Friday October 19, 2018 | |

प्राविधिक शिक्षामा व्यवहारिकताको खाँचो छ : पौडेल

featured-news

सेन्ट पल इन्टरनेशनल स्कूलका सञ्चालक समिति अध्यक्ष उपेन्द्रराज पौडेल विगत १० बर्षदेखि शिक्षाक्षेत्रमा क्रियाशील छन् । स्कूलका अतिरिक्त पौडेल प्राविधिक शिक्षा अध्यापन गराइने काठमाडौं स्कूल अफ टेक्नोलोजी, सहिद मेमोरियल इन्स्टिच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी र ओम सञ्जीवनी प्राविधिक डायग्नोष्टिक कलेजमा संस्थापक तथा सञ्चालकको भूमिकामा क्रियाशील छन् । प्रस्तुत छ, खासगरि प्राविधिक शिक्षाको क्षेत्रमा लामो अनुभव सँगालेका पौडेलसँग आजको न्यूजका लागि नरेश न्यौपानेले गरेको संक्षिप्त कुराकानी :-


एक अनुभवी शिक्षासेवीका नाताले नेपालको वर्तमान शिक्षाको अवस्था कस्तो लाग्छ ?
–नेपालमा शिक्षाको विकासक्रमको इतिहास गुरुकूलबाट सुरु हुन्छ भने यसमा विकासको आरम्भ दरवार हाइस्कूलको स्थापनापछि मात्रै भएको देखिन्छ । गुरुकूल कालमा केही सम्पन्न र उच्च घरानाका व्यक्तिहरुले मात्रै शिक्षा आर्जन गर्ने मौका पाएका थिए भने राणाकालमा चाहिँ राणाका सन्तानहरु र उनीहरुका निकटस्थहरुले मात्रै पढ्न पाउने सुविधा थियो । आज कुनैपनि नेपालीले शिक्षाबाट बञ्चित हुनुपरेको छैन । यस हिसाबले नेपालको वर्तमान शैक्षिक अवस्था एकदम राम्रो छ । तर शिक्षाको सुलभता भएपनि विडम्वनापूर्ण कुरा के छ भने आज नेपालमा शिक्षा हासिल गरेका विद्यार्थीहरुले विदेशमा भाँडा माझेर जीविका निर्वाह गर्नुपर्ने अवस्था छ । विद्यार्थीले प्रमाणपत्र पाउँछन् तर काम पाउँदैनन् । के हामीले विद्यार्थीलाई प्रमाणपत्र थमाउन मात्र शैक्षिक संस्था खोलेका हौं त ? त्यसैले शिक्षाको पाठ्यक्रममा विद्यार्थीलाई आत्मनिर्भर बनाउने विषयहरु समेट्न जरुरी छ । शिक्षालाई व्यवहारिक बनाइनुपर्छ ।


तपाईले संकेत गरेजस्तै सरकारले नयाँ पाठ्यक्रम ल्याउँदैछ । त्यसमा तपाईको राय के हो ?
–त्यो मैले पनि सुनेको छु । नयाँ पाठ्यक्रम निर्माणमा खटेका सरोकारवालाहरुले सबभन्दा धेरै कस्तो शिक्षाले नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ र राष्ट्रको विकासमा योगदान दिन सकिन्छ भन्ने बारे सोच्नुपर्दछ । म तपाईलाई मेरो नेदरल्याण्ड जाँदाको अनुभव सुनाउँछु –त्यहाँ हरेक बच्चालाई ३ देखि १० बर्षको उमेरसम्म उसको पढ्न चाहेको विषय वा रुचि मात्रै बुझ्न विशेष कक्षाको व्यवस्था गरिएको हुँदोरहेछ । उसको इच्छाएको विषय पहिचान भएपछि मात्र सम्बन्धित विषयमा भर्ना गरिँदो रहेछ । मन परेको विषय पढ्न पाएको विद्यार्थीलाई मात्र दक्ष जनशक्तिको रुपमा विकास गर्न सकिने मान्यताका आधारमा यस्तो गरिने रहेछ । त्यसैले हाम्रो नयाँ बन्ने शैक्षिक पाठ्यक्रम पनि त्यस्तो होस् जसले विद्यार्थीलाई सिपालु, दक्ष एवम् सक्षम बनाउन मद्दत गरोस् । आजको आवश्यकता व्यवहारिक शिक्षा हो ।


तपाई आफै प्राविधिक शिक्षाको क्षेत्रमा आवद्ध हुनुहुन्छ । नेपालमा प्राविधिक शिक्षाको अवस्था कस्तो छ ?
–जसरी नेपालमा गुरुकूलदेखि शिक्षाको औपचारिक विकास हुँदै आयो त्यसैगरि प्राविधिक शिक्षाको पनि आफ्नै इतिहास छ । नेपालमा खासगरि वैद्यखानाको स्थापनापछि र अझ वीरशमशेरले वीर अस्पताल स्थापना गरेपछि प्राविधिक शिक्षाको आरम्भ भएको मान्न सकिन्छ । पछि टिचिङ अस्पतालले २०३०÷३२ सालतिर हेल्थ सहायक र सहायक परिचारिका पढाउन सुरु गरेदेखि आज स्नातक र स्नातकोत्तरसम्म केही महत्वपूर्ण विषयमा नेपालमै मेडिकल साइन्स पढ्न पाइन्छ । विभिन्न विश्वविद्यालयले यस्तो शिक्षाको थालनी गरेका पनि छन् । तर प्राविधिक शिक्षामा पनि के बिडम्वना देखिएको छ भने यहाँ अध्ययन गरेका चिकित्सकहरु अन्तर्राष्ट्रिय बजारमा बिक्न सकिरहेका छैनन् । नेपालबाट एम.वी.वी.एस. गरेर विदेश गएका डाक्टरहरु अरुको पसलमा काम गरिरहेका देखिन्छन् । त्यसैले पढाएर वा उत्पादन गरेर मात्र केही हुँदैन, व्यवहारमा त्यो देखिनुपर्यो । शैक्षिक संस्थाहरुले यो कुरा बुझ्नुपर्दछ ।


तपाईहरुले प्रदान गरिरहेको प्राविधिक शिक्षा कत्तिको व्यवहारिक छ त ?
–हामीले हाल स्वास्थ्य सहायक (एच.ए), स्वास्थ्य परिचारिका (स्टाफ नर्स), ल्याव टेक्निसियन, रेडियोग्राफी, डी फार्मेसी र टी.एस.एल.सी. जस्ता प्राविधिक विषयहरुको अध्यापन गराइरहेका छौं । हामीले यसका अलावा कृषि र वनविज्ञान जस्ता कार्यक्रमहरुलाई समेत अध्यापन सुरु गर्ने योजना बनाइरहेका छौं । हाम्रो अधिकतम प्रयत्न अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको शिक्षा प्रदान गर्ने रहेको छ । हामी प्रमाणपत्र मात्रै होइन, विद्यार्थीको व्यवहारिक जीवनमा त्यसको सकारात्मक र राम्रो प्रभाव चाहन्छौं ।


अन्त्यमा, विद्यालय शिक्षामा सुधार गर्न के गर्नुपर्ला ?
–विद्यालय शिक्षाका लागि आजको आवश्यकता तालिमप्राप्त शिक्षकको हो । नेपालको सन्दर्भमा त अझ यहाँ अभिभावकहरुलाई पनि अभिमुखीकरणको आवश्यकता देख्छु मैले । विना तालिम वा अनुभव पढाउने शिक्षक र सन्तानको इच्छाबेगरको विषयमा भर्ना हुन दवाव दिने अभिभावक दुबै दक्ष जनशक्ति उत्पादनका विरुद्ध हुन् । विद्यालय शिक्षाको नियमनमा पनि कडाइ गरिनुपदएछ । राष्ट्रलाई आवश्यक पर्ने शिक्षाको पहिचान गरेर मात्रै विद्यालयको पाठ्यक्रम निर्माण गर्नुपर्दछ । सरकारी विद्यालयमा अझ गुणस्तरीय शिक्षाको निम्ति सरकारको कडा निगरानी आवश्यक छ ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement