Sunday August 20, 2017 | |

पत्रकार महासंघको २५औँ महाधिवेशनको तयारी पूरा

featured-news

२९ साउन, काठमाडौँ । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनको तयारी पूरा भएको छ । आगामी भदौ ४ र ५ गते ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको तयारी पूरा भएको महासंघका महासचिव उजिर मगरले जानकारी दिए । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२ महासचिव, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । यसपटकदेखि दलित, मधेशी सचिव थपिएको छ । महाधिवेशनले महासङ्घलाई संघीय संरचनामा लैजाने छ । सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएटसहित १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिने छ । प्रत्येकबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको महासचिव मगरे बताए । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको छ । महाधिवेशनको निम्ति नौ विभिन्न उपसमितिले तयारी पूरा गरेको महासचिव मगरले बताए । महाधिवेशनमा एक हजार ५०० प्रतिनिधि सहभागी हुनेछन् । बाहिरबाट आउने करिब एक हजार प्रतिनिधिलाई खान र बस्नका लागि होटलको व्यवस्था गरिएको छ । सुन्धारा, बागबजार, सोह्रखुट्टेका करिब ३०० होटेल बुकिङ गरिएको महासंघका कोषध्यक्ष सूर्यमणि गौतमले जानकारी दिए । उनले महासङ्घको वर्तमान कार्यसमितिले पत्रकार दुर्घटना बिमा र ज्येष्ठ पत्रकार सुरक्षाजस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । महासङ्घमा झण्डै १२ हजार पत्रकार आबद्ध रहेका छन् ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement