Friday November 16, 2018 | |

पार्टीकाे हस्तक्षेपले महाधिवेशन अन्यौलमा पर्यो : काफ्ले

featured-news

दशैं अघिसम्म व्यापक तातेको नेविसंघको महाधिवेशनको बहस हाल सुषुप्त अवस्थामा छ । पार्टीले उमेरहदको व्यवस्था गरेपछि शीर्ष नेताहरुले नैं केन्द्रीय समितिमा नोट अफ डिसेन्ट लेखेका छन् । शीर्ष नेताहरुको असहमतिपछि नेविसंघ महाधिवेशनबारे काँग्रेस र नेविसंघ दुबै प्रतिक्रियाबिहिन जस्ता देखिन्छन् । तर, नेविसंघ महाधिवेशन अन्यौलतामा पर्नुको मुख्य कारण पार्टीले निर्माण गरेको समन्वय समिति रहेको बताउँछन्– उक्त संगठनका महामन्त्री कुन्दनराज काफ्ले । प्रस्तुत छ– नेविसंघ महाधिवेशनको अन्यौलता लगायतका विविध विषयमा केन्द्रित रही काफ्लेसँग आजको न्यूज डट कम का लागि नरेश न्यौपानेले गरेको संक्षिप्त संवाद :


के अब नेविसंघको महाधिवेशन अनिश्चित बनेको हो ?

– नेविसंघले सर्वसम्मत रुपमा विधान निर्माण गरेर कात्तिकमा महाधिवेशन सम्पन्न गर्ने भनेर मिति नैं तय गरिसकेको थियो । केही सामान्य असमझदारीहरु भए पनि आन्तरिक छलफलका माध्यमबाट महाधिवेशन केन्द्रित गतिविधिहरु अघि बढिरहेका थिए । तर, अचानक पार्टीले पक्ष र विपक्ष छुट्याउने गरी उमेरहदको विषय पारित गरिदियो । पार्टीको त्यस निर्णयमाथि चारजना शीर्ष नेताहरुले असहमति जनाएर नोट अफ डिसेन्ट लेखेपछि महाधिवेशनबारे कुनै कुरा अघि बढेको छैन । त्यसकारण यस्तो अवस्थालाई अनिश्चित भन्ने कि निश्चित ? 


यसरी अधिवेशनबारे संगठन नैं अनिर्णयको बन्दी बन्नुको खास कारण के हो ?

– वास्तवमा हाम्रो स्थापना कालदेखिको परम्परालाई फर्केर हेर्ने हो भने नेविसंघको इतिहासमा यस्तो अनिश्चितता कहिल्यै आएको थिएन । पार्टी एकीकरणपछि पनि ११औं महाधिवेशनमा समेत पार्टीले निर्माण गरेको तत्कालिन निर्देशक समितिको परामर्शमा सहमतिमै प्रतिनिधिहरुको चयन गरिएको थियो । त्यतिबेला सहमति, छलफल र संवादकै आधारमा नेविसंघ आफैले नीतिगत निर्णयहरु गर्ने गर्थ्यो । तर यतिबेला नेविसंघको स्थापित मूल्य, मान्यता र परम्परा विपरित संगठन आफैले गर्नुपर्ने निर्णयमाथि पार्टीको समन्वय समितिले हस्तक्षेप गरेको छ । यतिसम्म कि नेविसंघ नेतृत्वसम्बन्धी उमेरहदको विषयलाई पार्टीको केन्द्रीय कमिटिमा लगेर बहुमतले पारित गरियो । शीर्ष नेताहरुले नैं नोट अफ डिसेन्ट लेख्ने परिस्थिति बन्यो । त्यसकारण यसरी समस्या सिर्जना गर्ने काम खासगरि समन्वय समितिले गर्यो । परिणामतः आज नेविसंघ आफ्नो निर्णय आफै गर्नसक्ने ठाउँमा छैन ।


तपाईहरुले उमेरहदको विषय अस्वीकार गरेका कारण संस्थापन पक्ष अधिवेशनबाट भाग्न खोजेको त होइन ?

– उहाँहरु अधिवेशन गराउन चाहनुहुन्न भन्ने केही संकेतहरु त देखा परेका छन् । मेरो विचारमा नेपाल विद्यार्थी संघमा उमेरहद लगाइनु वा नलगाइनु विषय कुनै ठूलो कुरा होइन । संगठनभित्र गहिरो छलफल हुन दिइन्थ्यो भने यसको सजिलै टुंगो लगाइन्थ्यो पनि । तर, आज हाम्रा अगाडिको मूल प्रश्न उमेरहदभन्दा पनि नेपाली समाजको राजनैतिक, शैक्षिक र सामाजिक एजेण्डाहरुमा संगठनलाई कसरी सशक्त बनाउन सकिन्छ भन्ने हो । उमेरहदको निर्णय नेविसंघ आफैले लगाउनुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ । हाम्रो विधान त हामी आफैले बनाउने होला नि । त्यसकारण हामीले उमेरहदको विषयलाई अस्वीकार गरेको अर्थमा नभई यसबारेको निर्णय हामी आफै गरौं भन्दै आइरहेका छौं ।


तर, पार्टीले गरेको निर्णय पनि त तपाईहरुले मान्नुपर्ला नि !

– पार्टीले गर्न त नेविसंघ नैं भंग गर्न पाउला । र, पार्टीलाई त्यो अधिकार पनि छ । तर, के त्यो सही हुन्छ ? देशभरिका साथीहरुले अब नयाँ ढंगले नसोच्ने हो भने नेविसंघ अघि बढ्न सक्दैन भनेर प्रकट गरिरहेका चिन्ता र चासोहरुलाई पनि त सम्बोधन गर्नुपर्ला नि ! त्यसैले लोकतन्त्रको पर्यायवाची मानिने हाम्रोजस्तो पार्टीले फेरि पनि नेविसंघभित्र लोकतन्त्रको कार्यान्वयन रोकिराख्छ भन्ने कुरामा मलाई विश्वास छैन । व्यक्तिगत रुपमा नेविसंघ बारे नेविसंघलाई नैं निर्णय गर्न दिइनेछ भन्ने कुरामा ढुक्क छु ।


उमेरहद कार्यान्वयन हुने नैं भयो भने व्यक्तिगत रुपमा तपाईलाई चाहिँ घाटा हुने देखियो है ?

– ममात्रै होइन । नेविसंघबाट देशैभरिको संगठनभित्रको ठूलो तप्का गुणात्मक र संख्यात्मक रुपमा संगठनबाट बाहिरिन्छ । यसबाट पार्टीलाई फाइदा होला कि घाटा ? यसरी बुझ्नुपर्छ । मुलुकमा कम्युनिष्टहरुको आततायी राज चलिरहेका बेला ऊर्जावान् यूवाहरुलाई नेविसंघबाट विदाइ गर्ने निर्णयलाई व्यक्तिसँग बुझेर विश्लेषण गरिनु हुँदैन । त्यसैले यो विषय मेरो व्यक्तिगत नाफा र घाटाको हुनै सक्दैन ।


उमेरहद खारेज भएर अध्यक्षको उम्मेदवार बन्ने परिस्थिति बन्यो भने तपाईले चुनाव जित्छ गाह्रो छ भन्छन् नि !

– नेविसंघमा २०५५ सालदेखि आजका मितिसम्म काम गर्दा मलाई यो कुरामा विश्वास छ कि देशैभरिका विद्यार्थी साथीहरुले नेविसंघको नेतृत्वमा शैक्षिक, राजनैतिक र सामाजिक एजेण्डाहरुको नेतृत्व गर्नसक्ने व्यक्तिलाई नैं निर्वाचित गर्नेछन् । म व्यक्तिगतभन्दा पनि एजेण्डाका आधारमा प्रतिष्पर्धा गर्ने हो । साथीहरुको मन जित्न सकेको खण्डमा १२औं महाधिवेशनपछिको अध्यक्ष म नैं हो ।


अन्तमा, आजको विद्यार्थी राजनीतिप्रति स्वयम् विद्यार्थीहरुमा नैं वितृष्णा बढ्नुकोे कारण के होला ?

– अत्यन्त गम्भीर प्रश्न उठाउनुभयो । वास्तवमा विद्यार्थी राजनीतिलाई विभिन्न तरिकाले कमजोर र स्खलित पार्ने काम विभिन्न पार्टीका विभिन्न किसिमका नेताहरुले गरिरहेका छन् । विद्यार्थी संगठनहरुको मूल नेतृत्वमा रहेकाहरुले पनि प्रभावकारी नेतृत्व दिन नसक्नु यसको अर्काे कारण हो । समयानुकूल परिवर्तन भइरहने एजेण्डाहरुले पनि नेतृत्व गर्नसक्ने व्यक्ति भेटाउन सकेनन् । अर्काेतर्फ विद्यार्थी राजनीतिलाई केवल नेता बन्नका निम्ति भर्याङ मात्र बनाउने प्रवृत्ति बढ्यो । गूट र स्वार्थका आधारमा जनवर्गीय संगठनको नेतृत्व निर्माण हुन थाल्यो । पार्टीका नेताहरुले पनि राजनीतिलाई प्रतिष्पर्धी बनाउने, सुधार्ने र योग्यलाई नेतृत्वमा स्थापित गर्नेभन्दा आफूअनुकूलका अयोग्यहरुलाई काखी च्याप्ने प्रवृत्तिका कारण आम विद्यार्थीहरुमा विद्यार्थी राजनीतिप्रति वितृष्णा बढेको सत्य हो । तर, परिस्थितिलाई सधैं यस्तै रहन दिनुहुँदैन, सुधार्दै लैजानुपर्छ ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement