Wednesday November 21, 2018 | |

कविता : स्वार्थ !

featured-news

–सुष्मा दाहाल 

 
यहाँ सिउँदो बेचेर  
सिन्दुर किनिन्छन् 
मान्छेहरु अक्सर 
छद्मरुपमै चिनिन्छन् 
यो एक्काईसौ शताब्दीको 
उत्तरार्ध हो साथी ! 
यहाँ सद्भाब बेचेर 
सम्बन्ध किनिन्छन् । 

 

धुलोेहरु कणकण मिलेर 
भयङ्कर ठोस रुप लिन्छन् 
ठोसहरु पल पलमा  
धुलोका कणमा मिल्छन् 
यो एक्काईसौ शताब्दीको 
देन हो साथी ! 
यहाँ गरिब बेचेर  
गरिबी किनिन्छन् । 

 

आमाले सन्तान जन्माउँछिन् 
अक्सर सन्तान चिन्दिनन् 
सन्तानको माया जोखिन्छ  
प्रविधिमा अकुत चाहनासँग 
यो एक्काईसाैं शताब्दीको 
निशानी हो साथी ! 
यहाँ कोख बेचेर  
सन्तान किनिन्छन् । 

 

भिखारी भिक्षा माग्दैन सत्यमा 
यहाँ अखडाहरुले खटाउँछन् 
दानको फलिफाप हुदैन अब 
दानवीरहरु लिलामिन्छन् 
यो एक्काईसौं शताब्दीको 
पहिचान हो साथि ! 
यहाँ भिक्षा बेचेर सुनका 
कमण्डलु किनिन्छन् । 

 

सन्तान घिनाउँछ अब 
बाबुआमाको अवस्थादेखि 
बेलैदेखि सिकेको हुन्छ 
स्वावलम्बी बनेर बाँच्न 
यो एक्काईसौं शताब्दीको 
शैक्षिक रङ हो साथी ! 
यहाँ सहचर्या बेचेर 
स्वार्थ किनिन्छन् । 

 

मान्छे मान्छे बनेर बाँच्दैन अब 
म र मेरोमा सीमित बन्दै जान्छ 
पहिचान र परिचयका नाउँमा 
संकीर्ण र साँघुरो बनाउँदै जान्छ 
यो एक्काईसौं शताब्दीको 
मानसिकता हो साथी ! 
यहाँ परिश्रम कुल्चेर  
पगरी किनिन्छन् ।। 

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement