Friday October 19, 2018 | |

संगठन एकताको अन्तिम चरणमा छौं : अधिकारी

featured-news

दुई प्रमुख विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बिच एकताका निम्ति अन्तिम चरणको गृहकार्य सुरु भएको छ । मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रियालाई मूर्त रुप दिने योजनाअनुरुप नैं विद्यार्थी संगठनहरुको पनि एकता बारे बहस अघि बढेको बताउँछन्– अखिल (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारी । विद्यार्थी आन्दोलनमा निकै अनुभवी र वैचारिक नेताको रुपमा स्थापित अधिकारीसँग एकीकृत संगठनको संरचना, भावी कार्यदिशा र नेतृत्व लगायतका सन्दर्भमा भईरहेका पहलकदमीमा केन्द्रित रही आजको न्यूज डट कम प्रतिनिधिले गरेको संक्षिप्त संवाद :


तपाईहरुको एकता प्रक्रिया अब त टुंगो लाग्छ कि ?
– हो, पार्टी एकतालाई व्यवहारतः कार्यान्वयन गर्न अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु बिचको एकता अब निकट भविष्यमा सम्पन्न हुँदैछ । एकतालाई सहज बनाउनका निम्ति हामीले तीनवटा विभिन्न उपसमितिहरु समेत निर्माण गरिसकेका छौं । दुबैतर्फका उपाध्यक्षहरुले संयोजन गर्ने गरी विधान मस्यौदा र प्रतिवेदन तथा शैक्षिक कार्यदिशा निर्माण उपसमिति र महासचिवहरुले संयोजन गर्ने गरी संगठन समायोजन उपसमिति निर्माण भएर काम गरिरहेका छौं । हाम्रो बिचमा एकताका लागि सकभर सहमति गरेरै वा सहमति नभएका विषयवस्तुलाई उल्लेख गरेर दश दिनभित्र पार्टीले निर्माण गरेको एकता कार्यदललाई बुझाउने छौं । त्यसपछि हामीले बुझाएका प्रतिवेदनहरुका आधारमा पार्टीसँगको समन्वयमै हाम्रो एकता सम्पन्न हुन्छ ।


सहमतिका निम्ति तपाईहरुको बिचमा बहसमा आएका विषयहरु केके रहेका छन् ?
– खासगरि एकतापछि संगठनको नयाँ नेतृत्व, संगठनले अवलम्बन गर्नुपर्ने कार्यदिशा र आन्तरिक सांगठनिक संरचना कस्तो निर्माण गर्ने भन्ने विषयहरुमा नैं हामी साझा सहमति खोजिरहेका छौं । त्यस्तै, एकतापछि बन्ने केन्द्रीय कमिटि, संगठनको नाम तथा झण्डा र तलका कमिटि र कार्यकर्ताहरुको व्यवस्थापन जस्ता विषयहरुमा मसिनो छलफल गरेर एउटा निष्कर्ष निकाल्ने ढंगबाट बहस आरम्भ भएको छ ।


सांगठनिक संरचना एवम् नेता कार्यकर्ताको व्यवस्थापनबारे तपाईको व्यक्तिगत धारणा के हो ?
– मलाई व्यक्तिगत रुपमा एकीकृत संगठनमा पनि निश्चित पदाधिकारी तोकेर जानुपर्छ भन्ने लाग्छ । दुबै संगठनको वर्तमान नेतृत्व आआफ्नो महाधिवेशनबाट निर्वाचित भएर आएको हुनाले कसैलाई पनि विदा गर्न मिल्दैन । पार्टीले अपनाएको जस्तो एकतासम्बन्धी कडा मापदण्ड जनवर्गीय संगठनमा लागु गर्नु हुदैन । जनवर्गीय संगठनहरु पार्टीमा प्रवेश गर्ने ढोका भएकाले यहाँ कार्यकर्ताहरुको प्रवेशलाई सहज बनाउनुपर्दछ । पार्टीको एकता दीगो हुने वा नहुने कुरा जनवर्गीय संगठनलाई कसरी एकता गरियो भन्ने कुरामा पनि निर्भर हुन्छ । त्यसकारण कुनै सदस्यलाई हटाउने वा विदा गर्ने भन्दा पनि सकभर ऐतिहासिक एकताको अवधि भएकाले अझ बढी नेता कार्यकर्ताको सहभागिता एकीकृत संगठन निर्माणका दौरानमा आवश्यक छ ।


तपाईहरुले हाल उठाइरहेका शैक्षिक मुद्दाहरु के रहेका छन् ?
– हामीले हाल उठाइरहेको पहिलो विषय भनेको शिक्षा र स्वास्थ्यको राष्ट्रियकरणको सवाल हो । एकैपल्ट सबै शैक्षिक संस्थाहरुको राष्ट्रियकरण असम्भव भएपनि सम्भव भएजतिलाई राष्ट्रियकरण गर्दै जानुपर्ने र नयाँ नीजि शैक्षिक संस्थाको स्थापनालाई रोकेर क्रमशः सम्पूर्ण शिक्षा राष्ट्रियकरण गर्नुपर्दछ । यही विषयमा टेकेर हामीले केही दिनअघि संयुक्त विज्ञप्ति नैं निकालेका थियौं । दोस्रो, हालसम्म पनि नेपालको शिक्षा प्रणाली २०२८ सालको ऐनको उद्देश्य र परिभाषा अन्तर्गत रहेको छ र जसलाई नयाँ परिभाषा र दर्शनमा परिवर्तन गर्न जरुरी छ । तेस्रो, प्रभावकारी शैक्षिक नीति निर्माण गरेर रोजगारीलाई सुनिश्चित गर्ने व्यवहारिक एवम् वैज्ञानिक शैक्षिक पाठ्यक्रम निर्माण गर्नुपर्नेछ । हाम्रो देशको आवश्यकता बमोजिमको शिक्षा लागु गर्नुपर्छ भन्दै आइरहेका छौं । त्यस्तै, शिक्षामा राज्यले लगानी वृद्धि गरेर प्राविधिक शिक्षाको थालनी गर्दै यसलाई ज्ञान र सीपसँग जोड्नुपर्ने देखिन्छ ।


एकीकृत संगठनको निर्माणपछि तय हुने भावी कार्यदिशा बारे बताइदिनुस् न ।
– वास्तवमा एकता हुनुपूर्व पनि र पछि पनि हाम्रो कार्यदिशा भनेको नेपालमा समाजवादी शिक्षा प्राप्तिका लागि निरन्तर पहलकदमी गरिरहने नै हो । त्यसकारण शैक्षिक हिसाबले समाजवादी शिक्षाको वकालत गर्दै राजनैतिक रुपमा दुबै संगठनले पार गर्दै आएको शान्तिपूर्ण र संघर्षपूर्ण इतिहासको वस्तुनिष्ठ संश्लेषण गरेर विद्यमान शैक्षिक मुद्दाहरुमा केन्द्रित हुनुपर्नेछ । दोस्रो, हामीले उठाउँदै आएका जनजीविका र जनसरोकारका विषयमा थप सक्रिय बन्दै राष्ट्रियताको मुद्दालाई नयाँ शिराबाट सञ्चालन गर्नुपर्नेछ । अखिलले सुरु गरेको कालापानी मार्च र क्रान्तिकारीले सुरु गरेको लिपुलेक मार्चको बर्तमान संश्लेषण जरुरी छ । यसरी फेरि पनि एकीकृत संगठनले बोक्नुपर्ने कार्यभारहरुमा शैक्षिक, राजनैतिक र जनजीविकाका सवालहरु सँगसँगै राष्ट्रियताका विषय नैं हुन् ।


विद्यार्थी आन्दोलनलाई प्रतिपक्षीय बन्न नसकेको र सरकारको ‘एस मेन’ जस्तै देखिन थालेको आरोप लगाइन्छ, यहाँलाई के लाग्छ ?
– यथार्थमा विद्यार्थी आन्दोलन भनेको दबाव र जागरणका माध्यमबाट विद्यार्थी र शिक्षाका विविध सवालहरुलाई उठाउने एवम् राज्यलाई खबरदारी गर्ने एउटा माध्यम हो । मातृपार्टी सरकारमा भएपनि वा नभएपनि दबाव र जागरण नैं हाम्रो स्वभाव हुन्छ । यद्यपि मातृपार्टी सरकारमा भएका बेला हामीलाई स्वभाविक रुपमा यस्तो आरोप लाग्ने गरेको छ जसलाई हामीले करेक्सन गर्दै आइरहेका पनि छौं ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement