Friday November 16, 2018 | |

यस्तो हुनसक्छ विकासको मौलिकपन

featured-news

सुमन आचार्य । चिनियाँहरुले विकासको मोडलको रुपमा ‘एक बेल्ट, एक उत्पादन’ को नीतिलाई अगाडि सारे भने भारतीयहरुले केवल ऊर्जा उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर विकासको यात्रामा फड्को मार्ने योजना बनाए । यही कारणबाट नेपालमा पनि उनीहरुकै लहलहैमा लागेर विकास र समृद्धिका नाराहरु तय गरिए ।


जुम्लाका स्याउ र सर्लाहीका गोलभेँडाका निम्ति बजार खोजिदैन । स्याउ भैंसीलाई खुवाउनुपर्ने र गोलभेँडा बाटोमा मिल्काउनुपर्ने यथार्थलाई नेपाली सत्ताले कहिल्यै आत्मसाथ गर्न सकेन । मधेशमा हजारौं विगाह जग्गा बाँझो राखेर भारतबाट आयात गरिएको अन्नले धानेको मुलुक हो हाम्रो । चीनले जसरी सजिलै ‘एक बेल्ट, एक उत्पादन’ भन्छ, त्यसो हाम्रा लागि सहज छैन । चीनले आफूसँग जमिन भएर त्यसो भनेको हो, तर हामीसँग जमिन छैन । यहाँ जमिन सरकारको छैन, जनताको छ । भारतकै ऊर्जा उत्पादनको नक्कल पनि हाम्रा लागि घातक नैं हुन्छ । त्यो केबाट पनि प्रष्ट छ भने भारतले हामीलाई प्रतियुनिट १२ रुपैयामा बिजुली बेच्छ भने हामीले उसलाई बेच्दा ७ रुपैयाभन्दा धेरै दिँदैन । यसकारण नेपालमा चिनियाँ र भारतीय मोडलको विकासको नक्कल गर्नुको कुनै अर्थ छैन ।


हाम्रो देशको विकास पछि पर्नुको अर्काे कारण के हो भने– हामीले हाम्रा सहयोगी र दाताहरुबाट कहिल्यै सीप सिकेनौं र लिएनौं । केवल ऋण लियौं । प्राप्त ऋणको सदुपयोग गर्ने सीप नभएर टाउकोमा ऋण मात्रै थोपरियो, विकास भएन । यति मात्रै कहाँ हो र ? जसरी दाताबाट सीप, कौशल र प्रविधि नलिएर केवल अनुदानमा चित्त बुझायौं, त्यसरी नैं आफ्ना जनताहरुमा पनि सीपको साटो ऋण वा अनुदान दिन थाल्यौं । जसरी दाताहरुले हामीलाई कहिल्यै सीप हस्तान्तरण गरेनन्, त्यही शैलीमा हामीले मुलुकको यूवा पंक्तिलाई ज्ञान र सीप दिन सकेनौं । बरु ऋण दिने र भत्ता दिनेजस्ता मजाकहरु उडाउँदै गयौं ।


आजका हाम्रा विकासबारेका नाराहरु तरकारी खेती, नगदेबाली, सिँचाइ.... यस्तैयस्तै छन् । तर कुन माटोमा के फल्छ ? कसरी फल्छ ? फलेपछि बजार कहाँ छ ? माटो नहुनेले के गर्ने ? जस्ता प्रश्नहरुको नारा दिनेहरुसँग उत्तर छैन । यसकारण सरकारले जनतालाई जमिन उपलब्ध गराइदिएर आम्दानी बढाऊ भन्न सक्नुपर्दछ । यसबाट नागरिकको आम्दानी पनि बढ्ने र राज्यलाई कर पनि आउने दोहोरो फाइदा हुन्छ ।


सीपसँग जोड्नैपर्छ


आजको विकास र अग्रगतिका निम्ति व्यक्ति होस् वा राज्य, सीपलाई पहिलो प्राथमिकतामा नराखी सुखै छैन । तर यहाँ पनि पश्चिमाहरुले हामीलाई हस्तक्षेप गरिसकेका छन् । उनीहरु फेसबुक, यूट्युब, स्काइप, भाइबरजस्ता उत्पादनहरुले भएको सीप पनि मारिदिएर ‘पोर्नसाइट’ हेर्न उद्दत बनाइरहेका छन् । आज पोर्नसाइट हेर्न भुलिएका हाम्रा यूवाहरुले विकासको परिभाषा नबुझ्ने खतरा बढेको छ । यसकारण पश्चिमाहरुले उत्पादन गरेको प्रविधिको सकारात्मक प्रयोग अति जरुरी भइसकेको छ । २४ घण्टा सामाजिक सञ्जालमा रमाउने यूवाहरुलाई विकासका प्राविधिक योजना बनाएर व्यस्त बनाउन सक्नुपर्दछ । नत्र यूवाहरु पोर्न मात्र हेर्नेछन्, सीप सिक्ने छैनन् ।


नेपाल आफैमा मौलिक सीप, कला र संस्कृति भएको मुलुक हो । हाम्रा कयौं परम्परागत सीपहरुको विस्तार गर्ने हो भने पनि हाम्रो विकासको यात्रामा टेवा पुग्नेछ । हामीले हामीसँग कृषि, पर्यटन, जल लगायतका विकासका पूर्वाधार छन् भनिरहेका छौं तर हाम्रो प्राथमिकतामा कहिले कुन पूर्वाधारलाई पार्ने र विकास गर्ने भन्ने तय गर्न सकेनौं । कला, संस्कृति, सीप तथा पूर्वाधारहरुको विकासका लागि नीतिगत व्यवस्था गर्न नसक्नुले हामीलाई झन्झन् पछि धकेल्दैछ ।


खासगरि हाम्रो विकासका नेतृत्वकर्ताहरु हाम्रो आफ्नै दर्शनभन्दा पश्चिमा विकासे शैलीको नक्कल गर्ने प्रवृत्तिका भएकाले समस्या बढेको हो । दाता खोजीखोजी दलाली गर्ने तर आफ्ना मौलिक सम्भावनाहरुबारे ध्यानै नदिने संस्कृतिले हामीलाई नक्कल मात्रै सिकायो । नेपाली समाजको परम्परागत ज्ञान र सीपलाई आधुनिकतासँग जोडेर अगाडि बढ्न सक्नु मात्रै हाम्रो आफ्नै विकासको मोडल हो । साथसाथै, पश्चिमाहरुभन्दा आफ्नै देशको माटो र सोही माटोले उब्जाएका विज्ञ मात्रै विकासको मौलिकपनका सहयोगी बन्न सक्नेतर्फ सचेत बन्नुपर्दछ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement