाभाविक छ ।  “मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन” भनेर पत्रपत्रिकाले समाचार दिएका छन् र जनकपुर, काठमाडौँ र मुक्तिनाथमा उनको नागरिक अभिनन्दन गरिने भनेर सरकारी माध्यमहरूले फुकिरहेका छन् । व्यङ्ग गर्दै अनलाइनहरूले, “मुक्तिनाथमा मोदीलाई ‘नागरिक अभिनन्दन’ सर्वसाधारणलाई चाहिँ नाकाबन्दी” शीर्षकमा समाचार बनाएका छन् र “जनताको प्रश्न–‘नाकाबन्दी बेहोरेका हामी मोदीको अभिनन्दन कसरी सहभागी हुने’” जस्ता टिप्पणीहरू लेखिएका छन् ।  मोदीले चाहेभन्दा पनि अघि बढेर देखाइएको यो दलाली चरित्र, मालिकभक्तिको यो स्वरूप साँच्चिकै अचम्म लाग्दो छ । यसले भारतीय विस्तारवादको नव-औपनिवेशिक प्रवृत्तिलाई मलजल पुगेको छ र ओली र ओली मार्काका मान्छेहरू राष्ट्रवादी हुनुको अभिनय गर्दै कसरी वैदेशिक शक्तिको दलाली गर्दा रहेछन् भन्ने यथार्थलाई  पनि उजागर गरेको छ ।

भारतीय राजदूतावासले बेलाबेलामा चारो हालेकाहरू, भारतीय दुतावासको सिफासिरमा बहुराष्ट्रिय कम्पनीका विज्ञापनमा  बाँचेका पत्रपत्रिका र दुतावासका कर्मचारीहरूसित सुमधुर सम्बन्ध भएका राजनीतिक टिप्पणीकारहरूबाहेक थुप्रै अनलाइनमाध्यम र राजनीतिक टिप्पणीकारहरूले ओलीले ‘महाकाली सन्धी’ को पुनरावृत्ति गर्ने त होइनन् भनेर चिन्ता जाहेर गर्दै  ओली सरकारको व्यवहारप्रति खबरदारीको भाषा बोलिरहेका छन् । माफी नमागेसम्म मोदीलाई नागरिक अभिनन्दन नगर्न राष्ट्रिय मुद्दाप्रति सरोकार राख्ने बुद्धिजीवीहरूले ध्यानाकर्षण गराएका छन् ।

आम जनताले दस वर्षअघि कोसीमा आएको बाढीको नाममा भारतले राखेको बिराटनगरको काउन्सिलर  कार्यालय हटाउन बारम्बार आवाज उठाएका छन् र वामपन्थी पार्टीहरूले यसको विरोधमा कार्यक्रम पनि गरिरहेका छन् । जनआवाजको कदर गर्नुसट्टा विरोध गर्नेहरूलाई थुनेर र मुद्दा लगाएर ओली सरकारले मालिकभक्ति देखाउने काम मात्र गरिरहेको छ । नेपालको पूर्व मेचीदेखि महाकालीसम्म ७० ठाउँमा भारतीय विस्तारवादले नेपाली भूमि कब्जा गरेको छ । सिमाना पक्की सडक बनाएर हेपाहा प्रवृत्ति देखाइरहेको छ । एकतर्फी किसिमले सिमानामा बनाइका बाँधहरूले नेपाली भूमि र गाउँहरू डुबानमा परेका छन् ।  लिपुलेकको घाउ पुरानै हो र आफ्नो भूमिलाई आफ्नो भनेवापत गत साल गोविन्द गौतमको हत्या भएको घटना नसेलाउँदै भर्खरै पनि कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा सोही प्रकृतिको घटना घटेको छ ।  नेपालभित्र लगाएको तारबार भारतीय प्रहरीले फ्यालेको छ र नेपाली नागरिकलाई कुटपिट गरेको छ । ओली सरकार भने केही बोल्दैन, मालिक भक्तिका लागि शब्द चयनमै मस्त छ । भारतीय राजदूतलाई नेपालमा राजनीति गर्न छुट दिने क्रममा  ओली सरकारले ५ करोड बोकेर राजदूततलाई नेपालको जुनसुकै कुनामा जान छुट दिएको छ ।  यो भन्दा विडम्बनाको स्थिति अरू के हुन सक्छ !

नेपाल भारतकै  प्रान्त हो र यहाँ आफूले चाहेअनुसार नै  चल्छ र  नेपाली जनता मेरो विरोधमा होइन, जयजयकारमा छन् भनेर मोदीले देखाउन खोजेको जस्तो लागे पनि मोदीको सुरक्षामा देखाइएको तामझामले आफ्ना कुकुत्यका कारण मोदी छिमेकी जनताबीच एकदमै अप्रिय छन् र उनी हरक्षण आफ्नो सुरक्षाप्रति बेचैन छन् भन्ने कुरा नै प्रस्ट भएको छ । अहिलेको सुरक्षाआतङ्ले यसै कुराको पुष्टि गर्छ । सत्य के हो भने केन्द्र तथा प्रदेशका सरकारले मोदीका सामु घुँटा टेके पनि नेपाली जनताले भने भारतीय विस्तारवादी प्रवृत्तिका विरुद्ध सदैव औला ठड्याइरहेका छन् र ठड्याइरहने छन् । 

हिजोका दिनदेखि नै भारतले यहाँको प्राकृतिक स्रोतसाधन र पानीमा आँखा गाडेको  हो । अपर कर्णालीपछि कोशी उच्च बाँध अनि अरूण कब्जा गर्ने उसको उद्देश्य हो । ‘मधेस एक प्रदेश’ को नारा त्यसै उसले अघि सारेको थिएन । अपर कर्णाली प्रचण्ड-ओलीले जिम्मा लगाएपछि कोशी उच्च बाँध र अरूणतर्फ उसले पाइला चाल्नु स्वाभाविक थियो । अहिले नयाँ आवरणमा ‘जलसन्धी’ का कुरासमेत आएका छन् ।   ओलीको दिल्ली भ्रमणमा कारणवस रोकिएको अरूण कब्जा गर्ने भारतीय योजनालाई अब ओलीले सफल बनाइदिने भएका छन् । भारतले निकै लामो  समयदेखि गरेको प्रयास यसपल्ट सफल हुने भएको छ ।

अरूण भारतलाई सुम्पने राष्ट्रघाती निर्णयको चौतर्फी विरोध हुनु स्वाभाविक छ । मोदी जनकपुरलाई आधार बनाएर नेपालको तराई, मूलतः मधेस भनेर चिनिने २ नम्बर प्रदेश र भारतको बिहारको राजनीतिमा पकड कायम गर्न चाहन्छन् र जानकी मन्दिर, पशुपतिनाथ  र मुक्तिनाथको यात्रामार्फत नेपालमा हिन्दूवादी अतिवादका लागि दिगो प्लेटफर्म तयार पार्न खोजिरहेका छन् । यो भन्दा पनि डरलाग्दो कामकुरो चिनियाँ भूमि तिब्बतसित जोडिएको किमाथान्काको नजिक रहेको  अरूण तेस्रो परियोजना हातमा लिएर भारत त्यस क्षेत्रमा लामो उपस्थिति कायम गर्न चाहन्छ । गाँठी कुरा यही नै हो । अरूणमार्फत नेपालको पानी र विजुलीमा हैकम  कायम गर्ने योजनाका साथ सामारिक उद्देश्य पूरा गर्ने भारतीय नियत रहेको कुरा दिनको घामजत्तिकै प्रस्ट छ । 

यस यथार्थलाई देशभक्त  र राष्ट्रिय स्वाधीनताप्रति सचेत नेपाली नागरिकहरू, राजनीतिक विश्लेषकहरू तथा  क्रान्तिकारी पार्टीहरूले बुझेका छन् र अरूण तेस्रो योजना भारतलाई सुम्पने सरकारी निर्णयको विरुद्धमा सडकमा पनि निस्केका छन् ।  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सम्झौता हुने दिन देशव्यापीरूपमा विरोधको कार्यक्रम राखेको कुरा जानकारीमा आएको छ भने नेकपा-विप्लवका पोलिटब्युरो सदस्य तथा पुर्वी कमान्ड इन्चार्ज अनिल शर्मा ‘विरही’ ले ‘अरूण–३ आयोजनाको विरोध किन ?’, शीर्षक लेखमा, “भारतीय प्रमं मोदी नेपाल भ्रमण गर्न समय लिएर होइन, उसको कुनै प्रान्तीय सरकारलाई निर्देशन गरेझैँ आफैँले समय घोषणा गरेर आफ्नै सवारीसाधन र सुरक्षाफौज लिएर आउने भएका छन् । उनी नेपाल आउनुको यस पटकको एक मात्र कारण अरुण ३ कब्जा गर्नु हो” भनेका छन् । अरूण परियोजना भारतलाई सुम्पने कार्यको विरोधमा नेपाली जनताको विरोध जारी रहने कुरा पनि उनले उल्लेख गरेका छन् ।

अरूण तेस्रो परियोजना भारतलाई सुम्पिने कुराको विरोधमा सङ्घर्षका कार्यक्रमहरूलाई अगाडि बढाउने कुरा त छँदैछ,  मोदीको सुरक्षाका नाममा भारतीयहरूले सामरिक क्षेत्रमै गरेको हस्तक्षेप र ओली सरकारको राष्ट्रिय आत्मसमर्पणकारी व्यवहार अझ बढी गम्भीर र चुनौतीपूर्ण छ । यसले नेपालको राजनीतिको खतरनाक यात्रातर्फको दिशालाई सङ्केत गर्छ  । राष्ट्रिय स्वाधीनता र जनतन्त्रको लडाइँ लडिरहेकाहरूका लागि यो थप चुनौतीको विषय हो ।

०००

 

 

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement