Thursday January 17, 2019 | |

कविता : तुइनको यात्रा

featured-news

–नवराज पौडेल   

 


त्यो बेला
म बाटोको एक यात्री
तिमी निर्विकल्प सारथी !
जुनबेला
आँधी चलेको थियो
पहिरो लडेको थियो
भेल बगेको थियो विछोडको !
मेल टुटाएर मित्रको !
तर्ने सामथ्र्य नहुँदा
छुट्टिएका थिए बाटाहरु !

 


बेप्रबाह उर्लिएको त्रिशुली
काली होस् वा कर्णाली
खहरे हुन् वा खोला
अत्यास लाग्दो, सन्नाटामा !
देखेथेँ र भेटेथेँ मैले तिमीलाई
पारी अड्किएर वारी टेकीरहेको
केवल एउटा लहरो !
हो त्यो बेला
तिम्रो देन महान !
तिम्रो साथ महान !


ओठेभक्तिमा होइन
न हो व्यञ्जनामा !
किम्कर्तव्यविमुढ दुई किनारालाई जोड्ने
तिम्रो कर्म महान !
तिम्रो धर्म महान !!
तर आज,
प्रिय तुइन ! हेर त !
पारीपट्टटिबाट पहिरो पञ्छाउँदै
छकछक छकछक छकछक्
हुइँकिरहेछन् रेलका डिब्बाहरु !
अझै टाढा आँखा हुत्याउ त स
उत्तरतर्फ !
महासागरमाथिको भीमकाय सवारी !
अस्तिको ओलम्पिकमा
मैदानमाथि पानी पर्नै नदिने तयारी !
जल, थल र नभमा पनि
बिजेता बन्दैछन् सङ्गीहरु !

 


त्यसैले त भन्दैछु नि प्रिय !
अब थामिन्न भार तिम्रो एकल लट्ठाबाट !
भरिन्न पेट तिम्रो निमेकको पिठोबाट ।
अनि,
तर्सिएर भागिन्न आज भदौरे भेलबाट
न जोगिन्छ जीवन केवल झुन्डिएर मात्र
तिम्रा लट्ठाहरुमा ।

 


रेतिका धारले रेटिएर वा डोजरका दाँतले चिथोरिएर
उक्काउनु पूर्व नै
छाडिदेउ तिमीले आफ्ना अड्कौनीहरू !
जोड्ने शर्तमा फलामे पुलहरु !
बन्ने शर्तमा रेलका लीगहरु !
न अकमकाई , हाँसीहाँसी विश्रामलेऊ !
स्वागत गरेर नयाँ युगलाई ,
युगै हाँक्ने सक्षम नयाँ पुस्तालाई !

 


फेरीपनि सम्झने छन् सन्तान दरसन्तानले तिमीलाई
कम्तीमा पनि
संसारलाई बैतर्नी तार्ने गौमाताझैँ
तुईन ! मेरो सभ्यताका रक्षक !
नयाँ सन्ततीको संरक्षक भनेर !
स्वागत गर्नेछ युगले !
पानसमा दीप प्रज्योलित गरेर !!

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement