Sunday December 17, 2017 | |

जनताको आशीर्वादले धेरै मतान्तरले जित्छुः गोकर्ण विष्ट (अन्तरवार्ता)

featured-news

नेकपा (एमाले)का सचिव एवं लोकप्रिय नेता गोकर्णराज विष्ट प्रतिनिधिसभाको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ वाम गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । विष्टले उर्जामन्त्री हुँदा गरेका काम आज पनि अधिकांश नेपालीको मनमस्तिकमा रहेको पाइन्छ । आम युवाकोे आशाका केन्द्र बनेका उनै विष्टसँग गुल्मीमा चुनावी प्रचारमा रहेकै समयमा इस्मा गाउँपालिकामा पुगेर गरिएको कुराकानीः

 

निर्वाचनको मैदानमा होमिनुभएको छ, तपाईँको मुख्य चुनावी मुद्दा के हो ?
गुल्मी जिल्लाका लागि केही महत्वपूर्ण ठूला राजमार्गहरु छन् । गुल्मी हुँदै प्यूठान, बाग्लुङ र अर्घाखाँचीसँग जोड्ने महत्वपूर्ण फरक फरक सडकहरुलाई दोहोरो बस चल्ने गरी कालोपत्रे गर्नुपर्नेछ । जिल्लाको प्रत्येक वडा र टोलसम्मका सडकहरुलाई व्यवस्थित गर्नुपर्नेछ । यहाँका सबै घरमा विजुली उपलब्ध गराई उज्ज्यालो प्रदान गर्नुपर्नेछ । प्रत्येक वडामा स्वास्थ्य उपचौकीलाई पुनः व्यवस्थित गरी स्थानीय जनताले सहज स्वास्थ्य सेवा पाउने गरी वातावण मिलाउनुपर्नेछ । प्रत्येक नगरपालिका र गाउँपालिकाकामा न्यूनतम् ५० शैयाको सुविधासम्पन्न अस्पताल निर्माण गरी आधारभूत स्वास्थ्य सेवा त्यहीबाट उपलब्ध गराउनुपर्नेछ । रेसुङ्गा, रुरु, मदाने, कलंकी, शालिमेदह, विचित्र गुफा र मालिका आदि क्षेत्रलाई पर्यटकीयरुपमा विकास तथा ऐतिहासिक मुसिकोट दरबार, इस्मा दरबार, धुर्काेट दरबारलाई संरक्षण गर्नुपर्ने छ । प्रत्येक घरलाई खानेपानी उपलब्ध गराउन मुहानको पानी हुने सम्भावना भएका ठाउँबाट तलबाट माथि डाँडोसम्म लिफ्टिङ् गरेर घरघरमा धारा हुने वातावरण गराउनुपर्नेछ ।

स्थानीय जनताले खेतबारीमा सिँचाइको सुविधा पाएका छैनन् । हामीले नहर र सिँचाइ आयोजना सञ्चालन र सम्पन्न गर्नुपर्नेछ । विद्यालयलगायत पुनः निर्माण गर्नुपर्ने सार्वजनिक भवनलाई प्राथमिकता दिनुपर्नेछ । विपन्नताका कारण विद्यालय जान नसकेका बालबालिकालाई सहजरुपमा विद्यालय जाने वातावरण अनुकूल गराउनुपर्नेछ । मूलत ः जनताका गरिबी, अभाव र बेरोजगारीका समस्या अहिले पनि यथावत छन् । जबसम्म जनताका यी आधारभूत समस्यालाई सम्बोधन गर्न सकिँदैन, तबसम्म मुलुकको आर्थिक समृद्धि हुँदैन । मुलुक खाद्य र कृषि उत्पादनमा आत्मनिर्भर नभएसम्म देशको राष्ट्रियता बलियो हुन सक्दैन । नेपाललाई विश्व मानचित्रमा गौरवशाली नेपालीको समृद्ध मुलुकका रुपमा चिनाउन आवश्यक छ । कृषकको जीवनस्तर माथि नउकासेसम्म, उनीहरुलाई सुविधा नदिएसम्म समृद्धि हुन सक्दैन । तबमात्र उनीहरुलाई सुखी र खुशी बनाउन सकिँदैन ।

GOKARNA_RAJ_BISTA_11111-2222222

हाम्रो जिल्लामा केही तामाखानी, ढुंगाखानीका सम्भावना छन् । स्थानीय रोजगारीका सम्भावनाका क्षेत्र विस्तार गर्नुपर्नेछ । जिल्लाको मेरो क्षेत्रमा आँपचौर नेपालकै ठूलो कफी बगान विकासका लागि राम्रो सम्भावनायुक्त पहिचान भएको क्षेत्र भएकाले यसलाई त्यसरुपमा अझ विकासका लागि हामी अगाडि बढ्नुपर्नेछ । यसैगरी यस क्षेत्रको भाँडगाउँ, नयाँगाउँ, मदाने, भाँडाडे, पिपलधारा, भनभने, धुर्काेटरस्थललगायतका स्थानमा व्यवसायिक सुन्तला, कागती र मौसम खेतीका लागि किसानलाई सहयोग गर्नुपर्नेछ । बडीगाड, निस्ती, छाल्दीलगायतका क्षेत्रमा नदीले कटान गरेको जनताको खेतीलाई तटबन्ध गर्दै क्षतिको संरक्षण र सहयोग गर्नुपर्नेछ । यस क्षेत्रको गुल्ममा सहिद लखन थापा अन्तर्राष्ट्रिय खेल मैदानको निर्माणको कार्य पूरा गर्नुपर्नेछ ।

जिल्लाका प्रत्येक सडकमा आवश्यकताअनुसार पुल जोड्ने गरी आयोजना समावेश गनुपर्नेछ । प्रत्येक गाउँ धूले बाटोले छ्वााइसकेका छौँ । तीन दर्जनभन्दा बढी पुलका योजनामा परिसकेको छ । तम्घास चौरासी प्यूठान भालसुवाङ सडक, रिडी रुद्रवेणी आँपचौर वामिटक्सार खर्वाङ सडक, तम्घास नयाँगाउँ पिपलधारा हाडाडे अर्घाखाँची सडक, राक्षे अमराई, दोहली, अमरपुर वाग्ला भनभने पुर्काेटदह सडकलगायतका दर्जनौँ मुख्य सडकहरुलाई पूर्णता दिनुपर्नेछ । यी सडकमा दोहोरो बस चल्ने गरी सडक कालोपत्रे बनाउनुपर्नेछ । जिल्लाबाट पोखरासम्म जोड्ने सडक पनि हामीले पूरा गर्नुपर्नेछ । बडिगाउँमा र्याफ्टिङ आयोजना अगाडि बढाउनुपर्नेछ । उत्तरगंगालाई सुरुङ खनेर विजुली निकाल्नुपर्नेछ ।

 

पूर्वाधार र सामाजिक विकासका कुराहरु गर्नुभयो तर निर्माण शुरु भएको धेरै वर्षपछि हालसम्म रेसुङ्गा विमानस्थल किन पूरा हुन सकेन ?
रेसुङ्गा विमानस्थललाई हामीले एक वर्षभित्र परीक्षण उडान तथा हवाइ सेवा हुने गरी आयोजना पूरा गर्नुपर्नेछ । मुख्यगरी छोटो अवधिमा किसानका आवश्यकता र सम्भावना बुझेर जनताको जीवनस्तर माथि उठाउने योजना ल्याउनुपर्नेछ । खरका छाना भएका घरलाई केही महिनाभित्र टिनको छानामा विकास गर्नुपर्नेछ । जनताको सुरक्षित अवासका लागि हामीले बजेट विनियोजना गरिसकेको छौँ । प्रत्येक वडामा खेल मैदान निर्माण गर्नुपर्नेछ ।

 GOKARNA_RAJ_BISTA_11111-2222222-3333333333

धेरै योजनाहरु चालू रहेको र आगामी दिनमा गर्ने कार्यक्रम पनि प्रस्तुत गर्नुभयो, जनतामा लोकप्रिय पनि देखिनुहुन्छ तर पनि यति धेरै मेहनत गरेर किन गाउँ गाउँ कुँदिरहनुभएको छ ?
म जनताका समस्या, चाहना र भावनालाई आफैले भेटेर सुन्न र देख्न चाहान्छु । म जनताका बीचमा पुग्दा आफूलाई ऊर्जा प्राप्त भएको महसुश गर्दछु । अर्काे कुरा जनताको आशीर्वादले अत्यन्त धेरै मतान्तरले निर्वाचन जित्न सकियोस् भनेर म मेहनत गरिरहेको छु ।

 

अहिले वाम तालमेल भएको छ, निर्वाचनपछि पार्टी एकता सुनिश्चित देख्नुहुन्छ ?
वाम तालमेललाई विस्तार गर्दै निर्वाचनपछि एउटै कम्युनिष्ट पार्टी र वाम आन्दोलन बनाउनुपर्नेछ । वाम एकता हुन नदिने तत्व र सामाजिक सद्भाव खल्बल्याउने तत्वसँग सचेत हुन जरुरी छ । जनताको जीवनस्तर बदल्नका लागि हामीले पार्टी एकतालाई एक साधनका रुपमा प्रयोग गर्नुपर्नेछ । जनताको जीवनलाई सकारात्मकरुपमा रुपान्तरणका लागि इमान्दार राजनीतिक प्रयास गर्नुपर्छ । अनिमात्र हाम्रो मुलुक समृद्ध हुन्छ । आर्थिकरुपमा सम्पन्न नभएसम्म हाम्रो राष्ट्रियताको संरक्षण पनि हुन सक्दैन । त्यसकारण जनताको जीवन बदल्ने हतियारका रुपमा राजनीतिलाई प्रयोग गर्नुपर्छ । राजनीतिक केवल सीमित व्यक्तिको स्वार्थको लागि, फगत गफका लागि होइन लाखौँ मानिसको हितका लागि हो भन्नेरुपमा हामी अगाडि बढाउन चाहान्छौ ।

 

चुनावी खर्च व्यवस्थापन कसरी गर्नुभएको छ ?
हामी मूलतः गाउँ गाउँमा केन्द्रित छौँ । जनताले खाने, बस्ने र सहयोग गर्नुभएको छ । जनताको माया र सद्भावले हाम्रो केही खर्च वचत भएको छ तर हरेक निर्वाचनमा उम्मेदवारको खर्च बढ्दो छ । मेरो सन्दर्भमा निर्वाचन आयोगतले तय गरेको सीमाभित्र रहेर नै खर्च गर्नेछु ।
                                                                                                                                                  प्रस्तुतिः प्रकाश सिलवाल ।

GOKARNA_RAJ_BISTA_11111

 

 

यसमा तपाईको मत

2 प्रतिकृयाहरू प्राप्त
  • Chintamani Pokharel लेख्नुहुन्छ    |   2017-12-04 06:36:57

    Shubha Kamana.


  • लेख्नुहुन्छ    |   2017-12-06 09:45:17





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement