Thursday January 17, 2019 | |

मार्क्सवादको दुरुपयोग नरोक्ने ?

featured-news

- नरेश न्यौपाने  


नेपालको इतिहासमै जनताले सबैभन्दा धेरै भरोसा गरेको आजको सरकार शताव्दीयौंदेखि संघर्षमा होमिएका नेपाली जनताको बलिदानीको उपज हो । यस हिसाबले भन्दा आजको घडीमा कम्युनिष्ट विचारधाराको रक्षा गर्ने, फैलाउने र विस्तार गर्दै लैजाने प्रमुख जिम्मेवारी आजको सत्ताको नेतृत्व गरिरहेको पार्टी, संगठन र नेतृत्वको हो । विचार संकटमा परेमा केवल आजको नेकपा मात्रै होइन सिंगो देशको सपनामाथि तुसारापात हुने तथ्य नलुकेकोतर्फ आजको नेतृत्व कत्तिको सचेत छ ? के आजको नेतृत्व लाखौंलाख जनताको बलिदानीले यो उचाइँमा आईपुगेको विचारको संरक्षणमा लागेको छ ? वा विचारलाई कसैले धन्दा बनाउँदैछन् ? सरोकारवालाहरुले सोच्ने बेला भएको छ ।


जहाँनिया राणाशासन, निरंकुश राजतन्त्र र एकात्मक शासन व्यवस्थाका कारण मुलुकमा असमानताहरु चुलिंदै जान थालेपछि नै समानताका आवाजहरु उठ्न थालेका हुन् । नेपाली समाजमा वर्गीय विभेदको अन्त्य, समतामुलक न्याय र विकाशको लागि साम्यवादी विचारधाराको अनिवार्यता सात साल अघिदेखि नै महसुस गरिएको सर्वविदितै छ । राजासहितको एकात्मक राज्यव्यवस्थाले समाज अघि नबढ्ने निष्कर्षसहित मार्क्सवादलाई समाज परिवर्तनको एक वैज्ञानिक विचारका रुपमा स्वीकार गरिएको देखिन्छ ।


वास्तवमा जनताले पनि समाजलाई अग्रगामी बनाउने मार्क्सवादी अवधारणा, त्यो दृष्टिकोणबाट समाजको व्याख्या र त्यो विचार र दर्शन बोकेर हिंडेका नेताहरुको व्यवहार र चिन्तन उत्कृष्ट हुन्छ भनेर पत्याएकै कारण नेपालमा मार्क्सवाद फस्टाउँदै गएको हो । अझ मुलभूत रुपमा भन्दा यस माटोमा भएका गरिबहरु र धनीहरुबिचको खाडल पुरिदिएर समानता ल्याईछाड्ने कम्युनिष्टहरुको दृढता जनताले खूब मन पराए र यही कारण कम्युनिष्ट आन्दोलन लोकप्रिय बन्दै आयो । संसारका विभिन्न मुलुकमा झैं नेपालमा पनि मार्क्सवादले सबैभन्दा धेरै समाजमा मानिसहरु किन गरिब हुन्छन् ?, मान्छेहरु गरिब हुनुको खास कारण, शोषण कसरी हो ? र त्यसबाट शोषितहरुलाई मुक्ति दिलाउन के गर्नुपर्छ भन्ने प्रश्नहरुको वरिपरि नै घुमायो । कयौं यस विचार र आन्दोलनका हस्तिहरु अस्ताइसके तर आजपनि यसैको विकास एवम् विस्तारकै अभियान जारी छ ।


नेपालमा आजका कम्युनिष्टहरुले स्वयम् मार्क्सवादका आधारभूत कुराहरु नै लागु गर्न हिच्किचाइरहेको बहस चलिरहेको छ । सबैभन्दा धेरै मार्क्सवाद र कम्युनिज्मका कुरा गर्ने पार्टी र नेताहरुकै जीवन र व्यवहार नियाल्ने हो भने उनीहरुमा नै भयंकर ठूलो स्खलन देखिन्छ । यसकारण आजका कम्युनिष्टहरुले मार्क्सवादका आधारभूत कुराहरु आफ्नै जीवनमा कहाँकहाँ र कसरीकसरी कार्यान्वयन गरिरहेका छन् ? भन्ने प्रश्नको गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । मुख्यतया आजको कम्युनिष्ट पार्टीका नेताहरुको व्यवहार हेर्दा विचार अनुरुपको व्यवहारको कुनै गुञ्जायस नै देखिदैन । बरु यहाँ त स्वयम् कम्युनिष्टहरुबाट मार्क्सवादी विचारधाराको दुरुपयोग बढिरहेको छ । यसको सबैभन्दा राम्रो उदाहरण आजको सत्तासीन नेकपाले अगाडि बढाइरहेका कम्युनिष्ट आचरणविपरित गतिविधिहरु हुन् ।


पछिल्लोपटक नेपालमा संख्याका हिसाबले मार्क्सवादीहरुको जमात ठूलो भएपनि गुणात्मक कम्युनिष्टहरुको खडेरी बढ्दै गएको छ । महान दार्शनिक कार्ल मार्क्सको चिन्तनलाई यहाँका कम्युनिष्टहरुले आफ्नो व्यक्तिगत जीवन चलाउने धन्दाको रुपमा विकास गरिरहेका छन् । यही कारणले होला, नेपालका कम्युनिष्ट नेता कार्यकर्ताहरु कृत्रिम कम्युनिष्टजस्ता देखिन्छन् । लामो संघर्षपछि प्राप्त भएका अवसरहरुमा रहेका नेताहरुको प्रस्तुति, विचार, संघर्ष र जनताको मुक्तिका एजेण्डाहरुबाट अलग्गिँदै जान थाल्दा नेपालमा अब उन्नत राजनीतिक प्रणालीको रुपमा मार्क्सवादको विकास गर्न नसकिने ठोकुवा नै गर्न सकिन्छ ।


जननेता मदन भण्डारीले एक सन्दर्भमा नेपालमा हाम्रो मौलिकतामा आधारित मार्क्सवादको विकास गर्नुपर्छ भनेर जबजको कुरा अगाडि सारिदिएपछि आज उनका अनुयायीहरुले कम्युनिष्टका नाममा केवल नाक जोगाउने मौका पाएका छन् । जबजले मौलिकताको कुरा नगरेको भए आजका कम्युनिष्टहरुसँग देखाउने दाँतहरु पनि नहुने रहेछन् । भण्डारीले संसदीय लोकतन्त्रमा जाने तर समाजवाद पनि नछाड्ने जुन कुरा पक्डे, त्यही दिनदेखि नेपाली कम्युनिष्टहरुको राजनीति धन्दामा बदलिन पुग्यो । यसै कारण कम्युनिष्टहरुलाई आफ्नो विचार र आचरणबाट च्यूत भइसक्यौं भन्न पनि निकै गाह्रो छ ।


आजको सत्ता शासकहरुकै कब्जामा रहेको, प्रवृत्ति पुरानै यथावत रहेर शासकहरु मात्र परिवर्तन भएको र वास्तविक सत्ता प्राप्तिका निम्ति अझै संघर्ष गर्नुपर्ने निष्कर्ष निकाल्न सकिन्छ । यसरी निष्कर्ष आउनुका पछाडि आजको सत्ताको नेतृत्वमा रहेका कम्युनिष्टहरुले प्रस्तुत गरिरहेका प्रवृत्तिहरु मुख्य कारक हुन् । प्रश्नहरु कतिसम्म संगीन उब्जिएका छन् भने, हिजो विशाल समाजमा विभेद अन्त्य गर्नुपर्छ भनेर विद्रोहको आवाज उठाउनेहरु आज स्वयम् आफ्नै पार्टीमा न्याय खोजिरहेका छन् ।


नेपाली समाजमा लामो समयदेखि निरंकुशता मच्चाइरहेका शासकहरुका विरुद्ध लडेर सत्तामा पुगेका कम्युनिष्टहरु नै शासकवर्गमा बदलिनुले यहाँको कम्युनिष्ट आन्दोलन निकै बदनाम भएको छ । गरिबको पक्षमा राजनीतिमा होमिएका नेताहरुका जीवनशैली अत्यन्तै बिडम्बनापूर्ण ढंगबाट रवाफिला बन्दै गएका छन् । सुविधा, भोगविलास, लालसा, अवसरवाद, स्वार्थ र परिवारवादले कम्युनिष्ट आन्दोलनलाई वैचारिक रुपमा धरासायी बनाउँदै लगेको छ । आजको उच्च नेतृत्व विचारधारालाई त्याग्दै धार्मिक साम्प्रदायिकताको चंगुलमा फँस्दै गइरहेको छ । कम्युनिष्ट पार्टीमा पुराना राजामहाराजाहरुको जस्तो हुकुमी शासन बढ्दै गएको छ भने पद्धतिको राजनीति हराउँदै गएको छ । यसबाट के कुराको पुष्ट्याइँ हुन्छ भने नेपालमा कम्युनिष्ट भनिएकाहरुको सरकार सञ्चालनमा रहेपनि मार्क्सवादी विचारधाराको भने पूर्ण रुपमा दुरुपयोग भइरहेको छ ।


यसर्थ नेपालका आम कम्युनिष्टहरुले एकपटक आफैमाथि गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । विद्यमान कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट आचरण र पद्धतिअनुसार सञ्चालन गरिनुपर्दछ । वास्तविक रुपमा समाज र जनतालाई विचार र व्यवहारका माध्यमबाट नेतृत्व प्रदान गर्नसक्ने व्यक्तिहरुलाई अवसर दिइनुपर्छ । पार्टीहरुमा योग्यता, क्षमता र आवश्यकताका आधारमा कामको बाँडफाँड गरिनुपर्छ । पुरानो सत्ताका पूँजिवादी पार्टीहरु नेपाली काँग्रेस र राप्रपा चलिरहेजस्तो कम्युनिष्ट पार्टी चलाउन सकिदैन । सबैभन्दा ठूलो कुरा पार्टीमा गुट र स्वार्थ त्यागेर विचार र जनताको अपेक्षालाई केन्द्रभागमा राखेर अगाडि बढ्ने हो भने कम्युनिष्ट आन्दोलनको रक्षा पनि गर्न सकिन्छ र मार्क्सवादको थप विस्तार पनि गर्न सकिन्छ ।

 

ananta.sadak@gmail.com

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement