Sunday December 16, 2018 | |

उद्योगी व्यवसायीले ढुक्क भएर लगानी गर्ने वातावरण बन्छ : प्रचण्ड

featured-news

प्रतिक पौडेल, भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकारको मुख्य ध्येय नै समृद्धि भएकोले यसको आधार तय गर्न उद्योगी व्यवसायीले ढुक्क भएर लगानी गर्ने वातावरण छिट्टै तयार गर्ने बताएका छन् ।


‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ भैरहवामा सुरु भएको सातौं लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ को उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।


सो क्रममा अध्यक्ष दाहालले रुपन्देही जिल्ला आर्थिक चलायमानका हिसाबले ऐतिहासिक रहेको भन्दै लुम्बिनीलाई पर्यटनसँग जोडेर राष्ट्रको समृद्धि हासिल गर्न सरकार लागिपरेको बताए । लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक भित्र्याउन र उनीहरुको बसाई लम्ब्याउनका लागि म्यानमार, श्रृलंका लगायतका देशहरुसँग सिधै हवाई सम्बन्धका विषयमा छलफल गरिरहेको बताए ।


दश वर्षे द्धन्द्धकालबाट गुज्रेर शान्ति प्रक्रियासम्म आईपुग्दा देशमा थुप्रै उपलब्धि भएको स्मरण गर्दै प्रचण्डले लोकतान्त्रिक गणतन्त्र त्यसैको उपज भएको बताए । लोकतन्त्रलाई बलियो बनाउन र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सबै एकजुट हुनुपर्ने बेला भएको उनको भनाइ थियो ।


उनले रुपन्देहीमा संचालित राष्ट्रिय गौरवका आयोजनाहरु समयमा पुरा गर्न सम्बन्धित ठेकदारलाई निर्देशन समेत दिए । राम्रो काम गर्ने कम्पनीलाई पुरस्कृत र ढिलासुस्ती गर्ने निर्माण कर्ताहरुलाई दण्ड सजाय गर्ने प्रक्रिया सरकारले अगाडि बढाइसकेकोले यो समस्या केही हल हुने विस्वास व्यक्त गरे ।


अर्को प्रसंगमा उनले नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र हुनेछ भनेर नेपालको संविधानमा स्पष्ट उल्लेख गरिएको हुँदा धर्मको नाममा कुनै विवाद नल्याउन नेताहरुलाई आग्रह गरे ।


यस्तै, कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्रनम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घनश्याम भुषालले अहिलेको सरकारले देशलाई सही निकास दिन नसके अर्को विकल्प नेपालमा नभएको ठोकुवा गरे । उनले देशलाई समृद्ध बनाउने ठुलो जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा रहेको भन्दै जनताको भरोसा अनुरुप अहिलेको सरकार अगाडि बढिरहेको बताए । उनले प्रदेशको राजधानीको विषयमा नेताहरु सडकमा बोल्दै हिड्नु साम्प्रदायिकता भएको टिप्पणी गरे ।


संसदीय दलका प्रमुख सचेतक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले बहुमतका सरकारहरु पनि असफल भएको इतिहास कोट्याउंदै सरकारलाई दुई तिहारको दम्भ त्याग्न आग्रह गरे । उनले भने– कुनै समय राणाको पनि प्रसस्तै बहुमत थियो ।


कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमोद यादव, उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान, राप्रपाकाका बरिष्ठ उपाध्यक्ष दिपक बोहोरा, प्रदेशसभा सचेतक दधिराम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय, प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना, सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारी, उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधी तिवारी लगायतले बोल्दै रुपन्देही जिल्लाको विकासले नै सिंगो राष्ट्रको प्रतिनिधित्व गर्ने हुँदा यस जिल्लाका आयोजनामा संघीय सरकारले विषश ध्यान दिनुपर्ने बताए ।


संघका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षता तथा महासचिव नेत्र प्रसाद अचार्यको संचालनमा मेलाको उद्घाटन सत्र सम्पन्न भएको थियो । कार्यक्रमपूर्व विभिन्न झाँकी सहितको र्यालीले नगर परिक्रमा गरेको थियो ।


पुष १ गतेसम्म संचालन हुने मेलाामा मायादेवी पेभिलियन समेत २७५ स्टलहरु रहेका छन् । कृषि पेभिलियन तर्फ २०, हस्तकला तर्फ २५, औद्योगिक तर्फ ५५, होजेरी तथा गार्मेन्ट ६५, अटोमोबाईल तर्पm १३, बैक तथा वित्तिय संस्था ५, होटल तथा रेष्टुरेन्ट तर्फ १६, इलेक्ट्रोनिक्स ८, खाद्यान्न तर्फ १९, कस्मेटिक ४, शैक्षिक परामर्श, २, फुटवयर ९, स्वास्थ्य तर्फ २, पर्यटन तर्फ ७ वटा रहेका छन् । ११ दिनसम्म चल्ने मेलाामा २ लाख ५० हजार दर्शक ल्याउने र करिब १० करोडको कारोवार गर्ने आयोजकको लक्ष्य छ ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement