Thursday January 17, 2019 | |

बालकथा : बुद्धिमान् चिन्टु

featured-news

- राजकुमार जैन ‘राजन’  



एउटा चन्दनको वन थियो । त्यो वनमा बस्ने चिन्टु र मिन्टु खरायाहरु एकदमै मिल्ने साथी थिए । उनीहरु दिनभरि उफ्रिँदै खेल्थे । साँझ परेपछि आ–आफ्नो घर फर्किन्थे । चिन्टु धेरै बुद्धिमान् थियो । मिन्टु चैँ डरछेरुवा र अल्छी थियो । चिन्टु जुनसुकै काम पनि सोचविचार गरेर गथ्र्यो । त्यसैले ऊ सधैँ विजयी हुन्थ्यो । डरका बारेमा उसलाई थाहा नै नभए जस्तो लाग्थ्यो  ।

 

एक पटक एउटा धूर्त स्याल कतैबाट त्यो जङ्गलमा आयो । ऊ सधैँ चिन्टु र मिन्टुलाई हाँसेको खेलेको देख्थ्यो । उनीहरुलाई खुसी भएको देखेर त्यो धूर्त स्याल मनमनै तिनीहरुलाई ‘क्वाप्प’ पार्ने उपाय सोचिरहन्थ्यो । चिन्टुको बुद्धिमत्ताले गर्दा उसको कुनै पनि उपायले काम गरेन । चिन्टु भएसम्म उसका सबै प्रयास असफल हुन्छन् भन्ने कुरा उसलाई राम्ररी थाहा थियो । त्यसैले ऊ तिनीहरुलाई ‘क्वाप्प’ पार्ने नयाँ–नयाँ तरिका खोजिरहन्थ्यो ।


एक दिन चिन्टु र मिन्टु सधैँजस्तै रमाउँदै खेल्न गइरहेका थिए । त्यही वेला छट्टु स्याल पनि उनीहरुको अगाडि आयो । त्यति वेला ऊ पूरै सज्जन साधुजस्तो देखिन्थ्यो । उसले गेरु रङको लुगा लगाएको थियो । हातमा कमन्डलु लिएको ऊ बिस्तारै बिस्तारै उनीहरुको नजिक आयो । मनमा भएको दुष्टताको भावलाई लुकाएर बिस्तारै बोल्यो–‘बालकहरु ! तिमीहरु कहाँ जाँदै छौ ?’

 

चिन्टुले स्याललाई जोगीको भेषमा देख्यो । उसले आफूहरुलाई धोका दिनका लागि स्यालले यस्तो भेष बनाएको हो भनेर बुझ्यो । चिन्टु पनि कम बुद्धिमान् थिएन् । त्यसैले उसले बडो आदर गरेर दुबै हात जोडेर भन्यो–‘हामी खेल्न जाँदै छौँ साधु महाराज ! तर तपाईँ किन यो भेषमा ?’


‘हो बालक, मैले जिन्दगीमा धेरै पाप गरेँ । अब मेरो अन्तिम समय आइसक्यो । म प्रायश्चित गर्न चाहन्छु । त्यसैले सबै नराम्रा कामहरु गर्न छोडेर मैले सन्यास लिएँ । मैले अबदेखि कमजोर र साना जनाबरहरुको सेवा गर्ने संकल्प गरेको छु ।’

 

स्यालको मुखमा पानी आइसकेको थियो तैपनि ऊ साधुले जस्तै देखावटी उपदेश दिन थाल्यो । चिन्टुलाई उसको कुरामा विश्वास लागेन । ऊ मनमनै दुष्ट स्यालबाट बच्ने जुक्ति सोच्न लाग्यो ।


डरछेरुवा मिन्ट चैँ डरले थरथर काम्दै थियो । उसलाई यसरी डराएको देखेर स्यालले भन्यो–‘तिमी एकदमै कमजोर मनका छौ जस्तो छ । मैले धेरै मिहिनेत गरेर एउटा औषधी बनाएको छु । त्यो औषधी खाएपछि शरीरमा तागत आउँछ ।’


‘सायद, त्यही औषधीले तपाईँको शरीर यति धेरै हृष्टपुष्ट देखिएको होला ।’ मिन्टु खरायोले स्यालको प्रशंसा गर्दै भन्यो ।


‘हो बालक, म सधैँ त्यो औषधी खान्छु । तर यति वेला चैँ त्यो औषधी मसँग छैन । यदि तिमी पनि बलियो बनेर आफूभन्दा बलिया अरु जनाबरबाट बच्न चाहन्छौ भने मसँग हिँड । म तिमीलाई त्यो औषधी दिन्छु । वास्तवमा मैले त्यो औषधी तिमीजस्तै दुर्बल र साना जनाबरका लागि बनाएको हो ।’


स्यालको कुरा सुनेर चिन्टुले भन्यो–‘तर साधु महाराज, हामी तपाईँको कुरा साँच्चो हो भन्ने विश्वास भएपछि मात्रै तपाईँसँग जान्छौँ ।’


चिन्टुको कुरा सुनेपछि दुष्ट स्याल अलमलमा पर्यो । ‘अब कसरी आफ्नो कुरालाई साँच्चो प्रमाणित गर्ने ? प्रमाणित नगरीकन खरायाहरु मसँग जाने भएनन् । आफ्नो योजना असफल हुने भयो ।’ ऊ यस्तै कुराहरु सोच्दै थियो । त्यही वेला चिन्टुले परको एउटा रुखतर्फ औँल्याउँदै भन्यो–‘महाराज ! हामीले दशसम्म गनिसक्दा तपाईँले दौडिँदै त्यो रुखलाई छोएर आउनसक्नुभयो भने हामीलाई तपाईँको औषधीले वास्तवमा नै शरीर बलियो र फुर्तिलो हुन्छ भनेर विश्वास हुनेछ ।’


चिन्टुको कुरा सुनेर धूर्त स्याल मुस्कुराउन लाग्यो । ‘रुखलाई छोएर आउन कति बेर लाग्छ र ? यदि त्यहाँसम्म दौडिदैमा यिनीहरुलाई विश्वास गराएर आफ्नो कुराको जालमा फसाउन सकिन्छ भने त्यति दौडिनुमा कुनै हानि छैन ।’ यही कुरा सोच्दै उसले भन्यो–‘तिमीहरुको भलाइका लागि म यति त गरिहाल्छु नि !’

 

यति भन्दै जोगीको भेषधारी स्याल आफ्नो ह्वार्लाङ्ग परेको लुगालाई सम्हाल्दै चिन्टुले इसारा गरेको रुखतर्फ दौडियो । ऊ खरायाहरुले दश गन्नुभन्दा पहिले नै रुखलाई छोएर आई उनीहरुलाई आफूसँग लगेर खान चाहन्थ्यो । स्याल आफ्नो योजना सफल हुने भयो भनेर धेरै खुसी भएको थियो । ऊ खरायाहरुलाई घरमा पुर्याउनासाथ सबैभन्दा पहिले दुबैलाई यमपुरी पुर्याइदिन्छु भनेर मनमनै सोच्दै थियो । आफ्नो धेरै दिनदेखिको इच्छा पूरा हुने भयो भनेर ऊ दङ्ग परेको थियो ।


स्याल दौडिनासाथ चिन्टुले मिन्टुलाई भन्यो–‘भाग, जबसम्म यो धूर्त स्याल यहाँ आइपुग्छ तबसम्म हामी यहाँदेखि धेरै टाढा पुगिसक्नुपर्छ ।’ दुबै खरायाहरु पूरा बल लगाएर दौडिए ।


स्याल खुसी हुँदै रुख भएको ठाउँमा पुग्यो र रुखलाई छोएर फर्कियो । ऊ छक्क पर्यो । उसले दुबै खरायाहरु दौडिदै धेरै टाढा पुगिसकेका देख्यो । उसलाई आफ्नो मुर्खतामा धेरै लाज लाग्यो ।


हिन्दीबाट अनुवादः सुमी लोहनी । भाटभटेनी, काठमाडौं ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement