Friday November 16, 2018 | |

तिम्रो सम्झनामा

featured-news

- वेदप्रकाश तिमिल्सैना

प्रिय तिम्रो सम्झना बारम्बार आइरहन्छ ।  अचेल त झन तिम्रो सम्झनाले निकै सताइरहन्छ । मेरो वाल्यकालका महत्वपुर्ण पलहरु तिमीसंगै बितेका भएर पनि यस्तो भएको हुनसक्छ । बाल्यअवस्थाका त्यस्ता केही थोरै यस्ता सम्झनाहरु हुँदारहेछन् जो जिवनभर नै जिवन्त बनिरहँदा रहेछन् । तिमीसँगका ती पलहरू पनि त्यस्तै सम्झनाहरु हुन्, जुन आजपनि झन् गाढा बनेर आँखा अगाडी घुमिरहन्छन् ।


एक दुई पटक होइन प्राय सधैं सम्झनामा वयली खेल्न आउँछन, ति सम्झनाहरु ! नेपालगञ्ज आउनु अघि अछामको कुईका स्थित वरपिपल र बुढेली इजरको शेरोफेरोमा बितेको बाल्यकाल कम रमाइलो थिएन । मेरा दाैंतरीहरु स्कुल जाने पनि थिए, स्कुलमा पाइला नटेकेका पनि थिए । दौंतरीमा तिमी अली खास र विशेष थियौ, त्यसैले त आज पनि तिम्रो उत्तीकै यादले सताउँछ मलाई ।


त्यो बेला पहाडमा चार पाँच वर्षको उमेरमा स्कुल जाने बालबालिकाको संख्या औंलामा गन्न मिल्ने हुन्थ्यो । त्यसरी औंलामा गन्न मिल्नेमा म पन पर्थें । कक्षा बढ्दै स्कुल फेर्दै गर्दा स्कुले साथीहरुसंग सम्वन्ध बन्ने र भत्किने क्रम चलिरहयो । तर तिमी सँङगको सम्बन्धमा भने कहिल्यै तल माथी भएन । अझ स्कुल विदाको बेला गोठालो जाँने क्रममा तिमिसङ्ग बनेको सम्बन्ध त झन गहिरो माया – प्रेममा नै परिणत भयो ।

 

कुईका गाड र चिन्नेखोलाका डम्ममा तिमीलाई साँची राखेर पौडी खेलेको अनि तिमीसँङ्ग रमाइलो गरेको अहिले पनि मेरो सम्झनाबाट टाढा छैन । स्कुलमा विदा हुँदा त म झन तिम्रै नजिक हुँन्थे । मेरा धेरै बर्षे विदा , दशैं तिहारका विदा र शनिवारको विदामा तिमी मात्रै मेरो साथी थियौ । तिम्रा केही हर्कतले मैले निकै सास्ती पनि भोग्नु परेको थियो । सास्ती खेपे पनि तिमिसंगको निकटतामा त्यसले कहिल्यै कुनै असर पारेन । तिमी मेरा लागी निकै प्रिय थियौ, जहिले पनि ।

 

म तिमीलाई अती धेरै माया गर्थें र गर्छु पनि । तिमिसंगको त्यो समय मेरो मानसपटलमा आज पनि ताजा नै बनेर घुमिरहन्छ । कुइका ९ साविकको अछामको कुइका गाविसमा बस्ने अनुकुल स्थिती नभए पछि तिमीसंग टाढिएको थिएंँ । कुईका बाट विदा हुँदै गर्दा नयाँ नेपालको कल्पना गर्ने केहि फटाहाहरुले अरु समान संगै तिम्रो तस्विर समेत हामीबाट लुटेर लगे । न्यास्रो मेट्नका लागी तिम्रो तस्विर पनि थिएन मसँग ।

 

तिमीसंग विछोड भएको पनि आज ठयाक्कै २० बर्ष पुरा भयो । पछि स्थिती अलि अनुकुल भए पछि २०६३ साल तिर मैले तिम्रा बारेमा गाउँमा पुगेर सोधखोज गरें । तर तिम्रो मृत्यु भर्इृसकेको खवर सुनें म रोएँ पनि । तिमी यो संसारमा नभएको खबरले गहिरो चोट पुग्यो । म तिमीलाइ भेट्नलाई आतुर थिएं । त्यो दुखद खवरले मेरो बाल्यकालको तिमीजस्तो प्रियसंग भेटने अभियानमा ठेस पुग्यो । तिमी अरुका लागी अराजक थियौ । कहिल्यै हिंस्रक पनि बन्थ्यौ । तर मेरो सामुन्नेमा भने तिमी निकै सोझो बन्ने प्रयास गथ्र्यौ । दुख दिएपछि धेरै पटक मैले तिमीलाइ पिटें पनि तर तिमि त्यसलाई सहजै लिन्थ्यौ ।

 

सणाकोट , गाउँखेत , बुडेलीइजर र कुइका गाडको सेरोफेरोमा तिमीसंगका मिठा क्षणहरु सम्झनाको तरेलीमा बयली खेल्न आउँछन,आजपनी । कुईका गाडको सेरोफेरो लाटीफाले, रान, कालीफालेका सम्झना अहिले पनि ताजा छ्न । कोट बर्खा बाटोमा बाख्रा चराउने क्रममा तिमी र मसंगै भएको त्यो पलको सम्झना अहिले पनि मेरा आँखामा नाचिरहेको छ । एक्लै एकान्तमा तिमीसंग वितेका ति दिन हरु सम्झेर भावुक हुन्छु प्रिय । तिमि आफना समकालिन हरु भन्दा अव्वल , सुन्दर र स्मार्ट थियौ । तिमीलाइ देखेपछि सबै लोभिन्थे । तिमि यस धर्तीमा नभए पनि तिमीप्रतीको मायामा कुनै कमी आएको छैन । हरपल तिमि मेरो सम्झनामा छाउँछौ ।

 

तिम्रो हिंडाइ डुलाइ मेरो स्मृतीमा अझै ताजा छ । अनी आफना साथीहरु संग झगडा गर्ने तिम्रो वानी लाइ पनि मैले कहाँ विर्षन सक्छु र ? सणाकोट को सेरोफेरोमा तिमिलाइ कसैले चुनौती दियो भने स्विकार गरेर तिमी प्रतिष्पर्धाका लागी तयार हुन्थ्यौ । तिम्रो झगडा गर्ने बानीले कहिले काहीं मलाई समस्यामा पाथ्र्योै । कहिलेकाहीं म आफैले अरु संग झगडा गर्न तिमीलाइ हाैंसाएको पनि अहिले झलझली याद आइरहेको छ । प्रिय तिम्रो सम्झना नमेटीने गरी छापिएको छ,मेरो मनमा । कहिले गाउँ कुइकातिर गएर सणाकोट र कुइका गाडको सेरोफेरोमा पुग्दा तिमि संग वितेका ति दिनहरु स्मृती मा ताजा भैजान्छन् । बुडेली इजर , सणाकोट , कुइका गाड र गाउँखेतको सेरोफेरोमा एक समय तिमि र म संगै हुन्थ्यौ प्रिय ।


आज तिमि र म डुलेका, हिंडेका र रमाएका ति ठाउँ जस्ताका त्यस्तै छन तर तिमि छेनौ । तिमि अव समझनामा सिमित छौ र अहिले पनि गाउँमा तिम्रो जवानीको जमानाका कुरा धेरै हुन्छन । बाल्यकालमा तिम्रो नजिक भएकाले होला मसंग धेरैले तिम्रा बारेका कुरा गर्दछन् । साँच्चै तिमि त तिमि थियौ । तिमि जस्तो कोही हुन सक्तैन । तिमि जस्तो कोही हुँदैन । कोही छैन प्रिय । अहा कठै कुइकामा तिमीसंगका ति दिनहरु कम्ता रमाइला थिएनन । कठै ती क्षणहरुको अहिले झन गहिरो याद आइरहेछ ।


म पनि तिम्रो सुन्दरतामा घमण्ड गर्थे । अनि आफना समवयीसंग फुई लगाउन पछि पर्दैनथे । किनकी तिमी त तिमी थियौ तिम्रो चर्चा गर्दा मेरा अरु वालसखाहरुले मेरो कुरामा सहमत नभएर सुखै थिएन । तर वर्तमानमा तिमी केवल सम्झनामा मात्र सिमित छौ । अव म सँग केवल तिम्रो सम्झना मात्र वाँकी छ । तिमीलाई याद गर्ने धेरै छन । बिछोड्को २० बर्ष पछि पनि तिमी मेरो मात्र होइन हामी धैरैको सम्झनामा जिवित छौ । म मात्रै होइन मेरो परिवार अनि पुरै बरपीपल सौणा (टोल) का बासिन्दा खनेनादेखी बुडेलीइजर हुँदै खारेबाट, कालीकाथानसम्म र नावखेत देखी ढकालटोल हुँदै बुकानेसम्मका सबै तिमीलाइ खुब याद गर्छन ।


तर समयले हामीबाट तिमीलाइ यसरी टाढा पुर्यायो की, नियतीले तिमीलाई मात्रै होइन तिम्रो तस्विर समेत हामीबाट खोसेर लग्यो । तर मन र मुटुमा खिचेको तिम्रो तस्विर भने आज पनि हाम्रै साथमा छ । तिमी नभए पछि कागजको खोष्टाको के काम ? आखिर मनको क्यामराले खिचेको तस्विर भने न च्यातिने गरि साँचेर राखेको छु । प्रिय रते बल्ल (गोरु) आज गोर्वधन पुजा अर्थात गोरु तिहारमा धेरै धेरै सम्झना छ । यस अवसरमा तिमीप्रती हार्दिक श्रदाञ्जली अर्पण गर्दै तिम्रो आत्माले शान्ती पाओस यही कामना छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement