Sunday December 16, 2018 | |

विचार र व्यवहारमा तादात्म्यता आवश्यक

featured-news

सुमन आचार्य ।  


समाजमा कुनै मान्छेबीच उँच र निचको सम्बन्ध बन्न नदिएर समान हैसियत निर्माणका निम्ति कम्युनिज्मको विकास भएको मानिन्छ । मान्छे मान्छेका बीचमा गरिब र धनी वा ठूलो र सानो विभेद अन्त्य गरेर मात्रै समानतामूलक समाज निर्माण गर्न सकिन्छ भन्ने मान्यता नैं कम्युनिष्ट विचारधारा हो । खासगरि वर्गविहिन समाजको परिकल्पना गर्दै कम्युनिष्ट विचारका प्रवर्तकहरु मार्क्स, लेनिन, स्टालिन र माओ लगायतका विश्वविख्यात नेताहरुले जीवनभर संघर्ष गरे । तिनै नेताहरुले उत्पादन गरेको समाज परिवर्तनका विचारहरु नैं आजका वादका रुपमा विकास भएका हुन् ।


संसारभर आज खूब चर्चामा रहेको समाजवादको पृष्ठभूमि नैं कम्युनिष्ट इतिहास निर्माणमा जीवन नै अर्पण गरेका ती नेताहरु र तिनका विचारहरु हुन् । यिनै विचारहरु आज संसारका विभिन्न देशमा त्यहाँका बेग्लाबेग्लै मोलिकतासँग साक्षात्कार गर्दै फैलिरहेका छन् । भिन्नभिन्न देशमा भिन्नभिन्नै कोणबाट कम्युनिष्टहरुले क्रान्तिहरु थालनी गरेका र सम्पन्न गरेका हुन् । देशैपिच्छे क्रान्तिको प्रकृति फरकफरक भएपनि सबैखाले क्रान्ति र सबैतिरका कम्युनिष्ट पार्टीको मूल मान्यता आआफ्नो समाजमा समाजवादी शासनप्रणालीको विकास गर्नु नैं हो ।


पछिल्लो समय नेपालमा कम्युनिष्टहरुले हासिल गरेका सफलता र सम्पन्न क्रान्तिको केन्द्रीय कार्यभार भनेको पनि विश्व कम्युनिष्ट आन्दोलनको निष्कर्ष मानिएको समाजवादी व्यवस्थाको कार्यान्वयन नैं हो । यसको कार्यान्वयनका निम्ति नेपालमा कम्युनिष्टहरुले लामो समयसम्म राज्यसत्तामा आफ्नो नियन्त्रणको खोजी गरे । नेपाली कम्युनिष्टहरुले कयौं नेता कार्यकर्ताहरुको बलिदानी, त्याग र संघर्षका विचारबाट हाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सत्ता सञ्चालनको अवसर समेत प्राप्त गरेका छन् ।


सुरुवातमा बन्दुकको नालबाट राज्यसत्ता कब्जा गर्ने र सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्न झापा विद्रोह उठान गरियो भने पुनः जनयुद्धका नाममा अर्काे संघर्ष गरियो । तर झापा विद्रोही धार अलि शीघ्र र जनयुद्ध धार केही ढिलो गरी भएपनि रसियन र चिनियाँ विचारधाराको नक्कल त्यागेर नेपाली मौलिकतामा प्रवेश पनि गरेका छन् । कम्युनिष्ट आन्दोलनका दुबै धारले समाजवादी कार्यक्रम कार्यान्वयनका निम्ति जब आफ्नै मौलिकतामा जोड दिन थाले, तब उनीहरुबीच एकजुट भएर क्रान्तिको केन्द्रीय कार्यभार पूरा गर्ने सहमति पनि बन्न सक्यो । फलस्वरुप दुई धारबीच एकीकरण नैं भयो र एउटै कम्युनिष्ट पार्टी नेकपा बन्यो ।


नेपालमा सत्ताको बागडोर कम्युनिष्ट पार्टीको नियन्त्रणमा पुगेपछि कम्युनिष्टहरुको दर्शन र व्यवहारलाई दाँजेर पार्टी नेतृत्वको परीक्षा सुरु भएको कोणबाट बहस आरम्भ भएका छन् । हिजो कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने पुराना शासकहरु मात्र होइन, स्वयम् कम्युनिष्ट पार्टीभित्र नैं विचार र व्यवहारमा तादात्म्यता नमिलेको भनेर प्रश्नहरु उठिरहेका छन् । आज नेपाली समाजमा उठिरहेको केन्द्रीय प्रश्न यही हो कि के कम्युनिष्टहरु आफ्नो दर्शन र विचार बमोजिम व्यवहारमा लागु गर्न सक्छन् ?


खासगरि हिजो जहानियाँ राणाशासन राजतन्त्र र सामन्ती संस्कारको कडा विरोध गरेका कम्युनिष्ट नेताहरु नैं भड्किलो संस्कृति, सामन्ती व्यवहार र उस्तै सान, ठाँटबाँट र सुविधाको खोजी गरिरहेको सन्दर्भले यस प्रश्नलाई भयंकर पेचिलो बनाइरहेको छ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुमा हुर्किदै गएको व्यवहार पुराना पञ्च, मुखिया र भलादमीहरुको भन्दा भिन्न नदेखिनुले के हामी पुराना पञ्च फ्याँकेर नयाँ पञ्च जन्माउन खोजेका छौं ? भन्ने प्रश्न उब्जाएको छ । हिजो संघर्षका बेला पार्टीले उठाएका न्याय, समानता र वर्गविहिनताका सवाल झन्झन् ओझेल पर्दै गएका छन् । समाजको नेतृत्वमा कम्युनिष्ट पार्टी पुगिसकेपछि पनि अन्याय र असमानता व्यापक चुलिने र वर्गीयताको खाडल झन् गहिरो गरी गाडिन खोज्नुले हाम्रो मूल दर्शनबाट हामी च्यूत भइरहेको पुष्ठि गर्दछ ।


आज स्वयम् कम्युनिष्ट पार्टीभित्र नेता कार्यकर्ताको बिचमा वर्गीय अन्तर बढ्न थालेको छ । मूल नेतृत्व राजतन्त्र कालको ठाँटबाँट देखाउँछ । कार्यकर्तामा चाकरी र चाप्लुसी संस्कृति बढिरहेको छ । समाजमा योग्यताको कुनै कदर हुदैन । कम्युनिष्टहरुको कुनै धर्म नहुने भनेर प्रशिक्षण दिनेहरु आफै परम्परागत धार्मिक जडतामा फसेका छन् । वास्तवमा पूँजिवादी संस्कृतिका कट्टर आलोचकहरु आफै पूँजिवादी जस्ता बन्दै गएका छन् । परिस्थिति पनि यदि यही ढंगले पश्चगमनतिर अघि बढिरहने हो भने कम्युनिष्टहरु काँग्रेसीहरुजस्ता मात्र होइनन्, राजाजस्ता लाग्दै जानेछन् । त्यसकारण सिद्धान्त र दर्शन एकातिर राखेर व्यवहार अर्काेतिर प्रदर्शन गर्ने हो भने आजको कम्युनिष्ट आन्दोलनको भविष्य कस्तो होला ?


नेताहरुका व्यवहार र प्रस्तुतिबाट राजतन्त्रको सम्झना र कार्यकर्ताबाट पुराना पञ्चहरुको हुकुम आदेश र शोषण याद दिलाइने गरी भइरहेका प्रयत्नहरुको अन्त्य नगर्ने हो भने नेकपा संकटमा पर्ने देखिन्छ । हिजो राजाको निरंकुशताका विरुद्ध रगतको खोलो बगाएको नेपाली समाज परिवर्तनका नाममा अर्काे निरंकुशता स्वीकार्न नसक्ने वास्तविकता नेकपाले बुझ्नुपर्छ । आजको नेतृत्वले आफ्ना प्रत्येक गतिविधिहरुमा समाजवादी संस्कृतिको अनुकरण गर्नुपर्दछ । मुलुकभर प्रगतिशील समाज निर्माणको पक्षमा समाजवादी संस्कृति अनुरुपको मोडेल विकास गर्नमा जोड दिइनुपर्दछ । यसको थालनी सत्ताको मूल नेतृत्वबाट आरम्भ गर्नुपर्दछ ।


संविधान नैं समाजवाद उन्मुख भनिसकेपछि समाजलाई समाजवादउन्मुख बनाउन नीतिले नबाँधिरहेको अवस्था छ । मुुलुकमा समाजवाद केन्द्रीय कार्यभार बोकेको कम्युनिष्ट पार्टीको सत्तामा नियन्त्रण छ । देशभरि सत्तापक्षीय जनमत छ । के यसरी सबै कुराको तादात्म्यता मिलेको सत्ता कहिल्यै बनेको थियो ? त्यस्तो हो भने आजको सत्ता किन पूँजिवादीहरुको पक्षपोषणमा लागिरहेको जस्तो देखिन्छ ? यसको तत्काल करेक्सन गरेर अघि बढ्नुको विकल्प छैन । यसका लागि सबैभन्दा पहिले विचार र दर्शन अनुरुपको व्यवहार आवश्यक छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement