Sunday December 16, 2018 | |

कविता : कसुर नं ४

featured-news


–एमपी पाण्डे
ए बा
यो ब्रिद्धाश्रम भनेको के हो ?
एकछिन झस्कायो मलाइ
मेरी सानी छोरीको
अवोध प्रश्नले ।

 

दुम्सीको प्वाँख झैं ठाडो भयो
भर्खर फुल्न थालेको
मेरो तिलचाम्ले कपाल
उठनु रिस उठ्यो
बर्षैपिच्छे फेरिने
चस्माको लेन्स सङ्ग
मुर्झाउदै गरेको अनुहार
थाक्दै गरेको यौवनसँङ्ग

छोरीको अप्रत्याशित प्रश्न
मेरो सम्भावित भविष्य बिच
अवचेतन भए म,एकछिन
जवाफ बिहिन
द्रिष्टीहिन
मानौ,
स्वास प्रस्वाश विहिन ।
फेरि,
उसैलै विउँझाई निमेषभरमै
छुकछुकेवाल’ नखराले
जब उस्का कलिला हात
मेरो जुँगाको झाँङ्गमा पसारेर
नाकको ओडारमा खाँदी
चस्स घोच्यो‘‘
उस्का पत्त्ती भन्दा पातला नङ्गहरुले ।

 

अनी,
पुर्ववत भएँ म
सुन्यताको तन्द्राबाट
र,
भनी दिउँ झै लाग्यो
भोलिपर्सि तीमी सँङ्ग
हामीलाइ दिने समय नभएको बेला
तिम्रो बंगलामा बुढा हड्डीहरु नअटाएको बेला
अझ भनौ,
तिम्रो आधुनिक परिवेशमा
हामीहरु असुहाउँदो भएको बेला
तिमिले हामीलाइ अटाउँने ठाउँ हो वृद्धाश्रम
सानोमा
निलो स्कर्ट,सेतो कमिज
मसिनो कपालमा
रातो रिवन लाइ दिएर
एक हातमा तिमी
अर्को हातमा तिम्रो झोला समाएर डोर्याउँदै
हामीले तिमीलाइ बिहान स्कुल पठाएर
साँझ घर फर्काए जस्तो
बुढेसकालमा तिमीले हामिलाई
सधैँ सधैको लागी बेहुली अन्माएर पठाए झैं
अन्माउने ठाउँ हो वृद्धाश्रम छोरी ।
मेरी सानी छोरी
यतीबेला बुझ्दैनौ तिमी यस्ता कुरा
आफु दुधाउन्जेल
कुँडो माथी निदाउँने माली गाइले
थाकेपछी,गोठको साटो
भिरको बास पाए जस्तो हो वृद्र्धाश्रम
केरा खाएर फ्याँकेकोे बोक्रा जस्तो
काँटी विनाको सलाइको खोका जस्तो
चरम आधुनिक प्रेम अनुरागका
हिप्पी अनुयायीहरुको
नैतिक स्खलनको नयाँ उचाइ हो वृद्धाश्रम
मन,भावना,प्रेम
दया,माया भन्दा पर
मेसिन युगको प्रारम्भ हो वृद्धाश्रम
सन्तानको सुनिश्चित भविश्यका निम्ती
आफु स्वयंमलाइ खर्चेर
सकल जिवन संन्तानमै अर्पिने
महान अपराधिहरुलाइ सजाए दिने ठाउँ हो वृद्धाश्रम ।

 

हो छोरी,
ज–जस्ले जानाजान
तपशिल बमोजिमका कसुरर्हरु गरे

कसुर नं १
सबभन्दा पहिले त
बाुले विंज दान गरे
आमाले गर्भदान गरिन
काखमा हगाए
छातीमा मुताए
दिउँसो घाँसको
डोको सङ्गै बोके
हलो सङ्गै बोके
राती लोरी सुनाए
जाँतोको धुँनमा
रुँघा लाग्दा देउता भाके
ठेस लाग्दा आशुँ झारे
भए भरका धामी झाक्री
डाक्टर वैध्य गुहारे ।

 

 

कसुर नं २
आफु भोक भोकै
नाङ्गो नाङ्गै हुँदापनी
छातीका लाम्टा चुसाए
साँहुको सौपी काँडेर
आफुले कोदाको रोटीसङ्ग
ग्याष्ट्रिक डकारे
छोरा छोरीलाइ मसिना चावलको भात खुवाए
आफु जाडोले थुर्थुर काँप्दै
बाबुनानीलाइ
मुटुको न्यानो बिच्छ्यौनामा सुताए ।

 

 


कसुर नं ३
आफु कालो अक्षर
भैंसी बराबर हुँदा पनी
सन्तानको आँखा खोल्न
कखरा सिकाए
भलै,
अर्काको हली बस्न किन नपरोस
दुंनियाको जुठा भाँडा माँझ्न किन नपरोस
छोरा छोरी पढाए
गाउको कान्लो बेचेर
शहरमा पढन पढाए
निसर्त, निस्वार्थ
डाक्टर, इन्जिनियर
वकिल, पत्रकार, नेता, अभिनेता बनाइ दिए ।

 

 

कसुर नं ४
यही सोची रहे
संसारभरिका
भौतीक,अभौतीक
सकल आनन्दहरु
घुमीरहेर रुन मेरै सन्तानको वरिपरि
साराका सारा
सुख– सयलहरु
उपभोग गर्न पाउन
मेरै छोरा छोरी
गन्य, मान्य होस
मेरो सन्तान
सबैभन्दा जान्ने होस
मेरो सन्तान ।

हो, यि र यस्तै
कसुरदारहरुको कैदखाना हो वृद्धाश्रम
हो, यि र यस्तै कसुरदारहरुको
झ्यालखाना हो वृद्धाश्रम
यस्तै–यस्तै
अनगिन्ती
कसुर गर्दै आएका,
र गरिरहने
बुढा हड्डीहरु कठघरामा हुल्ने
पागलखाना हो वृद्धाश्रम ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement